arrow

कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता हैन राम्रो बोलिबचन पनि पाएनन् 

logo
रामजी घिमिरे
प्रकाशित २०७७ भदौ २८ आइतबार
ramjee-ghimire.jpg

करिब  २४ हजार अहेव, एचए, स्टाफ नर्स, ल्याव, फिजियोथेरापिष्ट लगायतका स्वास्थ्यकर्मीहरु अहिले देशभर कोरोना संक्रमित व्यक्तिहरुको उपचारमा अहोरात्र खटिएका छन् । यो सरकारी निकायमा कार्यरत स्वास्थयकर्मीहरुको संख्या हो । रामजी घिमिरे स्वास्थ्यकर्मीहरुको प्रतिनिधिमूलक संस्था नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष हुन् । उनका अनुसार देशभर करिब ३५ हजार स्वास्थ्यकर्मी मध्ये २४ हजार स्वास्थ्यकर्मी फिल्डमा छन् । नीजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको संख्या यो भन्दा दोब्बर रहेको उनको भनाइ छ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईं आफै पनि स्वास्थ्यकर्मी हुनुहुन्छ, कोरोना संक्रमण बिरुद्ध खटिएका स्वास्थ्यकर्मीहरुको भावना कस्तो पाउनु भएको छ ?

कोरोना संक्रमणमा खटिएका स्वास्थ्यकर्मीहरु जोखिममा परेका मात्र छैनन,उनीहरुको मनोबल पनि खस्किएको अवस्था छ। उनीहरु सरकारबाट पनि अपहेलित भएका छैनन, समाजबाट पनि अपहेलित भएका छन्  । घरभेटीले कोठाबाट निकालेका छन् । जसलाई उपचार गर्नु पर्ने हो, उनीहरुले नै घरबाट निकाल्दा उनीहरुको मनोभाव कस्तो होला तपाईं आफै अनुमान गर्नुहोस। अहिले स्वास्थ्यकर्मीहरुले जसरी समाज र सरकारी निकायबाट प्रोत्साहन पाउनु पर्‍थ्यो ,त्यस किसिमबाट व्यवहार भएको छैन । यसमा पैसा मात्र ठूलो कुरा होइन । बोलिबचन पनि राम्रोसँग पाउन सकेको अवस्था छैन।  

नेपाल सरकारले जसरी स्वास्थ्यकर्मीहरुलाई सुरक्षित बनाउनु पर्‍थ्यो, समयमै सुरक्षाका सामानहरु उपलब्ध गराउनु पर्‍थ्यो, त्यसमा सरकार चुकेको छ। लकडाउन दुईवटा उदेश्यकोलागि गरिन्छ । पहिलो कुरा संक्रमणको साइकललाई ब्रेक गर्ने र अर्को तयारी गर्ने कुरा हो । तयारी गर्ने मामिलामा सरकार चुकेको छ । सुरक्षाका सामग्रीहरु भित्र्याउने, औषधी उपकरणको व्यवस्थापन गर्ने, स्वास्थ्यकर्मीहरुको तयारी तथा जनतालाई सचेत गराउने लगायतका काम लकडाउन अवधिभर गर्नुपर्‍थ्यो । तर, त्यसरी काम भएन ।

स्वास्थ्यकर्मीहरुलाई अस्पताल लगायत जोखिमका क्षेत्रमा काममा खटाउँदा रोटेशेनमा आलोपालो प्रणाालीमा खटाउनु पर्‍थ्यो । तर त्यसरी खटाइएन । एक दिन कति घण्टा ड्युटी लगाउने हो, त्यती समयमा आलोपालो सिस्टमबाट काममा लगाउनु पर्‍थ्यो । सरकारी क्षेत्र मात्र नभइ नीजि क्षेत्रमा पनि यसरी काममा लगाइएन ।

अर्को कुरा, सरकारले यो अवधिमा बैकल्पिक स्वास्थ्यकर्मीहरु तयार गर्नु पर्‍थ्यो । स्वास्थ्यकर्मीहरु संक्रमित भए पछि उनीहरुको ठाउँमा काम गर्ने गरी बैकल्पिक स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राख्नु पर्‍थ्यो, त्यो पनि भएन । स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन सरकारले कुनै काम गरेन । सरकारले स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने भनेको थियो, तर कसैलाई पनि जोखिम भत्ता दिएन । जो फिल्डमा जानुभएन, उहाँहरुले भने जोखिम भत्ता पाउनुभयो । 

स्वास्थ्यकर्मीहरु कसैले पनि जोखिम भत्ता पाएका छैनन त ?

अधिकांश स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाएको छैनन । फिल्डमा खटिएकाहरु कसैले पनि जोखिम भत्ता पाएका छैनन् । आइसोलेसन, क्वारेन्टाइन, अन्तराष्ट्रिय एयरपोर्टमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने भनेर निर्देशिकामा लेखिएको छ । तर उहाँहरुले जोखिम भत्ता पाउनु भएको छैन । नन रिस्क एरिया अर्थात ननकोभिड क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु पनि जोखिममा हुनुहुन्छ । सरकारले काँही पनि हेल्थपोष्टलाई जोखिम क्षेत्र भनेर छुट्टयाएको छैन । तर हेल्थपोष्ट पनि जोखिम क्षेत्र हो । हेल्थपोष्टमा काम गर्ने साथीहरुले जोखिम भत्ता पाउनु भएको छैन । 

अहिले देशभर कति संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित छन् ?  

सरकारी क्षेत्रमा काम गर्ने करिब ९ सय स्वास्थ्यकर्मीहरु संक्रमति हुनुहुन्छ ।

नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु कति संख्यामा संक्रमति छन ?

सरकारी निकायमा भन्दा नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको संख्या बढी छ । ३५ हजारको हाराहारीमा सरकारी क्षेत्रमा र त्यसको दोब्बर नीजि क्षेत्रमा स्वास्थ्यकर्मीहरु कार्यरत छन् । नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु झन मर्कामा पर्नु भएको छ । नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु जागिरीबाट निकालिएको अवस्था छ । बिराटनगर, जनकपुर, पोखरामा नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु सेवाबाट निकालिएका छन् । अहिले रोजगारी अवस्था दिने छैन, त्यसैले जागिरीबाट हटाएका छौ भनेर सूचना दिने काम भएको छ । काममा राखिएकालाई पनि थोरै तलब दिइएको छ । 

प्रसङ्ग बदलौ,  नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको हो ?

पहिलेकोभन्दा अवस्था झनै समस्याग्रस्त स्थितिमा छ । समुदायमा कोरोना संक्रमण पुगेको देखिन्छ । यद्यपि सरकारले यो घोषणा गरेको छैन । अहिले सबैभन्दा बढी संक्रमण प्रहरी फोर्समा देखिएको छ । यसैगरी स्वास्थ्यकर्मीहरु पनि अहिले सबैभन्दा बढी संक्रमित भएका छन् । 

कस्ता कस्ता व्यक्तिलाई कोरोना लागेको देखिन्छ ?

जस्ले नियम पालना गरेका छैनन, सामाजिक दुरी कायम गर्दैनन्, मास्क लगाउँदैनन्, हात धुने काम गर्दैनन्, जो जोखिम क्षेत्रमा बसेका छन्, उसलाई कोरोना संक्रमति हुने अवस्था देखिएको छ। 

कोहीले  त कोरोना केही पनि होइन भन्ने पनि गर्छन नि ?

कोहीले कोरोना केही पनि होइन भन्छन्, कोहीले कोरोना सबै थोक हो भन्छन् । अहिले दुबै किसिमको अतिवाद देखिन्छ । अर्को कुरा कोभिड १९को संक्रमण सुरु भए पछि सरकारले कोभिड बाहेक अरु विरामीको उपचार गर्न सेवा बन्द गर्‍यो । अहिले कोभिडबाट मृत्य भएका भन्दा पनि नन कोभिडबाट मृत्य भएकाहरु बढी छन् । सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने भनेको छ । वीर अस्पताललाई कोभिड अस्पताल बनाउने हो भने वीर अस्पतालमा एक दिनमा ३ हजारभन्दा बढी विरामी उपचार गर्न आउँछन, ती व्यक्तिहरु अब कहाँ जान्छन ? उनीहरुलाई कहाँ उपचार गर्न पठाउँने ? त्यसैले नेपाल सरकार एक पछि अर्को गरी चुक्दै गएको छ । 

एउटा कोठामा एउटा संक्रमित व्यक्ति बसेको छ, त्यहाँ अरु दुई तीन जना संक्रमति नभएका पनि बसेका छन्, एउटा फ्ल्याटमा संक्रमति र संक्रमित नभएका व्यक्ति सँगसँगै बसेका छन् । त्यस्तो अवस्थामा संक्रमित र संक्रमित नभएका व्यक्तिहलाई छुट्टाछुट्टै ठाउँमा राख्नुपर्छ । तर सरकारले यसरी छट्टाछुट्टै राखेको देखिन्न । त्यस्ता व्यक्तिहरुलाई आइसोलेसनमा राखेको देखिन्न । सरकारले कोभिड भएका र कोभिड नभएका व्यक्तिहरुलाई छुट्टयाएर अलग अलग ठाउँमा राख्न जरुरी छ । यसरी छुट्टयाउन नसके भयावह अवस्था आउन सक्छ । 

यसकोलागि पीसीआरको परिक्षण दायरा बढाउनु पर्‍यो, होइन ?

पीसीआर परिक्षणको दायरा बढाउनु पर्‍यो । तर परिक्षणको दायरा बढाएर मात्र हुँदैन रिपोर्ट आउन नै ४-५ दिन लाग्छ । तत्काल रिपोर्ट दिनु पर्‍यो । सरकार व्यवस्थापकीय पक्षमा चुकेको देखिन्छ । अहिले तीन तहका सरकार छन्, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार छन् । तर तीन तहका सरकारबीच समन्वय छैन । त्यती मात्र होइन, संघीय सरकार भित्रै पनि समन्वय भएको छैन । 

अबका दिनहरुमा कोरोनाको अवस्था झन भयावह हुने देखिन्छ कि नियन्त्रणमा आउने देखिन्छ, तपाईको अनुमान के छ ? 

भयावह हुन्छ भनेर अहिले नै नभनौ तर व्यवस्थापकीय पक्षमा सरकारले राम्रोसँग काम गरेन भने यो संंख्या अझै बढ्ने छ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार आपसमा समन्वय गरेर यसको व्यवस्थापन गर्न सके भने संक्रमणको संख्या घट्न सक्छ । तर अहिले उसले उसलाई देखाउने काम भएको छ । कर्मचारीहरुको मनोबल खस्काइएको छ । स्वास्थ्यकर्मीहरुको मनोबल खस्किएको छ । स्वास्थ्यकर्मीहरुको काम गर्ने मनस्थिति गिरेको अवस्था छ । केही स्वास्थ्यकर्मीहरुले महिनौसम्म तलब पाएको अवस्था छैन । 



नयाँ