arrow

दुई तिहाईको सरकारलाई ११ सय मिटर सडक बनाउन ६ महिना, पुतलीसडक स्तरोन्नति समयमै नसकिएपछि म्याद थप

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
sadak3.jpg

काठमाडौं । नयाँ पिच र फुटपाथ हाल्नुपर्ने पुतलीसडकको काम सम्झौता अवधि सकिँदा पनि सम्पन्न भएको छैन ।

टुकुचामोडदेखि सिटी सेन्टरसम्मको जम्मा ११ सय मिटरमा नयाँ पिच र फुटपाथ हाल्नुपर्ने सडक स्तरोन्नतिको म्याद सकिँदा पनि काम सम्पन्न नभएको हो ।

उक्त सडकको स्तरोन्नतिका लागि भन्दै सडक डिभिजन कार्यालय काठमाडौं र ठेकेदार कम्पनी पीआर इन्फ्रास्ट्रक्चरबीच गत फागुनमा सम्झौता भएको थियो ।

सम्झौता अनुसार सडक स्तरोन्नतिको काम भदौ १४ गते भित्र सम्पन्न हुनुपर्ने थियो । 

तर, सम्झौता अवधिमा काम सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय काठमाडौंले सडक स्तरोन्नतिको म्याद थप गर्ने भएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौं प्रमुख कुवेर नेपालीले भदौ १४मा म्याद सकिएको र स्तरोन्नतिको काम सम्पन्न नभएपछि म्याद थप गर्न लागिएको बताए । ‘म्याद थप गर्न कुनै कठिनाई छैन’ उनले भने, ‘८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सरकारी निर्णय अनुसार म्याद थपिन्छ ।’

लकडाउन अवसर कि बहाना?

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चैत देखि गरेको लकडाउनलाई अवसरका रुपमा लिँदै भौतिक यातायात तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङले काठमाडौंका ठाउँ ठाउँमा सडक रङ्ग्याए ।

लकडाउनका कारण सडकहरु तुलनात्मक रुपमा  खाली भएपछि मन्त्री नेम्वाङले विभिन्न ठाउँमा सकड कालोपत्रे गर्ने, जेब्रा क्रसिङ बनाउने लगायतका काम गरे ।

तर, त्यही लकडाउन पुतलीसडकलाई भने बहाना बन्यो ।

सडक डिभिजन कार्यालय प्रमुख नेपाली भन्छन् ‘लकडाउनमा आवश्यक सामान नपाइएका कारण केही ढिलाई भयो ।’

त्यस्तै कोरोना महामारीका कारण समेत काममा बाधा पुगेको नेपालीको भनाई थियो । उनले बेला बेला कर्मचारीमा कोरोना परिक्षण समेत गर्नु परेकाले केही ढिलाई भएको बताए ।

बाहिरबाट हेर्दा फुटपाथ र पिच मात्रै देखिने भएपनि सडक स्तरोन्नतिको काम जटिल भएको नेपालीको भनाई थियो । ‘बाहिरबाट हेर्दा पिच र फुटपाथ थप्ने मात्रै देखिएको हो’ उनले भने, ‘जमिन भित्रको जटिलता, पाइप व्यवस्थापन हेर्दा कठिन नै थियो । अब पिच गर्न मात्रै बाँकी छ ।’

उनले आगामी असोज मसान्तभित्र उक्त सडक स्तरोन्नतिको काम सम्पन्न गरिने बताए । भर्खरै मात्रै पीसीआर परिक्षण गरेर कर्मचारी काममा फर्केका उनले बताए ।

सडकमा ढल निकासका लागि पाइप व्यवस्थापन, पिच गर्ने र फुटपाथ राख्नेगरी सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीबीच साढे ११ करोड रुपैयाँ लागत लाग्ने गरी गत फागुन १४ गते सम्झौता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ