arrow

विश्व नम्बर एक खेलाडी जोकोभिच नै ‘अयोग्य’ घोषित भएपछि

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
novac-djokovic.jpg

काठमाडौं । शीर्ष वरियताका टेनिस खेलाडी नोभाक जोकोभिच नै यूएस ओपन टेनिसमा ‘अयोग्य’ घोषित भएपछि टेनिस जगतमा खैलाबैला मच्चिएको छ । 

खेलका क्रममा उनले प्रहार गरेको बलले लाइन जजलाई लागेपछि जोकोभिच आइतबार अयोग्य घोषित हुँदै प्रतियोगिताबाट बाहिरिनु परेको छ । 

स्पेनिश खेलाडी पाब्लो कार्नेटो बुस्टा विरुद्धको चौथो चरणको खेलका क्रममा सर्वियन खेलाडी जोकोभिचले दुर्भाग्यपूर्ण तरिकाले बलले लाइन जजलाई हानेका थिए । 

३३ वर्षे जोकोभिच ४–५ ले पछि रहेका अवस्थामा ०–४० भएको थियो । निकै धैर्य गुमाएका उनले ५–६ को अवस्था हुँदा सर्विस गुमाएका थिए । 

जोकोभिचले सर्भिस गुमाएपछि रिस पोख्ने क्रममा बललाई प्रहार गर्दा महिला लाइन जजको छातीमा लाग्न पुगेको थियो । 

उनी मैदानमै लडेकी थिइन् । उनी तत्काल जज सामु पुगेका थिए र माफी मागेका थिए । 

केही समयको छलफलपछि उनलाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरिएको थियो ।

ग्रान्डस्लाको नियम अनुसार जानीजानी बललाई खतरनाक तरिकाले हान्ने वा कोर्टभित्र लापरवाही तरिकाले खेल्ने वा लापरवाही तरिकाले बललाई हान्ने कारणले प्रतियोगिताको रेफ्रीले नोभाक जोकोभिचलाई सन् २०२० यूएस ओपन टेनिसबाट अयोग्य घोषित गरेको  यूएस टेनिस संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतियोगिताबाट बाहिरिएपछि विश्व नम्बर एक जोकोभिचले यूएस ओपनमा पाएका सबै अंक गुमाउनेछन् । पुरस्कार राशीमा समेत जरिवाना स्वरुप कटौती गरिने यूएस टेनिस संघले जनाएको छ । 

जोकोभिच करियरको १८ औं ग्रान्डस्लाम जित्दै स्पेनिश राफेल नाडाल र स्वीस रोजर फेडेररको नजिक जान चाहन्थे । 

यूएस ओपनमा नाडाल र फेडेरर सहभागी नभएको अवस्थामा जोकोभिचले आफ्नै गल्तीले गोल्डेन अवसर गुमाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ