arrow

ओली सरकारले हटायो लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र मातहतका ३८ जना कर्मचारी

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
PMO.JPG

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र मातहतका ३८ जना कर्मचारीको जागिर खोसेको छ। विगत ३० वर्ष देखि काम गर्दै आएका कर्मचारीहरु समेतको जागिर खोसेको हो। जागिर जानेहरुमा २० जना अस्थायी कर्मचारी र १८ जना करारका कर्मचारीहरु रहेको कर्मचारीहरुले बताएका छन्।

करारका कर्मचारी विगत १० वर्षदेखि समेत केन्द्रमा काम गर्दै आइरहेका छन् भने अस्थायी कर्मचारीहरु विगत ३० वर्षदेखि पनि काम गर्दै आएका छन्। उनीहरुले सरकारले अनावश्यक रुपमा जागिर खोसेको भन्दै आफुहरुलाई कुनै इन्सेन्टिभको व्यवस्था समेत नगरेको बताएका छन्। ‘दुई चार जनाको रिसरागले म्याद नथप्ने भएका हुन्’ जागिर खोसिएकी एक कर्मचारीले भनिन्, ‘हाकिमहरुले आवश्यकताको आधारमा मन्त्रालय मार्फत मन्त्री परिषदमा सिफारिस गर्नुपर्ने हो, त्यो गरिदिएनन्।’

गत भदौ ३ गते बसेको मन्त्रीपरिषद बैठकले केन्द्र अन्तरगत काम गर्दै आएका र असार मसान्तमा करार अवधि सकिएका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो। सोही निर्णयसँगै आफुहरुले जागिर गुमाउनु परेको गुनासो कर्मचारीहरुले गर्दै आएका छन्।

लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका प्रमुख पुष्पराज शाहीले आवश्यकताको आधारमा कर्मचारी राखिने बताए। सरकारले नयाँ संरचना बनाएकाले सो अनुसार अहिले केन्द्रमा कर्मचारीको सँख्या कम भएपनि काम चल्ने देखेरै सरकारले त्यस्तो निर्णय गरेको शाहीले बताए। ‘मन्त्रीपरिषदले निजामति कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। अब बाँकी दरबन्दी नभएकाले करार र अस्थायीको म्याद नथप्ने भन्ने कुरा हो’ शाहीले भने, ‘कामै नभएको अवस्थामा कर्मचारी राख्ने कुरा भएन। आवश्यकताको आधारमा मन्त्रीपरिषदले स्वीकृत गरेर राख्न चाह्यो भने हुन्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ