संक्रमण पुष्टि भएका पाँच संक्रमित पाँच दिनदेखि घरमा

प्रकाशित २०७७ भदौ २० शनिबार

दमौली । तनहुँको भानु नगरपालिका–६ का ३८ वर्षीय पुरुषलाई गत आइतबार कोरोना संक्रमण पुष्टि भयो । घरमै अलग्गै कोठामा बसेका उनलाई बिहीबार मात्रै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनमा लगियो ।“पहिला आइसोलेशनमा श्यया छैन भनियो । घरमै पनि सुरक्षित बसेको थिएँ । बुधबार साँझ यहाँ ल्याइएको छ,” उनले भने । 

ती पुरुषसँगै भानु–६ मा एकैदिन २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।  संक्रमण पुष्टि भएको पाँच दिन पुग्दासमेत पाँच जना संक्रमित अझै घरमा बसिरहेका छन् । ती १७ जना संक्रमितलाई बिहीबार दिउँसोसम्म आइसोलेशनमा पुर्‍याइएको छ । तीमध्ये १५ जनालाई जिपी कोइराला सो केन्द्रको आइसोलेशनमा र दुई जनालाई दमौली अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा राखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । बाँकी तीन जनालाई पनि छिट्टै आइसोलेशनमा ल्याउने उनले बताए । “दुई जना संक्रमितलाई घरमै बस्न उपयुक्त छ । उनहरुलाई होम आईसोलेसनमै राख्छौ,” उनले भने ।

पछिल्लो समय जिल्लामा होम क्वारेन्टिनमा बस्न दिँदा परिवारका सदस्यलाई पनि संक्रमण भएको घटना सार्वजनिक भइरहेको छ । आइसोलेशनमा लैजाने भएपछि संक्रमितलाई पाँच दिनसम्म पनि घरमै राख्नु गम्भीर लापरवाही हो । “आइसोलेशन भरिभराउ भएकाले लैजान ढिलाई भएका हो । सरकारले गरेको निर्णयमा पनि घरमै आइसोलेशनमा बस्न चाहनेलाई राख्ने भनिएको छ । तसर्थ लापरवाही भएको होइन,” उनले भने । नगरप्रमुख गौलीले संक्रमितकै सहमतिमा घरमा राखिएको दावी गरे । उनले भने, “अस्पताल ल्याएर पनि औषधि गर्ने त केही पनि होइन, ज्वरो आए सिटामोल दिन्छन् । नत्र भने आराम गर्ने, खाना दिने हो ।”

कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापनमा स्थानीय तह लागिपरेको ६ महिना हुँदा समेत पर्याप्त आइसोलेशन छैन । पालिकामै आइसोलेशन बनाएर राख्दा संक्रमितलाई जटिल समस्या देखिए सम्बन्धित अस्पताल लैजान टाढा पर्ने भएकाले भानुमा आइसोलेशन नबनाएको उनले जानकारी दिए । 

वडा कार्यालय बन्द
तनहुँको देवघाट गाउँपालिकामा शुक्रबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको स्वाब सङ्कलनको रिपोर्ट अनुसार गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी सहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ । 

संक्रमितमध्ये दुई स्वास्थ्यकर्मी कोटा स्वास्थ्यचौकीमा कार्यरत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिए । ती स्वास्थ्यकर्मीमध्ये एक महिला र एक पुरुष हुन् । उनीहरु दुवै भरतपुर निवासी रहेको र भरतपुरकै आइसोलेशनमा राखिएको  स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले जानकारी दिए ।

बाँकी पाँच जना भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका छन् । पाँच जना नै देवघाट गाउँपालिका–५ निवासी रहेको बुढाथोकीले जानकारी दिए । उनहरु सबैलाई होम आइसोलेशनमै राखिनेछ । गाउँपालिकाले १४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।

यसैबीच सात जनामा कोरोना संक्रमण पुष्टि भएपछि देवघाट गाउँपालिकाले गाउँपालिकाको कार्यालय तथा वडा नं १ र ५ को कार्यालय बन्द रहने भएको छ । भदौ १९ गते शुक्रबारदेखि भदौ २४ गतेसम्मका लागि गाउँपालिका, वडा नं १ र ५ का वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

समुदायस्तरमा कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल नगर्न र अत्यावश्यक काममा हिँडडुल गर्दा मास्क लगाउन आग्रह गरिएको छ ।  हाल चलिरहेको पितृपुजन ९सोह्र श्राद्ध० कार्यमा आफन्त, छरछिमेकी, बन्धुबान्धवलाई आमन्त्रण नगरी एकाघरका सदस्यमात्र सहभागी हुन, सकेसम्म पुरोहितलाई घर नबोलाई विद्युतीय तरिकाले तथा अन्य वैकल्पिक माध्यमबाट सोह्र श्राद्ध गर्न गाउँपालिकाले जनाएको छ । 



नयाँ