arrow

संसारमा कोरोना अनुभव: दम्भी र अहम्वादी शासकले बढाए, सावधान र कुशल राज्य संचालकले घटाए

मानवीय क्षतिमा शासकको परीक्षा, नियन्त्रण वा विस्तारमा नेतृत्वकै भूमिका,  नेपालमा  कस्तो ?

logo
केदार सुवेदी, 
प्रकाशित २०७७ भदौ १६ मंगलबार
corona-sarkar.jpg

जुन दिन कोरानाका कारण मृतकको संख्या दिनमा २० जनाको दर कायम भयो । ज्यान गुमाएकाको कुल संख्याले २०० नाघ्यो ।  संक्रमित ४० हजार पुगे । यही दिन प्रधानमन्त्रीले भनिदिए – ‘यी सबै कोरोनाले मरेका  होइनन, संक्रमण फैलिनुमा सरकारको कुनै दोष छैन, बेसार देखाइदिए कोराना आफै भाग्छ ।’

सारको कोरोना यात्रा नौ महिनाको भयो । यसमा धेरै प्रकारका अनुभवहरु  प्रकट भए । देश जुनसुकै र जहाँसुकैका तथा  सरकार जोसुकैले चलाएका हुन, तिनको  शासकीय कौशलता कसीमा घोटियो । एकातिर  केही सावधानी र कुशलता अपनाइएमा बढी क्षति हुनबाट जोगिने रहेछ भन्ने उदाहरण कायम भयो भने अर्कातिर अधिनायकवादी, अहंकारी र धम्कीका भरमा मुलुक चलाउनेले त्यो देशलाई कसरी ध्वस्त बनाए भन्ने प्रत्यक्ष देखियो । नेतृत्वको शासकीय कौशलता परीक्षण भैरहेको  यो ठाउँमा नेपाल कहाँ पर्ला ?

शासन शैलीको साझा संकेत

संसारभीनै मिलेको कुरा, भाइरसको प्रकृती एकै प्रकारको देखियो । औषधी उपचार पनि त्यस्तै । संसारको पल्लो छेउमा जेभयो त्यसको सञ्चार वल्लो छेउमा तुरुन्तै हुँदै गयो । त्यसमा भाइरस नियन्त्रण भएका–  नभएका, उपचार पाएका –नपाएका, औषधी फेला परेका – नपरेका र मान्छे जोगिएका – नजोगिएका सबैसमान रहे जानकारीका सन्दर्भमा । त्यसमा भूगोल र हावापानीले पनि कतै प्रभाव पारेन । चिसो होस कि तातो, मान्छे काला हुन कि गोरा सबै समान भए । 

प्रभाव पर्‍यो भने मानवीय व्यवस्थापनको जो त्यो देशको राजनीतिक नेतृत्वको शासन शैली र त्यसबबाट निसृत अवस्थाले खडा गर्‍यो । शासनको परिचय कस्तो बन्यो भने कुन देशमा कति क्षति भयो वा क्षतिहुनबाट रोकियो भन्नेले त्यो देशको शासक कस्ता रहेछन् भन्ने परिचय गरायो । 

त्यही शासनको शैलीले कोराना महामारी अपेक्षाकृतरुपले कतै छिटो विस्तार भए भने  त्यस्तै अपेक्षाकृत छिटो नियन्त्रण पनि भए । यति हो आजसम्मको संसार भरीकै यो पौनेवर्षको सबैले देखिइ र भोगिइ रहिएको संसारभरीकै मान्छे जातिका साझा अनुभव ।

जुन देशमा छिटै नियन्त्रण भयो, ठूलो क्षति भएन वा हुन पाएन त्यो एउटा सुखद अनुभूति हो। जो यही सांसरमा भयो अर्थात त्यो सम्भव रहेछ भन्ने देखियो, जो नेतृत्वकै कारण भएको मान्नुपर्ने हुन्छ । तर त्यस्तै प्रकृतिका बीचमा  जुनठाउँमा धेरैनै ठूलो मानवीय क्षति भए त्यो पनि नेतृत्वले अपनाएको शैलीकै कारण भयो जो दुखद अनुभूतिमा पर्छ ।

यी विवरणहरुले नै वताउँछन यो भाइरसबाट क्षति बढी गराउने कि कम, यसलाई छिटो भन्दा छिटो नियन्त्रण गर्ने कि विस्तारित हुन दिने भन्ने त्यो देशको नेतृत्वको रोजाइमा भरपर्ने  हुँदो रहेछ ।

अध्य्यनमा देखिएको चित्र 

केही पहिले अमेरिकाको ‘द न्यूयोर्क टाइम्स’मा प्रकाशित एउटा अनुसन्धानमूलक लेखले कोरोना भाइरसको नियन्त्रण र विस्तारमा कुन देशमा कस्ता स्वभावका नेता रहे भन्नेमा भर परेको वताएको थियो । लेखक ‘निकोलस क्रिस्टोफ’बाट कोरोनाको छ महिनाको स्वरुप हेर्न विभिन्न कारणले अति बढी विस्तार हुने सम्भावना रहेका २१ मुलुकको अवस्था अध्ययन भएको थियो । त्यसको संक्षिप्त निश्कर्ष थियो अति दम्भ, अंकार र कसैसंग, खासगरी विज्ञसंग कुनै परामर्श नगरी आफुलाई नै  सर्वज्ञाता  मानिरहेको नेतृत्व रहेको देशमा कोरोनाको संक्रमण विस्तार हुँदै गएको र विज्ञताको अनुभव र परामर्श अनुसार काम गर्ने नेतृत्व रहेको देशमा सम्भावित विस्तारबाट नियन्त्रण हुँदै कतिपय अवस्थामा शून्य स्तरमा झरेको पाइयो ।

अध्ययन गरिएका यी २१ देशमध्ये एकखालको नेतृत्वमा १३ वटा र अर्को खालको नेतृत्त्वमा आठ वटा देश थिए जसमा पहिलो दर्जाका मुलुकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या औसत दस लाख जनसंख्या मध्ये दुई सय १४ र अर्को प्रकारको नेतृत्व रहेको देशमा दस लाख जनसंख्यामध्ये ३६ जनाको मात्र मृत्यु भइरहेको भेटियो ।

अध्ययनको यो सन्दर्भ  पुरुषले भन्दा महिलाले चलाएका देशमा कोरोना रोकथाम छिटो कसरी भयो भन्ने थियो जसमा दस लाख जनसंख्या मध्ये ३६ जनाको मात्र मृत्यु भएका यी आठ देश पर्छन ।

बढी मारिनेमा नेतृत्व दोषी

यो बेला सबै भन्दाबढी संख्याको हताहती भएको देश अमेरिका थियो । कोरोना भाइरसबाट यो देशमा अध्ययन भएको यो बेला  एक लाख १४ हजारको ज्यान गएको थियो । अध्ययनले नै देखायो यदि मृत्युदर कम भएका देशले अवलम्वन गरेका जस्तो नेतृत्वले काम गरिदिएको भए त्यो बेलासम्म  १ लाख २ हजार जना अमेरिकीको ज्यान जोगिने रहेछ । सीमाको अलिकति पर नै प्रति  दस लाख जनसंख्या मध्ये ३६ जनाको मात्र मृत्यु भएको अवस्थामा अमेरिकामा चाहिँ दस लाख जनसंख्यामध्ये दुई सय १४ को मृत्यु कसरी भयो भन्ने त्यसबेलादेखि उठेको प्रश्नले अहिलेसम्म उत्तर पाएको छैन ।

यसभित्रको कारण खोज्ने हो भने राजनीतिक नेतृत्व तर्फनै पुग्नु पर्ने हुन्छ । युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसकी महामारीविद् एन डब्लू रिमोइनका अनुसार कम मृत्युदर भएका देश हुन न्यूजिल्याण्ड, डेनमार्क, फिनल्याण्ड, जर्मनी, आइसल्याण्ड, नर्वे आदि महामारी बेला असाध्यै राम्रो परिणाम निकाल्न सफल भए नेताको कार्यकुशलता र व्यवस्थापन शैलीका कारण । यी देशमा महिला नेतृत्व थिए तर त्यसभन्दा बढी उनीहरुको सहकार्य र विज्ञको परामर्शमा काम गर्ने शैली प्रभावकारी भयो । 

अर्को तर्फ आफुलाई सबैकुराको ज्ञान छ भनी त्यो अहमको प्रयोग गर्दै विशेष प्रकारको शैलीबाट शासन गरिँदाको परिणाम ठूलो क्षति गरायो । रिपोर्ट भन्छ –सोझै भन्दा अधिनायकवादी, अहंकारी र धम्कीका भरमा मुलुक चलाउन खोजने वा चलाइरहेका देशहरुमा मृत्युको संख्या बढी देखियो त्यसमा अमेरिकाकै डोनाल्ड ट्रम्प, बेलायतका बोरिस जोन्सन, ब्राजिलका जायर बोल्सोनारो, इरानका आयातुल्लाह अली खोमेनीलाई नै लिन सकिन्छ ।

यी देशमा केके गर्दा रोकथाम हुन सक्तछ भन्ने पर्याप्त उदाहरण हुँदाहुँदै त्यसो गर्न नमानिँदा अकल्पनीय मानवीय क्षति भयो र अझैपनि भैरहेको छ ।

ट्रम्पको उदाहरण

न्यूयोर्क टाइम्स अमेरिकाको प्रशिद्ध पत्रिका  हो । त्यसमा प्रकाशित क्रिष्टोफको त्यो लेखले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकामा यति ठूलो क्षति हुने कारक मानेको छ । ट्रम्प कस्ता र उनको शासन कस्तो थियो भन्ने सन्दर्भमा उनले लेखेका छन–‘मलाई राम्ररी थाहा छ,’ मार्च महिनामा रोग निवारक तथा नियन्त्रण केन्द्रको भ्रमणमा गएका बेला स्वास्थ्यसम्बन्धी विज्ञले घेरिएकै अवस्थामा ट्रम्पले भनेका थिए, ‘सायद मैले यस्तो कुरा बुझ्ने जन्मजात गुण बोकेर आएको छु ।’

त्यति बेला कुराकानीकै दौरान उनले आफू त सायद वैज्ञानिक पो हुनुपर्थ्यो कि भनेर चर्कै स्वरमा बोलेका पनि थिए । उनै ट्रम्पले जनवरी महिनामा कोरोनाबारे ‘यो पूर्ण नियन्त्रणमा छ’ भनेका थिए । अहिले त्यसको जवाफ दुनियाँले देखिरहेको छ । त्यसैगरी ‘ब्लीच’का रुपमा उनले अघिसारेको समाधानका बारे अध्ययन गरिएको भए उतिबेलै हावादारी साबित हुने थिए ।’

अमेरिकामा उनले भनेको कुरा नेपाल सम्मपनि आइपुग्यो जसमा उनले डिटोलपानी खान सिफारिस गरेका थिए भन्ने विवरण नेपाली पत्र  पत्रिकामा लेखिए पनि । कतिपय त ट्रम्पले सुझाएका औषधी खाएर पनि मृत्युवरण गर्नेमा परेका समाचार आएका थिए त्यसबेला । धेरै पछिसम्म पनि उनको भनाइृ हुन्थ्यो –यो चिनिया भाइरस  हो, यसले अमेरिकीलाई केही गर्दैन ।  त्यसबेला उनले धेरै पछिसम्म माक्स लगाउनेहरुको विरोध गरिरहे ।

आजको दिनमा यो भाइरसबाट सबभन्दा बढी आक्रान्त पारेका अर्थात सवभन्दा बढी संक्रमित र मृत्यु हुनेमा पहिला र दोस्रा भएका देशहरु अमेरिका र ब्राजिल भएका छन जो   कोभिड महाव्याधिको शुरूआती चरणमा यी देश  गन्तीमा नै आउँदैन थिए । इटालीमा कहालीलाग्दोे रुपले यो फैलिरहँदा अमेरिका र ब्राजिलमा  प्रवेशमात्रै भएको जस्तो थियो ।  यो शुरूआती चरणमा जुन–जुन देशले यसलाई गम्भीरपूर्वक लिए, तिनले संक्रमणको दर रोक्न सके अर्थात नियन्त्रणमा लिन सफल भए । तर, ती शासक जसले कोभिडलाई सामान्य मौसमी रुघाखोकी भन्दा बढी मानेनन्, तिनले चर्को मानवीय र आर्थिक मूल्य चुकाउँदै आएका छन् ।

कोभिडलाई सामान्य मौसमी ‘फ्लू’ बताउने अमेरिकी राष्ट्रपति ट्रम्प र मास्क विरोधी ब्राजिलका राष्ट्रपति जायर बोल्सेनेरोका आफ्ना अनुत्तरदायी एवं मनडढन्ते भनाइ र गराइका कारण देशवासीलाई क्रमशः पहिलो र दोस्रो कोरोना आक्रान्त मुलुकमा उभ्याएका अवस्था अव कतैबाट लुकेको छैन । कोरोना मत्थर भएपछि यी कुारहरु खोतलिएलान नै । यस्तो शासकको अहमताका कारणले यतिठूलो मानवीय क्षतिभएको कुरा ढिलोचाडो एक दिन त अनुसन्धानमा आउनु पर्छ नै ।

नेपालमा कस्तो ?

कोरानाका सन्दर्भमा  नेपालको अवस्थाबारे चर्चा गरिँदा नेतृत्वले बारम्बार भन्ने गरेका र काममा देखाएका कुरालाई कसरी व्यक्त गर्ने र कहाँबाट सुरु गर्ने भन्ने हुँदो रहेछ । नेतृत्वको त्यस्तो नचाहिने ठाउँमा अनावश्यक अहम् र नगरी नहुने ठाउँमा चाहिँ निरन्तर कायम रहेको अकर्मण्यताले अपूरणीय क्षति भएका घटनाहरु बढी नै रहेका छन् जसबाट छानेर नमूनामात्रै प्रस्तुत गर्नु पर्ने अवस्था छ ।

एक: भदौ १३ शनिवारको एक दिनमात्रै कोरोनाको संक्रमणबट  २० जनाको ज्यान गयो । ज्यान गएकोमा अहिलेसम्मको यो ठूलो संख्या थियो । या यो समेत मृत्यु हुनेको सख्या २०० बाट माथि चढन थालेको अवस्था हो । मृत्युको मात्र होइन यस दिन संक्रमितको सख्यापनि अहिलेसम्मको ठूलो, एकै दिनमा १२ सय १५ रह्यो । यो १२ हजारको परीक्षणबाट प्रकटभएको विवरण हो । यही दिन कूल संक्रमितको सख्या ४० हजारमा पुग्दै थियो ।

यता सरकारका स्वास्थ्य सम्वन्धी प्रवक्ता यस्तो जानकारी  गराइरहेका  थिए भने विज्ञहरु सरकारको परीक्षण क्षमता २२ हजार भएपनि यस्तो गम्भीर अवस्थामा पनि त्यसको आधामात्र  अर्थात ११–  १२ हजार भन्दामाथि नगएको भनी गुनासो गरिरहेका थिए ।यही दिन  उता देशका  कार्यकारी प्रमुख प्रधामनमन्त्री केपीशर्मा ओली एउटा  निजी संचारमाध्यमसँग कुराकानी गर्दै भनिरहेका थिए

–‘यहाँ कोरोनाले मात्रै मृत्यु भएको हो भन्न सक्ने अवस्था छैन । जनतामा सचेतनामा कमी र अन्य केही कारणले गर्दा समुदाय स्तरसम्म कोरोना संक्रमण फैलिएको हो । यसमा सरकारको कुनै दोष छैन ।’

कोरोनाको संक्रमण फैलनुमा सरकारको कुनै दोष छैन भन्ने यो दिनसम्म प्रधानमन्त्रीको यो भनाई सयौं पटक दोहोरिएकोमा पर्छ । यसले बुझाउन खोजका कुराहोला– कोराना भाइरस नागरिकले नै ल्याए र उनीहरु आफेलै फैल्याएका हुन ।

दुई:  आम नागरिकका बुझाइमा अमेरिकी  राष्ट्रपति ट्रम्पले जस्तै नेपालका प्रधानमन्त्रीका भनाइहरु पनि कोरोनालाई सुरु देखिने हियाउँदै आएका भन्नेमा पर्छन । उनका बेसारपानी खाए  र हाँच्छिउ गरिदिए कोरोना भाग्ने भन्ने सुझाव व्यंग्यका विषय भैसकेका छन । विज्ञहरुको सधैनै  सुझाव रहँदै आएको छ – प्रधानमन्त्रीले यस्तो नबोलिदिए हुन्थ्यो । तर माथि उल्लेख भएको कोरोनाकहरको त्यस्तो भयावह लागेको विवरण प्रकट भैरहेको त्यसै दिन त्यही कुराकानीमा पनि उनले बेसारका बारे फेरीभने –

‘अज्ञानता भएको ठाउँमापनि खाने कुरामा नजर नलागोस् भनेर बेसार प्रयोग गर्ने चलन छ । बेसार हालेपछि नजर लाग्दैन । मान्छेको नजर त लाग्न सक्दैन भने त्यो किटाणु (कोरोना भाइरस) को के कुरा !’

तीन: प्रधानमन्त्रीका त्यसदिनका यी भनाइको अर्थ के लगाइयो भने कोरानाको ताण्डब बारेमा प्रधानमन्त्रीलाई तत्कालको  अवस्थाका बारे कुनै जानकारी छैन । यतिबेला यसको संक्रमणबाट २०० सय मान्छे मरिनै सकेका, ४० हजार हारहारीमा मान्छे संक्रमित भएका, सरकार लकडाउन र निषेध बाहेक खासै केही गरिनरहेको, सामान्य उपचारपनि नपाएर मान्छे झनझन मरिरहेका,  देशभरीनै आम नागरिक कथंकाल संक्रमित भैहाले  के गर्ने भनी उकुसमुकुसमा रहेकाबारे प्रधानमन्त्रीलाई  कि खवर छैन कि चासो भन्ने सन्देश हुनुपर्छ त्यस दिनका उनका भनाइ ।

देश भरखर मात्रै  १२० दिनको निरन्तर लकडाउन बाट मुक्त भएको थियो । त्यो लकडाउनमा सरकारले के गर्‍यो त भन्ने प्रश्न उठेका र यसबारे पनि सरकार नागरिकलाई कि आँखा फुटेका भन्ने  कि मौन बस्ने गरिरहेकै  बेला  लगत्तै पछि फेरी ६० वटा भन्दा बढी  जिल्लामा निषेधाज्ञा लागिरहेको छ । यस्तो बेलापनि परीक्षणको कुल क्षमताको आधामात्र प्रयोग भएकोछ भने यी सबै कुरा केका लागि त भन्ने प्रश्न उठिरहेका थिए । त्यस्तोमा प्रधानमन्त्री फेरी र फेरीपनि बेसारपानीकै कुरागर्छन भने नेपालको पनि नेतृत्वमाथि  अन्यत्र जस्तै अहंकारजन्य नेतृत्व मान्छे मार्ने कारक भएको  भनी आरोप लाग्यो भने त्यो कति स्वाभाविक वा अस्वाभाविक होला ?

चार: प्रधानमन्त्रीको यस्तो कोरोना मन्तव्य आउना साथै विगतमा जस्तै सामाजिक सञ्जालमा प्रतिकृयाको ओइरो लाग्यो । यस्तो संकटको बेला यस्तो नेतृत्बाट यस्तो खेलाची लाग्ने प्रकारको कुरागर्नु सह्य भएन । त्यसमा भनियो –‘सन्त्रास र संकटको भूमरी फनफनी घुमेको छ । सारा नेपाली त्राही छन् । राज्यप्रति विश्वास दिनानुदिन पातलिँदो छ । तर, प्रधानमन्त्रीसँग उही अहं, दम्भ र उही खोक्रा तर्कहरु छन् । ‘बेसारले मान्छेका त आँखा लाग्दैनन् भने किटाणु त के ?’ अब योभन्दा तल नझर्नुहोला प्रम ज्यू । लाज पनि लजाएर थाकिसक्यो ।’

पाँच: यता प्रधानमन्त्रीले कोरोनाले मान्छे मरेका छैनन्, जो मरे ती कोरोनाले होइनन, जनतामा सचेतनामा कमी र अन्य केही कारणले गर्दा समुदाय स्तरसम्म कोरोना संक्रमण फैलिएको हो, यसमा सरकारको कुनै दोष छैन भनेर सार्वजनिक माध्यममा भनाइ राखेका बेला नै संसदको समितिबाट सरकारलाई कोरोना बारे यतिखेरको वास्तविक अवस्थालाई जनाउने  निर्देशन आयो   । त्यसले सरकारका पछिल्ला कामकुराको चित्र आफै देखाउछ । त्यसबारेको एउटा रिपोर्ट –

‘१४ भदौ, संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको छ । लक्षण नदेखिएका संक्रमितलाई अस्पतालमा भर्ना नलिने, अस्पताल भर्ना हुन स्वास्थ्य मन्त्रालयको स्वीकृति लिनुपर्ने, लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्ने गरिएको भन्दै समितिले त्यसो नगरी सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई निर्देशन दिएको हो । सम्पूर्ण संक्रमितको भरपर्दो उपचार र व्यवस्थापनको सरकारले नै जिम्मा लिने, सरकारले लिन सकिन्न भन्ने पनि आएको छ, संकटको बेलामा नागरिकको स्वास्थ्य बचाउनु आवश्यक छ ।

यो बेला कोरोना भएको र नभएकालाई अलग अलग उपचारको व्यवस्था मिलाएर जनउत्तरदायी सरकारको पहिचान बनाउने । कोभिड १९ संक्रमितहरु होम आइसोलसनमा राख्दा निगरानी र नियन्त्रण नभएर संक्रमण फैलिने डर हुने समितिको बुझाइ छ । यसैगरी, समितिले समुदायस्तरमै कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाउन पनि निर्देशन दिएको छ । कोरोना परीक्षण रिपोर्ट १२ दिनसम्म पनि नआएको जनगुनासो रहेको उल्लेख गर्दै समितिले जतिसक्दो छिटो रिपोर्ट उपलब्ध गराउन भनेको छ । राज्य व्यवस्था समितिले कोरोना संक्रमण देखिएका कारागारमा रहेका सबै कैदीबन्दी र सुरक्षाकर्मीहरुको कोरोना संक्रमण परीक्षण गर्नु भनेको छ ।

यो ठाउँमा ध्यान जानुपर्ने कुरा केहो भने यी कुरा गर्न सरकारलाई  समितिले यसे निर्देशन दिन पर्ने थिएन यदि सरकार महामारीका बारे वास्तवमा नै सचेत रहेको र समान्यरुपमा पनि आफनो कर्तव्य निर्वाह गरिरहेको थियो भने । तर उल्टो, केही दिन अघिमात्रै सरकारले कुनै अस्पतालमा  कोराना भाइरस लागेको कुनै एउटा विमारी कुनैपनि अस्पतालले  भर्ना गर्न परे स्वस्थ्य मन्त्रालयको अनुमति चाहिने व्यवस्था गरेको थियो ।



नयाँ