arrow

'कोरोना भाइरस कडा हुँदै गएको देखिन्छ, मंसिरसम्म संक्रमण अझै बढ्न सक्छ'

पुषसम्म संक्रमित एकलाख पुग्न सक्छन

logo
प्रा. डा. प्रकाश बुढाथोकी
प्रकाशित २०७७ भदौ १८ बिहिबार
dr-prakash-budhathoki.jpg

काठमाडौं। स्वास्थ्य सेवा विभाग टेकुमा सिनियर कन्सल्टयाण्ट रहेका प्राध्यापक डा. प्रकाश बुढाथोकी यतिखेर कोरोना संक्रमणका विरामीहरूको उपचार तथा संक्रमण नियन्त्रण तथा रोकथामकोलागि सरकारी निकायबाट भइरहेको काममा अग्रपक्तिंमा खटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले उनलाई ललितपुर महानगरपालिका, प्रदेश २ तथा प्रदेश ५मा समन्वय गर्ने जिम्मेवारी दिएको छ । जिम्मेवारी पूरा गर्न उनी अहोरात्र खटिएका छन् । बुढाथोकी डाक्टरहरुको प्रतिनिधिमूलक संस्था नेपाल चिकित्सक संघको कोषाध्यक्ष पनि हुन् । यसअघि काठमाडौको वीर अस्पताल र काठमाडौं बाहिरका विभिन्न अस्पतालमा  सेवा पुर्‍याएका उनले वीर अस्पतालको न्याम्समा प्राध्यापन पनि गर्छन् । हाम्राकुराले कोरोना महामारी लगायतका बिषयमा बुढाथोकीसँग कुराकानी गरेको छ। प्रस्तुत छ सोहि कुराकानीको सम्पादित अंशः

० नेपालमा कोरोना नियन्त्रणभन्दा बाहिर गएको हो ?

अहिले नै नेपालमा कोरना नियन्त्रणभन्दा बाहिर गएको छ भन्न सकिन्न । किनभने हामीले चालेका कदमहरु र परिक्षणको दायराहरुबाट कोरोना नियन्त्रणमै छ र  नियन्त्रण गर्न सक्छौ भन्ने अवस्थामा छौं । तर प्रत्येक नागरिकले पनि आफ्नो तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्न उत्तीकै जरुरी छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले कोरोना भित्र राजनीति गरे भने नियन्त्रणभन्दा बाहिर जाने अवस्था आउन सक्छ । 

० नेपालमा यस्तो अवस्था आउछ भनेर पहिले अनुमान गरिएको थियो ?

अनुमान गरिएको थियो । हामीले विचमा लकडाउन खुला गर्‍यौं । लकडाउन खुले पछि यती संख्यामा संक्रमण बढ्न सक्छ भन्ने अनुमान हामीले पहिले नै गरेका थियौं । तर हामीले अनुमान नगरेको एउटा के देखियो भने अहिले लक्षण भएका संक्रमणहरु बढी देखिएका छन् । पहिले ९९ दशमलब ७ प्रतिशत संक्रमित व्यक्तिलाई अस्पताल जान जरुरी थिएन । उनीहरुमा कोरोनाको लक्षण देखिएन । तर अहिले ठाउँ विशेष अनुसार वीरगञ्जमा ६० प्रतिशतभन्दा बढी संक्रमितहरुमा लक्षण देखिन थाल्यो । काठमाडौंमा ३० प्रतिशत संक्रमणमा लक्षण देखिन थाल्यो । हरेक दिन १२/१३ जनाको दरले निधन हुन थालेको छ । यती संख्यामा क्षति होला भनेर हामीले सोचेका थिएनौ । 

० सोचेको भन्दा बढी लक्षण देखिन थाल्यो भन्नुभयो । के कारण हो ?

भाइरसले जेनेटिक रुपमा आफू बाँच्नकोलागि आफैलाई  बदल्दै गएको देखिन्छ । आफूलाई बदल्दै जाने क्रममा अलि बढी कडा खालको देखिएको हो कि भन्ने एउटा कुरा हो । दोश्रो कुरा पहिले संक्रमण भएका व्यक्तिहरु विदेशबाट आएका थिए । विदेशमा रोजगारीमा गएका र भर्खरैका युवाहरुमा संक्रमण देखिएको थियो । त्यतीखेर युवाहरु मात्र संक्रमति भएका थिए । उनीहरुमा रोगप्रतिरोध क्षमता बढी थियो । त्यसैले उनीहरुले भाइरसलाई जित्न सफल भए । उनीहरुमा लक्षण पनि देखिएन । तर लकडाउन खुले पछि भाइरस बोकेका व्यक्तिहरु अर्थात भाइरस घर घरमा छिर्‍यो । बालबालिका, जेष्ठ नागरिक र पहिलेदेखि नै रोग भएका व्यक्तिहरुमा संक्रमण सर्‍यो । उनीहरुमा रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भए पछि लक्षण देखिन थालेको हो । 

० तर पनि भाइरसको बारेमा नेपालमा वैज्ञानिक अध्ययन, अनुसन्धान त भएको छैन, होइन ?

नेपालमा त्यसको वैज्ञानिक अनुसन्धान भएको छैन तर इटली, बेलायत, चाइना तथा साउथ एशियामा फरक फरक प्रजातिका भाइरस देखिएका छन् । कोभिड १९का ६ वटा विभिन्न प्रजातिका भाइरस देखिएका छन् । ती मध्ये साउथ एशिया खासगरी नेपाल, भारतमा देखिएको प्रजाति सबैभन्दा कम क्षति पुर्‍याउने प्रजातिको भाइरस देखिएको हो।   

० तर यसबारेमा अध्ययन गर्न आवश्यक छैन र ? 

अध्ययन गर्न आवश्यक भइसकेको छ तर त्यसकोलागि त्यही अनुसार जेनेटिक ल्याव पनि चाहिन्छ । त्यसकोलागि थप उपकरणहरु, सामाग्री चाहिन्छ । नेपाल मेडिकल काउन्सिलले यसको लागि प्रयास गरिरहेको छ । उनीहरुको तहबाट केही अनुसन्धान भइरहेको छ । 

० अहिलेको यो अवस्था कहिलेसम्म जान्छ भन्ने अनुमान गरिएको छ ?

दशै, तिहार जस्ता चाडपर्व आउन बाँकी नै छ । ती चाड पर्वमा मान्छेहरु हिडडुल, भिडभाड र बसउठ हुने बढी सम्भावना छ । त्यसकारण दशै तिहारमा संक्रमण झन बढने स्थिति आउछ । नोभेम्वरसम्म यो अवस्था झनै बढ्न सक्छ । जनवरी, फेव्रेवरी लागे पछि स्थिति कम हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । 

० त्यबेलासम्म संक्रमण कति सम्म पुग्ला ?

संक्रमणको बारेमा तीन किसिमबाट भन्न सकिन्छ । पहिलो कुरा जनताले सामाजिक दुरी पालना गरे, मास्क लगाए, साबुन पानीले हात धोए भने, या सबै नियम पालना गरे भने एउटा अनुमान रहन्छ । तर कति प्रतिशत मान्छेहरुले यो नियम पालना गर्छन, त्यसमा भर पर्छ । तर जनताले सामाजिक दुरी पालना गरेनन भने, मास्क लगाएनन भने हाम्रो देशमा पनि इटलीको झैं अवस्था नआउला भन्न सकिन्न । तर पनि हामीलाई विश्वास छ, नेपाली जनताले सामाजिक दुरी पालना गर्नुहुन्छ, मास्क लगाउनु हुन्छ र  नियम पालना गराउन सरकार सक्षम छ भन्ने सोचेका छौं। त्यसैले नोभेम्वर डिसेम्वरसम्म संक्रमितको संख्या एक लाखको वरिपरि हुन सक्ने हामीले अनुमान गरको छौं । 

० त्यसबेलासम्म कोरोनाबाट निधन हुने संख्या कतिसम्म हुन सक्छ त ? 

सामान्यता विश्वमै कोभिड महामारीको लक्षण हेदा ८५ प्रतिशत संक्रमित व्यक्तिलाई लक्षण नै देखिएको छैन । १५ प्रतिशतलाई लक्षण देखिएको छ । लक्षण देखिएकाहरुलाई अस्पताल भर्ना गर्नुपर्ने हो । त्यसमध्ये  बढीमा ५ प्रतिशतलाई भेन्टिलेटरमा राख्नुपर्ने हो । त्यो हिसाबबाट हेर्दा २ देखि ३ प्रतिशत मृत्यदर देखिएको छ । मानौं एक लाखसम्म संक्रमण संख्या पुग्यो भने मृत्य ४ देखि ५ हजारसम्म पुग्ने अनुमान गर्न सकिन्छ । 

० नोभेम्बर,डिसेम्बर देखि कोरना हराउँदै जाने सम्भावना छ भन्नुभयो । त्यसपछि हराउँदै जानुपर्ने कारण के हो, खोपको कारणले हो ?

खोपको पनि एउटा कारण हो । अर्को कारण त्यती क्षति भए पछि हामीले पनि पाठ सिकौला । सामाजिक दुरी कायम गरौला । मास्क अनिवार्य गरौंला । सर्ट,पाइन्ट लगाए झै माक्स लगाउन सुरु गरौला । अर्को कुरा जाडो याममा रुघा खोकिसँग झुक्किने डर कम हुन्छ । फ्रेव्रुअरी पछि महामारी रहदैन भन्ने हाम्रो अनुमान छ । सबैभन्दा बढी संक्रमण नोभेम्बरमा देखिन्छ भन्ने हाम्रो अनुमान हो । 

० त्यसबेलासम्म नेपालमा खोप आउछ होला नि ? 

नोभेम्बरसम्म खोप ल्याउन प्रयास भएको छ । छिटोमा नोभेम्बर हो । डिसेम्बर, जनवरीसम्म पुग्न सक्छ । नेपाल सरकारले खोप ल्याउन सक्ने, नसक्ने भन्दा पनि विभिन्न अन्तराष्ट्रिय निकायहरु डब्ल्युएचओ, बिल गेट्स फाउन्डेशन लगायत थुप्रै अन्तराष्ट्रिय संस्थाहरुले गरिब मुलुकलाई सहयोग गर्ने भावना देखाएका छन् । त्यबेलासम्म नेपालमा खोप आउँछ भन्ने हाम्रो अनुमान छ । 

० भनेपछि त्यसेबलासम्म लक डाउन लगाउनु एउटा मात्र विकल्प हो त ?

लकडाउन मात्र विकल्प होइन । जनताले सामाजिक दुरी कायम गर्ने, हात धुने र मास्क लगाउने नियम पालना गरे भने लकडाउन जरुरी छैन । त्यो नमान्दा त्यसको बिकल्प भनेको लकडाउन नै हो । 

० कोरोना नियन्त्रणमा सरकारले गरेको  प्रयास पर्याप्त छ कि छैन ?

सबैभन्दा पहिले आफनो देश सम्झौ । विश्वको सम्पन्नशाली देशको तुलनामा मानव स्रोत, आर्थिक स्रोत चाहे हाम्रो सामाजिक व्यबहारको कुरा गरौ, ती सबै हिसाबबाट हाम्रो देशमा कोभिड बढ्ने सम्भावना बढी छ । किनभने हाम्रो समाजमा  एउटा घरमा एक/दुई जना मात्र बस्दैनन । संयुक्त परिवार हुन्छ । आफनो मान्छे भनेपछि जतिसुकै रोगी भए पनि त्यो मान्छेप्रति सामाजिक सद्भाव रहन्छ । नेपाल यती गरिब हुँदाहुँदै पनि सरकारले जे जति गरेको छ, यसमा सरकारलाई धन्यबाद दिदै हामी आफू पनि जिम्मेवार हुनुपर्छ । सरकारले गर्छ र हामी जोगिन्छौ, हामीले केही गर्नु पर्दैन भन्ने सोच बनायौं भने हामी जोखिममा पर्छौ र मृत्यको मुखमा पर्छौ । सरकारले गरे पनि गरोस,नगरे पनि नगरोस तर म आफू जोगिन्छु, मेरो परिवारलाई म जोगाउछु, मेरो समाजलाई जोगाउछु भन्ने सोच राखेर मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, सावुन पानीले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने बानी बसाल्यौ भने हामी जोगिन्छौ । जहाँ पायो त्यही थुक्ने काम पनि हामीले गर्नु हुँदैन । यती गर्न सक्यौ भने, आफूलाई जोगाउन सक्छौ, आफनो समाजलाई जोगाउन सक्छौ र आफनो देशलाई जोगाउन सक्छौ । 

० तर केही डाक्टरहरुले मास्क लगाउनु झनै खतरनाक हुन्छ, मास्क लगाउँदा शरिरलाई अक्सिजन पुग्दैन, स्वास्थ्यलाई झन खतरनाक हुन्छ भन्ने कुरा गर्छन नि ?

उकालो चढ्दा या कसरत गर्दा हामीलाई अलिकति स्वाँस्वाँ हुने गर्छ । तपाईं एक्लै उकालो चढ्दै हुनुहुन्छ या एक्लै कसरत गर्दै हुनुहन्छ भने मास्क नलगाए पनि हुन्छ । तर छेउमा दोश्रो व्यक्ति छ भने मास्क लगाउनु पर्छ । स्वास फेर्न अलिकति गाह्रो भयो भन्ने ठूरो कुरा हो कि कोभिड लागिहाल्यो भन्ने कुरा ठूलो हो ? त्यसरी तुलना गरौ । तपाई एक्लै कसरत गर्दै हुनुहन्छ या दुई वर्षभन्दा कम उमेरको बच्चा छ भने त्यसलाई मास्क लगाउन जरुरत पदैन । तर भौतिक दुरी, हावाको भेन्टिलेशन र साबुन पानीले हात धुने बानी बसाल्नु जरुरी छ ।  

० तपाई अहिले कोरोना नियन्त्रण र रोकथामको काममा कसरी खटिनु भएको छ ? 

अहिले म स्वास्थ्य मन्त्रालयबाट ललितपुर महानगरपालिकामा समन्वय गर्ने जिम्मेवारी लिएको छु । यसैगरी प्रदेश २ र प्रदेश ५मा पनि समन्वय गर्ने जिम्मेवारीमा छु । ललिपुर महानगरपालिकमा फिल्डमै गएर काम गरेको छु । प्रदेश २ र प्रदेश ५ मा अन्य विभिन्न माध्यममार्फत समन्वय गर्ने काम गरीरहेको छु । ललितपुरका प्रत्येक वडामा कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको छ । यसकोलागि कार्यविधि पनि बनाएका छौं । प्रत्येक टोल र वडामा कोभिड फाइटर ग्रुप बनाउँदै छौ । यसले होम आइसोलेसन र होम क्वारेन्टाइनमा बस्नेहरुलाई सहयोग र समन्वय गर्नेछ । यसैगरी महानगरपालिकामा स्वाब कलेक्सनको सिस्टम मिलाउने, डाटा मेनेज्मेन्टको सिस्टम मिलाउने जस्ता काममा पनि हामी लागेका छौ । अहिले म स्वास्थ्य मन्त्रालय मातहतमा स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखामा छु । यस महाशाखामा भएको हैसियतबाट देशभरका स्वास्थ्य संस्था तथा स्वास्थकर्मीहरुसँग समन्वय गरिरहेका छौ । त्यहाँ केही समस्या आयो भने समाधानकोलागि पहल गर्ने तथा समन्वय गर्ने हाम्रो जिम्मेवारी हो । 

० तर सबैभन्दा बढीमा जोखिममा त स्वास्थ्यकर्मी नै देखिए होइन ?

स्वास्थ्यकर्मीहरु जोखिममा पहिलेदेखि नै थिए । जुन व्यक्तिले कोभिडका विरामीको उपचार गरिरहेको हुन्छ, त्यो व्यक्ति जोखिममा हुनु स्वाभाविक नै हो । हामीले त्यसलाई त्यती ठूलो कुरा मान्दैनौ । त्यो भन्दा ठूलो कुरा समाजले हामीलाई हेर्ने जुन व्यवहार हो, यसबाट हामी ज्यादै नै संवेदनशील भएका छौ । यसलाई हामीले निकै नकारात्मक रुपमा लिएका छौ । जसले आफनो टोलमा, घरमा, गाउँमा स्वास्थ्यकर्मीलाई बस्न दिएका छैनन, त्यो व्यक्तिलाई कोभिड भयो भने या अरु कारणले उ अस्पताल जानुपर्‍यो र त्यही डाक्टर या स्वास्थ्यकर्मीले उसलाई उपचार गरे भने त्यस व्यक्तिलाई कस्तो हुन्छ होला भनी सोच्न हार्दिक अनुरोध गर्छु । 



नयाँ