arrow

बीपी कोइरालाको आलोकमा वर्तमान राष्ट्रिय राजनीति

logo
प्रमोदहरी गुरागाँई,
प्रकाशित २०७७ भदौ २४ बुधबार
pramodhari.jpg

नेता बैधानिक बिधिद्वारा प्राप्त जिम्मेवारी, स्थान वा पद हो । नेतृत्व प्राप्त परिस्थितिलाई सम्हाल्दै सहयात्रा मार्फत उदेश्य प्राप्ति गर्ने अभिप्रेरणा हो । विविधताको स्विकार, सम्मान र  सम्बोधन असल नेतृत्वको आधारभूत चरित्र हो । शरीर निर्माण र संचालनमा विभिन्न अंगहरुको आ-आफ्नै भूमिका र अन्तरक्रियात्मक सम्बन्ध हुन्छ । ठीक, त्यसैगरी समाज र सामाजिक अंगहरुको ज्ञान, सहकार्य र अनिवार्यतालाई आत्मासाथ गर्नै पर्दछ । विविध भूगोल, भाषा, कला, जन-जाती, संस्कृति नेपाल देशको मौलिक परिचय र सुन्दरता हो । यही विविधता नेतृत्वको अवसर र चुनौती हो ।

बीपी कोइरालाले राजनीतिलाई न त आध्यात्मिक, न त दार्शनिक विषय मान्नु भयो । मनमा एउटा कुरा, मुखमा अर्को कुराको कुटनीतिक चित्रको रुपमा पनि राजनीतिलाई व्याख्या गर्नु भएन । बरु सिधा-सिधा आवश्यक तर अपुग विषय पूरा गर्ने मार्ग र नचाँहिदो विषयमा हप्काउने योग्यता अर्थात् छलकपटविहिन कार्यको नाम राजनीति बताउनुभयो । नेतृत्वको इमानदारीता, अनुभव र विश्वासका साथ गरिने निर्णयमा राजनीतिले सहि दिशा र गन्तव्य हाँसिल गर्नेमा बीपीको मत थियोे । 

राष्ट्रियताको मर्म र बेला बखत छड्किने खिचडी

राष्ट्रियता नारा होइन कर्म हो । निरन्तर सकारात्मक सामाजिक रुपान्तरणमा राष्ट्रियता बिम्बित हुन्छ । जीवनको बहु-आयामिक पक्षहरुमा राष्ट्रले आफ्नो नागरिकलाई गर्ने सम्बोधनमा राष्ट्रियताको मापन हुन्छ । नागरिकको अनुहारको आभामा राष्ट्रियता बिम्बित हुने सत्य बीपीले उल्लेख गर्नु भएको छ । भोको पेट, रोजगार नभएको खाली हात, औषधोपचार नपाएर मर्नु पर्ने बाध्यता, बाल-बालबालिकाको शिक्षालयसँगको सम्बन्ध बिच्छेद, नीतिगत वा हाकाहाकी भ्रष्टाचार आदि राष्ट्रियताको मर्म विपरीत हुन्छ ।

तर दुर्भाग्य, नेपालमा छुल्याहा राष्ट्रियताको बजार छ । अमूक देशलाई गाली गर्नु र अमूक देशसँग मित्रता गर्ने मापदण्डको आधारमा राष्ट्रवादीको डिग्री प्राप्त गर्ने चलन छ । यो कदापि ठीक होइन । छिमेकी राष्ट्रहरुसंगको सम्बन्धमा मात्रै राष्ट्रियताको मापन गर्ने हो भने पनि बीपीको प्रष्ट मत थियो । " हाम्रा दुई छिमेकीहरु छन् । यहाँ एउटाले अर्कोलाई सन्तुलित पारेको छ । हाम्रा छिमेकीहरुलाई चिढाउने काम हामीहरुले गर्नु हुँदैन । म जहिले पनि जोड दिन्छु चीन र भारतको मित्रता होस् भनेर । यहाँ हिन्दुस्थान र चीनमा मात्र निर्भर रहेर गरिने राजनीति सफल हुँदैन । "

बीपीको कार्यकालमा विर्ता उन्मुलन, जंगलको राष्ट्रियकरण, शिक्षालयहरुको स्थापना, स्वास्थालयहरुकको बिस्तार, जमिनको हदबन्दी आदि राष्ट्रियता सम्बन्धी कर्म थियो । भारतीय समकक्षी जवाहरलाल नेहरुसंगको स्वाभिमानी सम्बन्ध र चीनसंगको सिमा विवाद अन्त्यसंगै सगरमाथाको शिर(चुचुरो) नेपालको हो भन्ने चीनको अभिव्यक्ति र व्यबहार बीपीको सफल राष्ट्रवादी कर्मको धोतक हो ।

आन्तरिक पार्टी राजनीति र प्रतिपक्षसंगको मित्रवत् सम्बन्ध 

भनिन्छ " दुष्ट इष्ट हुनुभन्दा विद्वान शत्रु भएकै निको " । बीपी कोइराला, शुवर्ण शमशेर,  गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई आदिको साझा धारणा र मित्रतामा नेपाली कांग्रेस पार्टीको निर्माण भएको हो । नेताहरुको राजनीतिक विश्लेषण र योजना फरफ-फरक हुन्थ्यो । बीपीसंग राजा, मित्रराष्ट्र भारत, पार्टीको नेतृत्व, आन्दोलनको स्वरुप आदि विषयमा नेताहरुले प्रष्टरुपमा आ-आफ्नो मत राख्नु हुन्थ्यो । कतिपय अवस्थामा एकअर्कासँग नमिल्ने ३६को आँकडामा दृष्टिकोणहरु प्रस्तुत हुन्थ्यो । बीपी साथिहरुलाई गम्भीरतापुर्वक सुन्ने र योजनाहरु निर्माण गर्ने कार्य गर्नु हुन्थ्यो । फरक विचारलाई पनि मनाएर साथै यात्रा गराउने योग्यता बीपीमा थियो ।

पहिलो आम निर्वाचन २०१५ फागुन ७ गतेबाट शुरु भई चैत्र २८ गते पूरा भयो । कुल १०९ सिटमा भएको निर्वाचनमा नेपाली कांग्रेसको १०८ स्थानमा मात्र उम्मेदवारी कायम रह्यो । जसमा नेपाली कांग्रेस ७४ सिटमा विजयी भयो । निर्वाचन पश्चात् राजा महेन्द्रसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो नभएकोले शुवर्ण शमशेरलाई बीपीले पटक-पटक प्रधानमन्त्री बन्न आग्रह गर्नुभयो । बीपी पत्नी शुशिला कोइरालाले बीपी प्रधानमन्त्री बन्न नहुने भनी घरमै गरेको भोक हडताल वर्तमान राजनीतिक आँखालाई अविश्वसनीय लाग्छ । तथापि गणेशमान सिंह, शुवर्ण शमशेरको आग्रहमा बीपी संसदीय दलको नेता र प्रधानमन्त्री बन्नुभयो । राष्ट्रिय राजनीतिलाई सहज गराउन प्रधानमन्त्री बन्न साथीहरूलाई आग्रह गर्ने बीपी र बीपीलाई नै प्रधानमन्त्री बन्न सम्पूर्ण सहयोग गर्ने समकालीन साथीहरूको उच्च सुसंस्कृत व्यवहार वर्तमानका मूल नेतृत्वले सिक्नुपर्ने उज्यालो बिम्ब हो ।

राजा महेन्द्रले बीपी कोइरालालाई अल्पमतमा पार्न विभिन्न कोशिस गरेको पाइन्छ । तथापि प्रतिपक्षी दल गोरखा परिषदका अध्यक्ष, विपक्षी दलका नेता भरत शमशेर र कम्युनिस्ट नेताहरूले बीपी कोइराला र बीपी कोइरालाको नेतृत्वको सरकारलाई पूर्ण सहयोग गरेको पाइन्छ । " सरकार सत्ता पक्षको र संसद प्रतिपक्षको " भन्ने मर्म राम्ररी बुझेका तात्कालिक सभामुख कृष्णप्रसाद भट्टराई र संसदको उच्च गरीमा र मर्यादा बुझेका बीपी कोइरालाको सभ्य ब्यबहारले यो सबै सम्भव भएको थियो ।

नेपाली कांग्रेस अबको बाटो र राष्ट्रिय राजनीति 

राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण परिवर्तनहरुमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका छ । निरंकुश राणा शासन, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य, गणतन्त्रको स्थापना, संघीय लोकतान्त्रिक संविधानको निर्माण तथा कार्यान्वयन यसका प्रमाणहरु हुन् । लोकतन्त्रमा संसदीय अंक गणितको जय-पराजय निरन्तर प्रकृया हो । तर महत्वपूर्ण हुन्छ लोकतान्त्रिक चित्र र चरित्रको । नेपाली कांग्रेस मियोबाट बाहिरीदा लोकतन्त्र धर्मराएको छ । जनआवाज, हित र संरक्षण अभिभावकबिहिन बनेका छन् । हिंसा, हत्या, बलात्कार, भ्रष्टाचार नाङ्गोरुपले प्रकट भैरहेका छन् । नेकपा सरकारको उदासिनता, लाचारीपन, दादागिरीको उदाङगो चरित्रले नागरिक तह वाक्क दिक्क छन् ।

संसदीय राजनीतिक व्यवस्था अवलम्बन गरेको मुलुकहरुमा सत्ता पक्षको सामाजिक विश्वास घट्दा प्रतिपक्षको विश्वास बढेको पाइन्छ । वर्तमान सन्दर्भमा नेपाली कांग्रेसकाप्रति जति विश्वास बढ्नु पर्ने त्यती भएको पाइदैन । यस परिस्थितिलाई पहिचान गरेर समस्याको औषधोपचार समयमै गर्नु पर्दछ । आलोचनाहरुलाई सम्पत्तिको रुपमा स्विकार गरेर आफुलाई सुधार्ने मार्गमा केन्द्रीय नेतृत्वदेखि वार्ड नेतृत्वसम्मको नेताहरुले सामुहिकरुपमा सुध्रने प्रतिबद्धता र व्यवहार नै कांग्रेसलाई मूलमा पुर्‍याउने मार्ग हो ।

स्विकार गरौं, माला बनाउन त माली, सियो, धागो र शिपयुक्त व्यक्तिको भूमिका हुन्छ । यो त पार्टी हो । ठूलो परिवार हो । परिवारको सदस्यको संख्या बढाएर सरकाको नेतृत्व मार्फत सम्पूर्ण नागरिकलाई " मेरो सरकार "को अनुभुती दिन एकल प्रयासले सम्भव छैन । सामुहिकता र सहसम्मानको परिस्थिति पार्टी भित्र निर्माण हुन जरुरी छ । नागरिक तहमा पुनः विश्वास निर्माण गर्न हामी मार्फत भएका गल्तीहरुको सामाजिक स्विकार र गल्ती नदोहोर्‍याउने विश्वसनीय वातावरण निर्माण गर्न १४औं महाधिवेशन सफल हुनुपर्दछ ।

(गुरागाँई नेपाली कांग्रेस केन्द्रिय नीति , अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य हुन् ।)

@PramodHariGura1



नयाँ