arrow

एक इमेल पठाएर टाईगर प्यालेसले निकाल्यो ३९३ कर्मचारी, भिसा सकिएका विदेशीलाई रातो कार्पेट

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ २७ शनिबार
tiger-palace-bhairawa.jpg

रुपन्देही । अस्ट्रेलियन सिलभर हेरिटेज कम्पनीले लगानी गरी सञ्चालनमा ल्याएको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं.१३ मा रहेको टाईगर प्यालेस रिसोर्टले त्यहाँ कार्यरत ३ सय ९३ जना स्वदेशी कर्मचारी कामदारहरुलाई कामबाट निष्काशन गरेको छ । रिसोर्टले काठमाडौंस्थित कार्यालयबाट समेत ३० जना कर्मचारीलाई निकालेको छ । 

पाँचतारे सो रिसोर्टले स्वदेशी कर्मचारी र कामदारहरुलाई एक इमेल पठाइ कामबाट हटाएको छ। लेटरमा २ वर्ष करार अवधि सकिएको र कोरोना भाईरसका कारण गरिएको लकडाउनले व्यवसाय धरासायी वनेको भन्ने व्यहोराको इमेल लेखी सबै कर्मचारी र कामदारहरुलाई काममा नआउन भनेको हो । कोभिड १९लाई कारण देखाउँदै प्यालेसले पारिश्रमिक दिन नसक्ने भन्दै एक इमेल लेखि ३ सय ९३ कर्मचारी कामदारलाई हटाएको हो ।  

एक इमेल लेखी कामबाट हटाएपछि कर्मचारी र कामदारले त्यसको विरोध जनाएका छन् । कोरोना भाईरसले संकट नै परेको हो भने पनि किन एकपटक पनि कामदारहरुसंग समन्वय नगरी विना सल्लाह एक इमेल पठाएको भरमा किन एकाएक कामबाट निकालियो भन्ने प्रश्न गरेका छन् ।

साथै उनीहरुले कम्पनीले लेटरमा उल्लेख गरिएको करार अवधि सकिएर निकालिएको हो भन्ने भनाईको समेत खण्डन गरेका छन् । उनीहरु भन्छन्, यदी करार अवधि सकिएको थियो भने अवधि सकिएको करिव १ वर्ष पछि आएर किन यस्तो कदम हटाईयो भन्दै व्यवस्थापनप्रति प्रश्न उठाएका छन् । 

श्रम सम्वन्ध समिति टाईगर प्यालेसका प्रमुख एवं कर्मचारी चित्र भण्डारीले भने, टाईगर प्यालेसमा कोरोना भाईरसको आर्थिक संकट परेको भनिए पनि मासिक ५ लाख देखि १० लाख रुपैयाँसम्म पारिश्रमिक लिने विदेशी कर्मचारीलाई राखेर न्यून तलबस्केलमा काम गरिरहेका स्वदेशी कामदारहरुलाई निकालेर पेटमा लात हान्ने काम भएको बताए।  

हाम्राकुरासंगको कुराकानीमा अर्का कर्मचारी उदय वहादुर कार्कीले कोरोना भाईरसका कारण अवस्था नाजुक रहेको बेला काम गरेर दैनिकी चलाउनेहरुलाई कामबाट निकालिदा थप समस्यामा परेको गुनासो गरे । गोविन्द गौतमले पनि समस्यामा थप समस्या थप्न नहुने भन्दै, प्यालेसबाट निकालिएका कामदारहरुको पुनर्वहाली गर्न माग गरे । 

अर्का कर्मचारी विशाल वहादुर कार्कीले भिसाको म्याद सकिएका विदेशी कामदारहरुलाई मासिक पारिश्रमिक दिएर काम दिने तर स्वदेशी स्थानिय कामदारलाई कोरोनाको कारण देखाएर कामबाट निकालिएकोबारे कानुनी उपचार खोज्ने बताए । करिव ६ अर्व भन्दा बढी लगानीमा सञ्चालन ल्याईएको उक्त टाईगर प्यालेस तिलोत्तमा नगरपालिका वडा नं. १३ कोटिहवा स्थित १४ विगाह क्षेत्रफलमा रहेको छ । २०७४ सालमा स्थापना गरिएको सो प्यालेसमा हाल विदेशी ७ जना कामदारहरुले काम गरिहेको वताईएको छ ।

प्यालेसका जनरल म्यानेजर तथा कार्यवाहक प्रमुख लक्ष्मण थापाले आफुलाई पनि कम्पनीले निकालेको जनाउँदै कम्पनीसँग थप कुराकानी भैरहेको वताए । यसबारेमा प्यालेसका एचआर म्योनजर ईन्द्र भट्टराईलाई पटकपटक फोन गर्दा उनले प्रत्येक पटक फोन काटेर सम्पर्कमा आउन चाहेनन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ