arrow

शैक्षिक संस्थाको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग विद्यार्थी संगठनहरुको माग

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
students-union1.jpg

काठमाडौं । विभिन्न राजनीतिक पार्टी निकट विद्यार्थी संगठनहरुले सरकारलाई स्वास्थ्य सतर्कता अपनाउँदै शैक्षिक संस्थाहरुको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग माग गरेका छन् ।

अखिल (क्रान्तिकारी) को आयोजनामा काठमाडौंमा मंगलबार सम्पन्न प्रतिपक्ष एवं सत्तापक्ष  संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सरकारलाई शैक्षिक संस्थाहरुको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न आग्रह गरेको छ  ।  

नेविसंघ अध्यक्ष राजिब ढुङ्गानाले कोरोना नियन्त्रणको लागि औषधि खरीद, क्वारेन्टिन र अन्य ब्यवस्थापनमा भएको अनियमितता र भ्रष्टाचारमा संलग्न लाई कार्वाही गर्नुपर्ने, पोखरा, नेपाल संस्कृत र कृषि तथा वन विश्व विद्यालय हरुमा तुरुन्ल खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्ने, सार्वजनिक यातायातमा गरिएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्नुपर्ने निर्णय गरिएको जानकारी दिए । 

कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै एक–दुई वर्ष रहने प्रक्षेपण गरिएको अवस्था स्मरण गराउँदै विद्यार्थी संगठनहरुले वैकल्पिक सिकाइ प्रभावकारी नभएको र शैक्षिक सत्र खेर जाने देखिएकोले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठन सञ्चालनको वातावरण तयार गर्न आग्रह गरेको नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए । 

उनले विद्यार्थी संगठनहरुको संयुक्त बैठकले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाएर तत्काल परीक्षा सञ्चालन गर्न पनि आग्रह गरेको जानकारी दिए ।

बैठकमा निजी विद्यालय र क्याम्पसहरुले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको दाबी गर्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारबाही गर्न पनि माग गरिएको छ ।

शिक्षा क्षेत्रमा देखिएका समस्याको पहिचान र निराकरणमा शिक्षामन्त्री उदासिन र गैह्रजिम्मेवार रहेको ठहर गर्दै सो सम्बन्धमा सम्पूर्ण बिषय उठान गरी शिक्षामन्त्रीलाई मागपत्र पेश गर्ने निर्णय पनि गरिएको पनि महामन्त्री तिमल्सिनाले जानकारी दिए ।

विद्यार्थीहरुले विभिन्न १० बुँदे मागसमेत राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ