arrow

सिरियामा आइएसको आक्रमणबाट १४८ को मृत्यु

शान्तिवार्ताप्रति चिन्ता व्यक्त

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
syria-map.gif.gif
बेरुत । सिरियाली राष्ट्रपति बसर अल असदका समर्थक एवम् सरकारको हालसम्मको बलियो उपस्थिति मानिएका दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा पनि १४८ जनाको ज्यान गएको समाचार छ । आतङ्कवादी संस्था इस्लामिक स्टेट (आईएस) द्वारा गराइएका ती विस्फोटमा परी कम्तिमा पनि १४८ जनाको मृत्यु भएको समाचारमा जनाइएको हो । 
 
सो घटनामा सयौँको सङ्ख्यामा घाइते भएका छन् । उक्त समाचार सिरियाली राजधानी दमासकसबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार समितिहरुले दिएका छन् । सिरियाका उत्तरपश्चिमी क्षेत्रका विभिन्न स्थानमा यो आक्रमणको तारो बनाइएको छ । त्यस क्रममा उनीहरुले बसपार्क, अस्पताल, विभिन्न स्थानीय नागरिकका सेवा केन्द्रहरुका साथै विभिन्न सरकारी अड्डालाई तारो बनाएका थिए । 
 
सिरियाको उत्तरपश्चिमी नगर जाबेहमा यस्तो हमला भएको थियो । यो हमला मुख्य हमला थियो । जसका कारण सो क्षेत्रमा ठूलो क्षति पनि पुगेको छ । उक्त सहर सिरियामा जारी रहेको पाँच वर्षे युद्धका क्रममा पनि खासै प्रभावित थिएन । यस नगरलाई सरकारले आफ्नो सुरक्षित स्थल वा गढका रुपमा लिइआएको थियो । 
 
सोमबार विस्फोटमा परी जावलेह सहरमा मात्र ७५ जनाको मृत्यु भएको र यसबाट अझ दक्षिणमा अवस्थित टारटस सहरमा थप मानिस मारिएका छन् । सिरियाली मानवअधिकारवादी संस्थाले मङ्गलबार बिहान प्राप्त एक समाचारमा सो नगरमा मारिएका नागरिकको सङ्ख्या १४८ पुगेको पुष्टि भएको जनाएको छ । 
 
प्राप्त समाचारअनुसार उक्त स्थानमा सोमबार बिहानै झन्डै सात आत्मघाती विस्फोट गराइएको थियो । ती विस्फोटको जिम्मेवारी उक्त आतङ्कवादी संस्थाले नै लिएको छ । सिरियाली हिंसाको अध्ययन गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरीका प्रमुख रमि अब्देल रहमानले सिरियामा सन् २०११ पछि भएका केही ठूला हमलामध्ये सोमवार भएका यी आक्रमण पनि शक्तिशाली भएको बताएका छन् । 
 
आईएस समूहले घटनाको जिम्मेवारी आफ्नो समाचार संस्था अमाक न्यूज एजेन्सीमार्फत लिएको छ । दुवै सहर सिरियाली सरकारको पकडमा रहेका इलाका भएको यसअघि जनाइएको थियो । पछिल्लो समाचारअनुसार सिरियामा जारी रहेको युद्धविरामको अवस्थामा पनि असर पर्ने हो कि भन्ने चिन्ता छाएको बताइएको छ । 
 
सिरियाली राष्ट्रपति बसार अल असादको परिवार जावेलेहबाट २५ किलोमिटर पूर्व कार्दहबाट दमास्कस आएको हो । उक्त इलाकामा मुख्यतया अलावित नामक सिया समुदायको बसोबास रहँदै आएको छ । सिरियाको तटीय क्षेत्रमा आईएसको उपस्थिति नभएको मानिन्छ तर यसको जिहादी विरोधी समूह र अलकायदाको स्थानीय समूह अल नुस्रा फ्रन्टको प्रभुत्व रहेको छ । 
 
तर सोमबारको सो आक्रमणहरुले सिरियामा आइएसको प्रभाव बढ्दै गएको हुनसक्ने विषयमा पनि विभिन्न समाचारहरु आएका छन् । 
 
 
शान्तिवार्तामा असर पर्नसक्ने चिन्ता 
 
उता सिरियामा पछिल्लो समयमा सरकारसँग शान्तिवार्ताका लागि गरिएको युद्धविरामको असर पर्ने हो कि भन्ने बारेमा पनि चिन्ता व्यक्त भएको छ । सिरियामा गएका केही समययतादेखि युद्धविराम भएको छ । त्यसको पहल रसिया र अमेरिकाले गरिरहेका छन् । 
 
सोमबारको हमलाका कारण सिरियामा थप हिंसा मच्चिन सक्ने र यसले गर्दा आगामी दिनमा युद्धविरामको अवस्था भाँडिन सक्ने त्रास छाएको पनि बताइएको छ । सिरियामा गएको करिब पाँच वर्षदेखि हिंसा छाएको छ । यस हिंसामा परी दशौँ हजार नागरिक मारिएका छन् । 
 
अमेरिकी र रसियाली पहलमा पछिल्लो समयमा सिरियामा युद्धविराम सुरु भएको छ । त्यस युद्धविरामको अनुगमन संयुक्त राष्ट्रसंघले गरिरहेको छ । र त्यस बमोजिम वार्ताको प्रक्रिया भने अघि बढ्न सकिरहेको छैन । वार्ताका लागि सरकारी पक्ष तयार छ तर विपक्षीहरुले सिरियाली राष्ट्रपति असदले सत्ता छोड्नुपर्ने मुख्य माग राख्दै आएका छन् । एएफ्पी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ