arrow

केन्द्रीय नेताको सिको गर्दै नेकपाका जिल्ला नेता पनि सरकारी जग्गा कब्जामा

नवलपरासीका नेकपा नेता रमेश बस्यालले कब्जा गरे राष्ट्रिय आवासको जमिन कब्जा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
ramesh-basyal-nekapa-nawalp.jpg

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता विष्णु पौडेलद्धारा बालुवाटारको सार्वजनिक जग्गा कब्जा गरेको विषय सेलाउन नपाउँदै नेकपाकै जिल्ला नेताहरुबाट समेत जिल्लाहरुमा पनि सार्वजनिक जग्गा कब्जा गरेका घटनाहरु बाहिर आउन थालेका छन् ।

सत्तारुढ दल नेकपाका जिल्ला नेताहरुले समेत राजनीतिक आडमा सार्वजनिक जग्गा कब्जा गरेको पछिल्लो उदाहरण नेकपाका नवलपरासीका जिल्ला सदस्य रमेश बस्याल बनेका छन् । नवलपरासीमा राष्ट्रिय आवास कम्पनीको जग्गा हडपेर बस्यालले घर निर्माण गरेका छन् ।

सत्तारुढ दल नेकपाको राजनीतिक आडमा राष्ट्रिय आवास कम्पनीका केहि नेकपा निकट कर्मचारीको मिलेमतोमा बर्दघाट–४ आनन्दनगरमा बस्यालको घर बनेपछि नेकपाकै स्थानिय पुराना नेता कार्यकर्ताहरु जिल्ल परेका छन् । ‘नेकपामा नवप्रबेशीले आएर लुट मच्चाउँदा पनि नेताहरु मिलेकैले त होला चुप लागेका’  नेकपाका एक स्थानिय कार्यकर्ताले प्रश्न गरे, ‘ बस्यालले राष्ट्रिय आवास कम्पनीको १२ धुर घडेरी नेताहरुकै आशिर्वाद बिना कब्जा गरेर कसरी घर बनाउन सक्छन् ।’

बस्याल प्रसाशनमा आत्मसर्मपण गर्दै विप्लव समुह परित्याग गरि सत्तारुढ नेकपा प्रबेश गर्नेमध्येका एक नेता हुन् । आनन्द नगरका बासिन्दा भने बस्यालले अरु सार्वजनिक जग्गामा समेत हात मारेको हुनसक्ने बताउँछन् ।

२०५९ तिर नेकपा एमालेनिकट अखिलमा सक्रिय बस्याल माओवादी हुँदै विप्लव समुहबाट नेकपा प्रबेश गरेका स्थानीय नेता हुन् ।

बर्दघाट २ ढेडारीफाँटको ८ बिघा २ कट्ठा १२ घुर जग्गा सार्वजनिक बनाउन दलहरुले दबाब दिएकै समयमा नेकपाका नेताले नै जग्गा हडपेर घर बनाउन थालेपछि स्थानीय वासिन्दा चकित परेका हुन् ।

बस्यालले भने सो जग्गा यसअघिदेखि नै आफुले भोगचलन गर्दै आएको बताएका छन् । उनले बिहीबार हाम्राकुरासँग भने, ‘त्यो जग्गा हाम्रै हो । २०६६ सालदेखि नै हामीले जोत्दै आएका हौं । कसैले त्यतिकै भन्दिएका होलान् ।’ तर उनले २०६६ सालमा कोबाट भोगचलन अधिकार लिए भनेर बताएनन्। 

बस्याल निर्माण गर्न लागेको घरको निर्माण रोक्न राष्ट्रिय आवास कम्पनीले पटक पटक पत्राचार गर्दा पनि उनले निर्माणको कार्य रोकेका छैनन् । कम्पनीको जग्गामा घर नबनाउन कम्पनीले अनुरोध गरेपनि बस्यालले कम्पनीले लिने पैसा तिर्ने भन्दै कब्जामा लिएर घर निर्माणको कार्य रोकेका छैनन् ।

राष्ट्रिय आवास कम्पनी प्रमुख महेन्द्र थापाले बस्यालले घर निर्माणको कार्य नरोकेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको बताए । ‘सिडियो कार्यालय र नगरपालिकासम्म पत्राचार गरेका छौं । चार, पाँच दिन भयो’ थापाले भने, ‘घर नबनाउनुस्, पन्ध्र दिन भित्र जग्गा खाली गर्नुस् भनेर १५ दिनको म्याद दिएका छौं ।’

अहिले जग्गामा बनाउदै गरेको घर हटाउन भन्दै थापाले नै जिल्ला प्रसाशन कार्यालप बर्दघाट सुस्ता पश्चिम र बर्दघाट नगरपालिकालाई पत्राचार गर्दै आएका छन् ।

थापाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बिहीबार पनि पत्राचार गर्न लागेको बताए । ‘बस्यालले कम्पनीलाई लाग्ने पैसा हामी तिछौं भन्नु हुन्छ’ थापाले भने, ‘त्यसरी तिर्ने कुरा होइन । त्यसको पनि प्रक्रिया छ । घर निर्माण कार्य रोक्नका लागि आज पनि प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दैछौं । घर निर्माणको कार्य रोकिदिनु हुन्छ ।’

यसबारेमा नवलपरासीका जिल्ला प्रमुख अधिकारी सागरमणी पाठकले सहजीकरण गरिदिने बताए । जग्गा संरक्षण गर्न काम कम्पनीको भएको भन्दै पाठकले आवश्यक सहजीकरण आफुहरुले गरिदिने बताए । ‘संरक्षण गर्ने काम कम्पनीको हो । त्यो विषयमा केही शान्ति सुरक्षाको विषय आयो भने हामीले हेर्ने हो । जग्गा कब्जा गरेको कुरा कम्पनीले हेर्नुपर्छ ।’

त्यस्तै बर्दघाट नगरपालिका नगर प्रमुख धीरज शर्मा बस्यालले पनि जग्गा खाली गर्न भनेर कम्पनीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पठाएको पत्रको बोधार्थ आफुकहाँ आइपुगेको भन्दै आवश्यक सहजीकरण गरिदिने बताए ।

‘जग्गामा एक जनाले घर बनायो भनेर जिल्ला प्रशासनलाई पठाएको चिठीको बोधार्थ आवास कम्पनीले पठाएको हो । सहजीकरणका लागि हामी छलफल चलाइदिन सक्छौं’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ