arrow

बालबालिकाहरु अझै शिक्षाको पहुँचबाट बञ्चित हुनु दुःखद हो – लक्ष्मण घिमिरे

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
laxman-ghimire.jpg

कोरोना भाइरसको महामारीका कारण नेपालमा यतिबेला शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ । विद्यालयहरु संचालन हुन नसक्दा विद्यार्थीहरुको शैक्षिक सत्र कसरी अगाडि बढाउने भन्नेमा विद्यालयदेखि विश्वविद्यालयसम्मलाई चिन्ता थपिएको छ । लाखौं विद्यार्थीको भविष्य अब कोरोना नियन्त्रणमा अडिएको छ । यसै विषयमा आधारित रहेर कस्मिक इन्टरनेशनल एकेडमीका अध्यक्ष, कोेटेश्वर बहुमुखी क्याम्पसका आमसञ्चार विषयका अध्यापक तथा विविध कन्सल्ट्यान्टस्का कार्यकारी निर्देशक लक्ष्मण घिमिरेसँग गरिएको कुराकानीको मूख्य अंश–
१, लामो समयदेखि निजी शैक्षिक क्षेत्रमा हुनुहुन्छ, संक्षेपमा बताइदिनुस् न ?
प्रारम्भिक शिक्षा जन्मस्थल सिन्धुपाल्चोकको जुगल गाउँपालिकामै पूरा गरी उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आई विभिन्न शैक्षिक संस्थाहरुमा उच्च शिक्षा अध्ययनका साथै गीत संगीतको क्षेत्रमा पनि प्रत्यक्ष रुपमा लागियो । साहित्य, संगीत, शिक्षा र अध्यापन सबै कुराहरुलाई एकैसाथ अगाडि लगेर हाल शिक्षा क्षेत्रमै आवद्ध भइरहेको छु । मेरो बुबा तुलसीप्रसाद घिमिरे शैक्षिक क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गरेको हामी सबैलाई सर्वविदितै भएको कुरा हो । उहाँको त्यही प्रभावबाट म पनि शैक्षिक क्षेत्रमै केही गर्नुपर्छ भन्ने भावना राखी हाल म कोटेश्वरस्थित कस्मिक इन्टरनेशनल एकेडेमीको अध्यक्ष, विविध कन्सल्ट्यान्टस्को कार्यकारी निर्देशक साथै आमसंचार विषयको प्राध्यापन कार्यमा निरन्तर लागि रहेको  छु ।

२, कस्मिक इन्टरनेशल कस्तो एकेडेमी ? 
कस्मिक इन्टरनेशनल एकेडेमी २०६३ सालदेखि निरन्तर रुपमा निजी शैक्षिक क्षेत्रबाट गुणात्मक शिक्षा प्रदान गर्दै राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्दै आइरहेको शैक्षिक संस्था हो । हामीले यस संस्थामा सानासाना बाबुनानीहरुको प्ले ग्रुप (प्रि–प्राइमरी) कक्षादेखि कक्षा १२ सम्म औपचारिक रुपमा अध्यापन गर्दै आइरहेका छौं । विद्यार्थीहरुलाई गुणात्मक शिक्षा प्रदान गर्ने ध्येयले सबै खालको भौतिक सुविधा, चुस्त आन्तरिक व्यवस्थापन गर्दै विगत केही वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून विषयहरुको अध्यापन कार्य हुँदै आइरहेको छ ।  

३, काठमाडौं उपत्यकामा त एकसे एक शैक्षिक संस्था छन्, के फरक छ कस्मिकमा ?
सर्वप्रथमः हामी शैक्षिक क्षेत्रमा नै पूर्णरुपमा क्रियाशील साथीहरुको प्रत्यक्ष संलग्नतामा संचालित शैक्षिक संस्था भएको कारणले गर्दा विद्यालय भित्रको शैक्षिक गतिविधिलाई गुणात्मक बनाउन सफल भएका छौं । सो कुरा विगतमा राष्ट्रिय स्तरका विभिन्न परीक्षामा आएको नतिजा, हाम्रा विद्यार्थी भाइबहिनीहरुले अध्ययन प्रश्चात् विभिन्न प्रतिष्ठित संस्थाहरुमा आवद्ध भई गरिरहेको कामबाट नै पुष्टि हुन्छ । हामी  विद्यार्थीहरुलाई अहिलेको परिवेशमा अब्बल राख्न चाहिने आवश्यक व्यवहारिक शिक्षा कसरी प्रदान गर्ने भन्ने बारेमा अहोरात्र लागि परेका छौं । शैक्षिक गतिविधिको अलावा गीत, संगीत, नृत्य, वाध्यवादन, खेलकुद, चित्रकला, योग लगायत अतिरिक्त क्रियाकलापमा हामीले उत्कृट विद्यार्थीहरुलाई प्रस्फुटित गर्दै आएका छौं । साथै  प्लस टुतर्फ व्यवहारिक शिक्षालाई अतिनै जोड दिँदै विभिन्न खालका सेमिनार, प्रोजेक्ट वर्क, विज्ञान प्रदर्शनी, हाजिरीजवाफसहित शैक्षिक भ्रमण र अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिँदै आइरहेका छौं । हामीले विज्ञान शिक्षालाई बढी भन्दा बढी व्यवहारिक र प्रभावकारी बनाउनका लागि प्रत्येक विषयको भिन्दाभिन्दै प्रयोगशालाको निर्माणका साथै सामग्रीहरुले पूर्ण राखी विद्यार्थीहरुलाई बढी भन्दा बढी व्यवहारिक बनाउन लागि परेका छौं ताकि भोलिका दिनमा हाम्रा विद्यार्थीहरु सधै आफूलाई अब्बल, स्वाबलम्बी बनाउन सकुन् । विद्यालयको आन्तरिक व्यवस्थापन चुस्तदुरुस्त राख्दै विभिन्न नाम चलेका कलेजहरुमा लामो समयसम्म अनुभव प्राप्त शिक्षक शिक्षिकाहरुबाट अध्यापन गर्दै आइरहेका छौं । छोटो समयमै यस संस्थाले लिएको गतिदेखि विभिन्न जिल्लाबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने गन्तव्यको रुपमा परिचित हुँदै आएको छ ।  

४, कोरोना भाइरसको संक्रमण फैलिएपछि शैक्षिक क्षेत्र अस्तव्यस्त भएको छ । कति थिए विद्यार्थी कस्मिकमा पहिले ?
गएको शैक्षिक सत्रमा कस्मिक इन्टरनेशनल एकेडेमीमा १६ सय भन्दा बढी विद्यार्थीहरुले औपचारिक शिक्षा लिएका थिए । ती विद्यार्थीहरु यो शैक्षिक सत्रमा पनि हामीसँगै छन् । हामीले शुरूआतदेखि नै अनलाइनमार्फत शिक्षा दिइरहेका छौं । विद्यार्थीको अध्ययन स्तर बिग्रनु हुँदैन भनेर हामी लकडाउनका बेलामा समेत गम्भीर भयौं । निरन्तर हामीले शिक्षा दिइरहेका छौं । 

५, ‘सिन्धुपाल्चोक फ्लेभर’ कत्तिको छ ? 
फ्लेभर भन्नुभन्दा पनि विश्वास हो । प्लस टुतर्फ एक सय ५० जना भन्दा बढी गरी पाँच सयको हाराहारीमा सिन्धुपाल्चोकबाट नै आई अध्ययन गरिरहेको अवस्था छ । हामी विद्यालय संचालक नै सिन्धुपाल्चोक जिल्लाका भएकाले पनि प्रभाव पर्ने रहेछ । विश्वास पनि हो । र हामीले त्यो विश्वास जितेर देखाएका छौं । काभ्रे, सिन्धुपाल्चोक नजिकका जिल्ला भएकाले पनि काठमाडौं उपत्यका बाहिरमध्ये त्यताबाट विद्यार्थीहरु बढी आएको अवस्था हो । हामीले ग्रामिण भेगबाट आउने विद्यार्थीहरुका लागि विशेष प्राथमिकताका साथ छात्रवृत्तिसमेत उपलब्ध गराइरहेका छौं । स्वभाविक रुपमा सिन्धुपाल्चोकका विद्यार्थीहरुको पहिलो रोजाइमा कस्मिक इन्टरनेशनल एकेडेमी पर्न गएको हो भन्ने लाग्दछ । 

६, कोरोनाले शैक्षिक संस्थाहरुमा कस्तो अप्ठेरो पर्न गएको छ ? 
कोरोनाका कारणले सबैभन्दा बढी असर परेको क्षेत्र नै शैक्षिक क्षेत्र हो । विद्यालयमा स–साना बालबालिकाहरु अध्ययनार्थ जाने भएकोले बढी जोखिम पर्नु स्वभाविकै हो । त्यसमा पनि विद्यार्थीहरु पढ्ने विद्यालय–कलेजमा भीडभाड बढी हुने भएकाले शैक्षिक संस्थाहरु अरु संस्थाहरुको तुलनामा बढी संवेदनशील मानिन्छन् । गत बैशाखबाटै नयाँ शैक्षिक सत्र शुरु भएर लगभग पहिलो त्रैमासिक परीक्षा सम्पन्न हुनुपर्ने, प्लस टुतर्फ कक्षा ११ को भर्ना सम्पन्न भई कक्षाहरु संचालन भइसक्ने समय भए तापनि अझै अन्योल नै छ । अन्य क्षेत्रहरुमा आंशिक रुपमा संचालन भए पनि विद्यालय पूर्णतः बन्द नै हुनाका कारण स्वभाविक रुपमा अप्ठेरो उत्पन्न भएको छ । तथापि विद्यार्थीको सिक्न पाउने अधिकारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले हामीले नर्सरी देखि कक्षा १२ सम्म निरन्तर रुपमै वैकल्पिक कक्षाहरु सञ्चालन गर्दै आएका छौं । यो क्रम विद्यार्थी भाइबहिनीहरु भौतिक रुपमा विद्यालयमा उपस्थित नहुने समयसम्म नै निरन्तर रुपमा संचालन गर्न हामी लागिरहेका छौं । 

नेपालको सन्दर्भमा अझै पनि ठूलो संख्यामा साना बालबालिकाहरु विद्यालयको आधारभूत शिक्षाबाट वञ्चित छन् । सरकारले विभिन्न खालका गतिविधिहरु संचालन गरे तापनि ती साना बालबालिकाहरु अझै शिक्षाको पहुँचबाट बञ्चित हुनु दुःखद कुरा हो । शिक्षामा निजी लगानीका शैक्षिक संस्थाहरु आ–आफ्नो ठाउँबाट उल्लेखनीय भूमिका खेले तापनि सरकारी निकायबाट ती शैक्षिक संस्थाहरुले खासै सहयोग प्राप्त गर्न सकेका छैनन् । सरकारले अभिभावकीय भूमिका निर्वाह नगरे जस्तो कता कता भान हुन्छ ।  

७, शैक्षिक परामर्शको क्षेत्रमा भने कस्तो असर परेको छ कोरोनाले गर्दा ? 
गुणात्मक शैक्षिक भविष्यका लागि विश्वका विभिन्न विकसित मुलुकहरुमा उच्च शिक्षा अध्ययनार्थ जानेक्रम दिनानुदिन बढिरहेको छ । यसै कुरालाई मध्यनजर गर्दै हामीले काठमाडौको बानेश्वरस्थित विविध कन्सल्ट्यान्ट्स स्थापना गरेका छौं । यसको शाखा अष्टे«लियाको सिड्नीमा पनि रहेको छ । बजारमा विभिन्न खालका कन्सल्ट्यान्सी सेवा दिने संस्था रहेता पनि हामीहरुले एकदमै व्यवस्थित र व्यवसायीक ढंगबाट परामर्शको काम अगाडि बढाइरहेका छौं । तर फेरि पनि कोरोनाका कारणले यस क्षेत्रलाई पनि प्रत्यक्ष रुपमा असर पारिरहेको छ । हाल विश्वभरि नै यसको असर रहिरहेको हुँदा विद्यार्थीहरु बाहिर जाने क्रम कम देखिए तापनि विस्तारै अष्ट्रेलियाका लागि भने जाने क्रमका लागि आन्तरिक तयारी हुने कुरामा विश्वस्त छौं ।  

८, नेपाली युवा विदेशिनु राम्रो हो र ?  
विकसित राष्ट्रहरुमा गुणस्तरीय शिक्षा हासिल गर्न युवाहरु जानु नराम्रो कुरा होइन । त्यहाँ सिकेका ज्ञान, सीप र कला स्वदेशमै फर्किएर आफ्नो देशलाई विकसित बनाउन ती युवाहरुले आफ्नो भूमिका निर्वाह गर्नु जरुरी हुन्छ । यसका लागि नीति निर्माताहरु तथा समाजका अग्रज मानिसहरुले यो देशलाई ती युवाहरु फर्कन लायक बनाउन जरुरी छ । युवाहरुले आफूले प्राप्त गरेका ज्ञान सीपलाई स्वदेशमै फर्किएर सही प्रयोगमा ल्याउन सक्ने वातावरण बनेमा आफ्नो घर, परिवार बिर्सिएर विदेशमा पलायन हँुदैनन् र हामीले त्यसरी विदेशमा अध्ययन सम्पन्न भएपश्चात् स्वदेशमै फर्किएर सेवा गर्नुपर्छ भन्ने ढंगले सकारात्मक उर्जा दिने भमिकासमेत निर्वाह गरेका छौं । 

९, शैक्षिक क्षेत्रको विकास र विस्तारमा सरकारको भूमिका के हुनुपर्छ भन्ने लाग्छ ?
नेपालको सन्दर्भमा अझै पनि ठूलो संख्यामा साना बालबालिकाहरु विद्यालयको आधारभूत शिक्षाबाट वञ्चित छन् । सरकारले विभिन्न खालका गतिविधिहरु संचालन गरे तापनि ती साना बालबालिकाहरु अझै शिक्षाको पहुँचबाट बञ्चित हुनु दुःखद कुरा हो । शिक्षामा निजी लगानीका शैक्षिक संस्थाहरु आ–आफ्नो ठाउँबाट उल्लेखनीय भूमिका खेले तापनि सरकारी निकायबाट ती शैक्षिक संस्थाहरुले खासै सहयोग प्राप्त गर्न सकेका छैनन् । सरकारले अभिभावकीय भूमिका निर्वाह नगरे जस्तो कता कता भान हुन्छ ।  एकातिर सरकारी शिक्षामा सरकारको पर्याप्त लगानी अभाव हुनु, लगानी भए तापनि गुणस्तरीय सेवा अभाव रहनु, गुणस्तरीय आधारभूत शिक्षासमेत प्रदान गर्न नसक्नु र अर्कोतिर निजी क्षेत्रको योगदानलाई समेत सही मुल्याङ्कन गर्न नसक्नुका कारण शिक्षा क्षेत्र अझै पनि अस्तव्यस्त नै रहेको देख्दछु । यसका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय तथा शिक्षा क्षेत्रमा लागि परेका व्यक्ति, संस्थाहरुले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्दछ भन्ने लाग्दछ ।   

१०, अन्त्यमा केही भन्नुहुन्छ कि ?
मलाई सिन्धुपाल्चोकको सामाजिक, राजनैतिक, शैक्षिक वातावरणको बारेमा राम्रो ज्ञान छ । अझै पनि जिल्लाका दुर्गम भेगमा साना बालबालिकाहरु विद्यालयको आधारभूत शिक्षाबाट बञ्चित छन् । त्यसैगरी विद्यालय शिक्षा सकेका युवाहरु पनि उच्च शिक्षा हासिल गर्न असमर्थ छन् । यो परिस्थितिमा हामी राजधानीमा शैक्षिक क्षेत्रमा लागिपरेको नाताले के कस्ता योगदानहरु दिन सक्छौं हामी आफ्नो तर्फबाट प्रयासरत छौं । त्यसैगरी जिल्लाबाट उपत्यकामा आई अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि कस्मिक इन्टरनेशनल एकेडेमी आर्थिक रुपमा सहयोग दिई सुलभ ढंगबाट गुणात्मक शिक्षा प्रदान गर्न लागि परेको छ । आगामी दिनमा अझ सहयोग र सद्भावको लागि हातेमालो गर्न सदैव तयार छौं । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ