arrow

दिउँसो ३ बजेदेखि डेढ घण्टा राहुकाल, यस्तो हुनेछ मंगलबारको दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ भदौ १६ मंगलबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ भाद्र १६ गते मंगलबार, इस्वीसंवत सेप्टेम्बर १ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको चतुर्दशी तिथि रहनेछ । आज धनिष्ठा नक्षत्र, विष्कुम्भादि योगमा अतिगण्ड, करणमा भद्रा, आनन्दादि योगमा उत्पात रहनेछ । 

सूर्य सिंह राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३१ घटि ३९ पलाको रहनेछ । 

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४३ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २३ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । आज उत्तर दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।  

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुनः आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधी उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन । आज सकेसम्म उत्तर दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन, पूजा, आराधना, एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । 

कर्कटः आज समय भरपर्दो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज उत्तर दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन । आर्थिक कारोबार गर्दै नगर्नुहोला । नयाँ कामको थालनी, आफन्तसंग भेटघाट गर्दै नगर्नुहोला । 

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । 

सिंहः आज स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज दक्षिण दिशाको यात्रामा लाभ, इष्टमित्रसंगको रमाइलो भेटघाट हुने सम्भावना रहेकोछ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ ।

कन्याः आज समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज मागे पाइन्छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता पाइने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । तर दिनमा २ बजेपछिको समय केही खराब देखिन्छ । आज जे काम गर्नुछ त्यस अघि नै गर्नुहोला । 

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले अत्यधिक सफलताका लागि हरियो कपडा लगाने र गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । 

तुलाः आज समय शुभ छैन । साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ । आज ऋण लाग्ने गरी अस्पतालमा खर्च गर्नुपर्ने र यात्रामा पनि समस्या आउने देखिन्छ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । 

वृश्चिकः आज स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । यात्रामा विशेष सतर्क हुनुहोला । आज कुनै पनि हालतमा लेनदेन गर्नु ठीक छैन । 
 

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । दान–पुण्य गर्नाले मानसिक चिन्ता कम हुनेछ । 

धनुः आज समय अत्यन्तै शुभ छ । स्वास्थ्य त्यति खराब छैन । मानसिक प्रशन्नता बढाउने काम हुनेछन् । आर्थिक नयाँ स्रोत पनि बढ्दै जानेछन् । आज लगानी जेमा गर्नु हुन्छ अथवा जे कामको थालनी गर्नुहुन्छ, त्यसबाट राम्रो परिणाम पाइनेछ । मिष्ठान्न भोजनको योग पनि देखिन्छ, आज पूर्वी दिशाको भ्रमण सफल रहनेछ । दाजुभाइ बीचको सम्बन्ध थप प्रगाढ हुनेछ । आज चिसोबाट भने सुरक्षित हुनुहोला । 
 
धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले अधिक सफलता पाउन पहेंलो रंगको कपडा लगाउनुहोस् । आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्ने बानी बसाल्नुहोस् ।

मकरः आज पनि समय ठीक छैन । स्वास्थ्य सुरक्षित छैन । आज निजी सवारी साधनमा टाढाको यात्रा गर्नु ठीक छैन । खाने, पिउने वस्तुबाट तपार्इंप्रति षड्यन्त्र हुनसक्ने सम्भावना बलियो छ । कुनै पनि व्यक्तिसँग नगद धनबारे व्यर्थैको कच–कचमा फँसिने सम्भावना पनि त्यत्तिकै छ । आज आर्थिक दृष्टिकोणले घाटामा परिनेछ । आज उत्तर दिशाको यात्रामा तनाव उत्पन्न हुनेछ । 

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ ।  

कुम्भः आज स्वास्थ्यमा कुनै खराबी भए सुधार हुँदै जानेछ । आदर सत्कारमा वृद्धि हुनेछ । आश्रित कर्मचारी, पारिवारिक सदस्यबाट राम्रो सहयोग पाइने छ । सोचे जति काममा सक्रियता अलि कम भए पनि विस्तारै उन्नति प्रगतिमा गम्भीर भई जाने देखिन्छ । आज नयाँ वस्तु, जग्गा जमीन खरिद गर्दै हुनुहुन्छ भने शुभ रहेको छ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीनः आज आम्दानीमा वृद्धि हुने मौका कसैले छुटाइदिने सम्भावना बलियो छ । जे काम पनि आँफै गर्न खोज्ने बानी ठीक होइन, पुगेर न आउने होइन ज्यादा व्यर्थ परिश्रम नगर्नै राम्रो । खुट्टामा चोट लाग्ने, आकस्मिक रोगले दुःख दिने सम्भावना बलियो छ । त्यसैले खानपान लगायत हरेक कार्यमा सतर्कता अपनाउनु होला । आज यात्रा नगर्नुहोला ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । 

साइतः आज चन्द्रमा कुम्भ राशिमा छन् त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः४३ बजेदेखि         ७ः१३ बजेसम्म        रोग बेला
बिहान ७ः१३ बजेदेखि         ८ः४३ बजेसम्म        उद्धेग बेला
बिहान ८ः४३ बजेदेखि         १०ः१३ बजेसम्म        चर बेला
बिहान १०ः१३ बजेदेखि        ११ः४३ बजेसम्म        लाभ बेला
बिहान ११ः४३ बजेदेखि        १ः१३ बजेसम्म        अमृत बेला
दिनमा १ः१३ बजेदेखि          २ः४३ बजेसम्म        काल बेला
दिउँसो २ः४३ बजेदेखि           ४ः१३ बजेसम्म        शुभ बेला
दिउँसो ४ः१३ बजेदेखि        ५ः४३ बजेसम्म        रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ