arrow

राजश्व संकलन : तर्साएरै तीन दिनमा १४ अर्ब असुल, १ खर्ब नाघ्यो कुल संकलन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
artha-mantralaya_Nepal.jpeg

काठमाडौं । व्यवसायीलाई कर तिर्न तर्साएरै सरकारले तीन दिनमै १४ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।

निषेधाज्ञाबीचमै राजश्व संकलनका लागि बैंकका शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिएरै सरकारले तीन दिनमा १४ अर्ब १ करोड १६ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत सोमबार कुल राजश्व संकलन ८१ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

सोमबार नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्नका लागि भन्दै मंगलबार, बुधबार र बिहीबार बैंकका सबै शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिएको थियो ।

उक्त तीन दिनमै राजश्व संकलन १४ अर्ब रुपैयाँ बढीले वृद्धि हुँदै ९५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ संकलन भएको छ । उक्त राजश्व १४ अर्ब १ करोड १६ लाख रुपैयाँले बढी हो ।

करको हिस्सा कति?

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबारसम्म करमार्फत मात्रै ९१ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन गरिएको छ ।

गत सोमबार कुल राजश्व ८१ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ हुँदा करमार्फत मात्रै ७९ अर्ब ९ करोड ७७ लाख रुपैयाँ संकलन गरेको थियो ।

गैरकरमार्फत ३ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ र अन्य शिर्षकमा १० अर्ब ९ करोड ९८ लाख रुपैयाँ राजश्व संकलन गरी कुल १ खर्ब राजश्व संकलन गरिएको छ ।

चालु आर्थिक वर्ष २०७७, ०७८मा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

व्यापार व्यवसाय धरासयी बनेको भन्दै सरकारले कर चाँही जुनसुकै अवस्थामा पनि तिर्न बाध्य बनाएको भन्दै व्यवसायीले विरोध गर्दै आएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण पछिल्लो समय व्यापार व्यवसायमा ठुलो धक्का लागेको छ ।

व्यापार व्यवसाय खासै नभएको भन्दै कर तिर्न सरकारले बाध्य नपार्नुपर्ने व्यवसायी बताउँदै आएका छन् । व्यवसायीका छाता संगठनहरुले सरकारी कदमको विरोध गर्दै आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका राजश्व समिति प्रमुख अशोक तोदीले यसअघि हाम्राकुरासँग कुरा गर्दै राजश्व तिर्न सरकारले सबै व्यवसायीलाई बाध्य पारेको बताउँदै त्यस्तो गर्नु नहुने बताएका थिए ।

उनले व्यापार व्यवसाय सञ्चालन रहेका स्थानलाई हेरी सम्बन्धित कर कार्यालयले कर तिर्न समय दिएर सूचना जारी गर्नुपर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ