भद्रपुरबाट धरान पठाइएकी महिलाको संक्रमणबाट मृत्यु

प्रकाशित २०७७ भदौ २१ आइतबार

दमक । कोरोना भाइरसको संक्रमणबाट झापा कन्काई नगरपालिकाकी  ४५ वर्षीया महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचाररत कन्काई–३ का ती महिलाको आइतबार मृत्यु भएको हो ।

मेची अस्पताल भद्रपुरबाट उपचार हुन नसकेपछि थप उपचारका लागि यही भदौ १८ गते ती महिलालाई प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा भर्ना हुनासाथ स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट देखिएको बताइएको छ ।

तीन–चार दिनदेखि ज्वरो, श्वासप्रश्वासमा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मृतक मधुमेहको रोगीसमेत भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

यससँगै जिल्लामा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि दमक–१ का ५८ वर्षीय पुरुषको काठमाडौँमा र कमल गाउँपालिका–३ का ८३ वर्षीय वृद्धको सोही प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।



नयाँ