arrow

दुर्गमका जनतालाई एक दशकदेखि सेवा दिदै डा. विकाश गौचन

logo
पूर्ण बहादुर खड्का,
प्रकाशित २०७७ भदौ २० शनिबार
bikash-gauchan-bayalpata-ho.jpg

अछाम । २०४० सालमा मुस्ताङको लेतेमा जन्मेका बिकाश गौचन सुदूर पहाडको अछाम आएको एक दशक पुरा भएको छ । २०५६ सालमा सरकारी स्कुलबाट एसएलसी सम्मको शिक्षा पुरा गरी आईएस्सी अध्ययन गर्न काठमाडौं गएका गौचनलाई एमबीबीएस पढाईका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आकर्षित गरायो । २०६४ सालमा एमबीबीएस सकाएर मेडिकल अधिकृतको रुपमा अछाम प्रबेश गरेका गौचन अहिले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशकको भुमिकामा कार्यरत छन् । 

दुर्गम क्षेत्रमै हुर्केका डा. गौचन स्वास्थ्यमा दुर्गमका जनताको पहुँचको जटिलता, सेवा पाउनुका कठिनाईहरु देखेका कारण दुर्गममा बसेर जनताको सेवा गर्नुपर्छ भन्ने मनमा रहेको बताउँछन् । पढाईकै सिलसिलामा एक बर्ष दुर्गम क्षेत्रमा काम गर्नुपर्थ्यो । त्यहाँका मानिसको आधारभुत स्वास्थ्य सेवामा पनि एकदमै कम पहुँच भएको तितो अनुभवका कारण अछाम आउने कुरामा असहज मानेनन् । आफुसँग पढेका डाक्टरदेखि अस्पतालहरु पनि शहर केन्द्रीत भएको बेला दुर्गम ठाँउको स्वास्थ्यमा काम गर्नुपर्छ सबैको पहुँच राम्रो बनाउनु पर्छ भन्ने ईच्छाले आफु अछाम आएको उनले बताए । एउटा चिकित्सक भएको नाताले दुर्गमको अनुभब संगालु पर्छ भन्ने कुरा मनमा थियो त्यहि अनुसार अछाम आएर न्याय हेल्थसंग जोडिएको उनि सुनाउँछन् । भाग्यबस, सकेसम्म कम शुल्कमा सेवाग्राहीलाई राम्रो सुबिधा निश्चित गर्नुपर्छ भन्ने प्रणालीले न्याय हेल्थ नेपाललले १२ बर्षदेखि काम गरिरहेको थियो ।

पहुँच र आर्थिक अवस्था भएकाहरुलाई शहर केन्द्रीत अस्पतालहरुले नै तानिरहेको बेला आफु एक चिकित्सकको नाताले दुर्गम क्षेत्रको बारेमा बुझ्न पाउने दुर्लभ सौभाग्य मिलेकोमा उनि आफुलाई भाग्शाली ठान्दछन् । स्वास्थ्य सेवा लिन टाढा टाढा जानुपर्ने बाध्यताको प्रत्यक्षदर्शी बनेका उनी दुर्गम पहाडमा हार्डजोर्नीका ठुलठुला शल्यक्रिया, जटिल प्रकृतीका प्रसुतीका श्ल्यक्रियाहरु जस्ता सेवा जनताले पाउँदा खुशी व्यक्त गर्दछन् । १० बर्ष पहिले अछाम प्रबेश गर्दा आफु एक्लो चिकित्सक भएको उनलाई सम्झना छ। अकालमा हुने मृत्यु, असुरक्षित गर्भपतनको कारणले हुने मातृ मृत्यु जोगाउन गरेको प्रयास उनलाई चिकित्सकको नाताले खास लाग्छन् ।

बाजुराको दुर्गम ठाँउ छताराबाट ३ दिन बढी प्रसब बेथाको पिडा बोकेर आएकी महिलालाई बचाउनु कम चुनौतिपूर्ण थिएन । पेटमै बच्चाको मृत्यु तथा पाठ्यघर फुटेर रगत पेटभरी फैलिएको ति महिलाको ज्यान जोगिने कुरामा परिवारका सदस्यहरुले पनि माया मारिसकेका थिए । आईसियू भएको ठाँउमा राखेर उपचार गर्नुपर्ने खालको बिरामी थिए । त्यस्तो जटील अवस्थाको विरामीलाई यहि सफल शल्यक्रिया गरेर बचाउँदा खुशीको सिमा नै नरहेको उनी सम्झिन्छन । दुर्गममा यस्ता जटिल खालका शल्यक्रिया गरेर कसैलाई दोश्रो जीवन नै दिएको अनुभुती हुन्छ उनलाई । आन्द्रामा प्वाल परेर पेटभरी दिशा भएको एक ४५ बर्षिय पुरुष बिरामी आउनु भएको थियो । उहाँलाई तुरुन्तै ठुलो अस्पतालमा लगेर पेटको अप्रेशन गर्नुपर्ने थियो डा. गौचनले सुनाए आर्थिक अभावका कारण उनले बाहिर जान नमानेपछि हामीले यतै शल्यक्रिया गर्‍यौ। यस्तो सफलताले ठुलो सन्तोष मिल्छ उनले सुनाए ।

तर कहिलेकाँही आवश्यक उपकरण, साधन श्रोत नहुदाँ अस्पतलामा ज्यान जोगाउन नसकिएको तथा रेफर गर्नुपर्दा एकदमै पिडा महसुस हुने गरेको उनि सुनाउँछन् । डा. गौचनलाई अछामदेखी ठुला अस्पतालमा बिरामी पठाउनु पर्दा बाटोको जटिलताले एक्दमै पिरोल्छ । उनि भन्छन् आकस्मिक बिरामीलाई तत्काल रिफर गरि आईसियू भेण्टीलेटरमा राखेर उपचार गर्नुपर्छ तर उनिहरुको अस्पताल नै पुग्न नपाई बाटोमा मृत्यु भएको खबर सुन्दा पिडाबोध हुन्छ । 

यस्ता प्रकारका मृत्यु रोक्नका लागि पहिलो कुरा त स्वास्थ्य प्रणाली एकदम बलियो बनाउन आवश्यक छ । कुनै एउटा संस्था बलियो हुँदैमा समग्र समाजको स्वास्थ्य राम्रो हुन्छ भन्ने हुदैन । तसर्थ समग्र प्रणालीमा सुधार हुन आवश्यक छ । प्रणाली बलियो भयो हामी सबै कुरा सही समयमा व्यवस्थापन गर्न सक्छौँ भन्ने उनलाई लाग्छ । 

डा. गौचनलाई न्याय हेल्थ नेपालले दुर्गममा अघि सारेको स्वास्थ्यको प्रणाली उपयुक्त बिकल्पका रुपमा लाग्छ । राज्यले हरेक नागरिकप्रतिको दायित्व बोध गरी कम्तीमा प्रतिव्यक्ती एक हजार एक बर्षमा छुट्याउन सकेमा यस्तो प्रकारको सेवा देशैभर लार्गु गर्न सकिने बिश्वास उनमा छ । 

दुर्गममा दीर्घकालिन तथा गुणस्तरिय सेवाका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुका साथै हरेक नागरिक, स्वाथ्स्य क्षेत्र, जनप्रतिनिधी, ३ तहकै सरकारले जिम्मेवारी बोध गरे नेपालको स्वास्थ्यमा आमुल परिवर्तन हुने उनको बुझाई छ । 

१ दशकदेखि अछाममा निशुल्क स्वास्थ्य सेवा प्रणालीमा काम गरिरहेको न्याय हेल्थ नेपालले अस्पतालका साथै सामुदायिक स्वास्थ्य कार्यक्रममा धेरै परिर्वतन र प्रगति गरेको देख्दा एकदमै खुशी मिलेको अनुभुती व्यक्त गर्छन उनी । डा. गौचनको अबको योजना पनि बयालपाटा अस्पतालमा संचालनमा रहेका सेवाहरुलाई दिगो बनाउनुमै केन्द्रित हुनु हो । त्यसैको लागि आफुले स्वास्थ्यका प्रमुख, स्थानिय तहका प्रमुख, प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयहरुसँग मिलेर काम गरिरहेको उनले सुनाए । 

बयालपाटा अस्पतालबाट प्रदान गर्ने सेवाहरु थप्दै, गुणस्तर बृद्धी गर्दै अझै लामो बाटोको यात्रामा अगाडी बढिरहेका डा. गौचनले सुनाए । आज भन्दा १० बर्ष अगाडी हालको साँफेबगर नगरपालिका ३ वडाबाट सुरु गरिएको सामुदायिक स्वास्थ्य कार्यक्रम जिल्लाका १० स्थानिय तहहरु मध्ये ६ वटा तहमा पुर्याउन सफल हुदाँ उनि निकै खुशी छन् । 'निशुल्क स्वास्थ्य सेवाहरुको साथसाथै कागज रहित स्वास्थ्य प्रणालीको विकास गर्न बिद्युतिय तथ्यांक रेकर्ड प्रणाली लागु गरेका छौँ,' डा. गौचनले भने,' नेपालको लागि एकिकृत स्वास्थ्य प्रणालीको नविनतम र गुणस्तरिय सेवा दिन सकिने मोडेलका रुपमा स्थापित भएको छ ।'

गौचन भन्छन्, ' बिगत ५ बर्षदेखि दोलखाको चरिकोट तथा गएको २ बर्ष देखि हामीले चौरपाटी गाँउपालिकाको चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि निशुल्क रुपमा स्वास्थ्य सेवा दिनु नै यसको उदाहरण हो ।' सामुदायिक स्वास्थ्य कार्यक्रम, डिजिटल प्रबिधि तथा सेवाको स्तरलाई हेर्ने हो भने यो देशको लागि अध्ययन गर्न मिल्ले खुल्ला किताब भएको छ उनको बुझाई छ । मुलुकको समग्र स्वास्थ्य प्रणालीमा आमुल परिवर्तन गरी जनताको स्वास्थ्यमा पहुँच बढाउन यसले मद्दत पुग्ने विश्वास उनमा छ । 

एक दशकमा न्याय हेल्थ नेपालले १० लाख भन्दा बढी मानिसलाई निशुल्क स्वास्थ्य सेवा तथा ३ लाख ५० हजार भन्दा बढी मानिसलाई समुदायमा आधारित सामुदायिक स्वास्थ्य सेवा दिन सफल भएको उनले सुनाए । न्याय हेल्थ नेपालले अस्पतालसंगै सामुदायिक स्वास्थ्य कार्यक्रम निशुल्क रुपमा संचालन गरिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ