arrow

खेलाडी तीन दिनदेखि आइसीयूमा, राज्य बेखवर

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
lalit-bhandari-accident.jpg

काठमाडौं । यतिबेला राजधानीको एक अस्पतालमा खेलाडी तीन दिनदेखि आइसीयूमा रहेका छन् । तर यसबारेमा राज्य बेखवर जस्तै भएको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारी राजधानीको ग्रान्डी अस्पतालमा उपचाररत रहेका हुन् । 

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका उनको गत सोमबार साँझदेखि ग्रान्डीको आइसीयू कक्षमा उपचार भइरहेको छ । 

उनीसँगै कुरुवा भएर उनकै पत्नी साथमा छिन् । त्यसबाहेक नेपाल क्रिकेट संघका पदाधिकारीहरु केहीले चासो राखेका छन् । 

त्यसबाहेक राष्ट्रिय टिमका खेलाडीहरुले साथ दिइरहेका छन् । राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का नियमित रुपमा सम्पर्कमा छन् । 

उनी नियमित जसो अस्पतालमै हुन्छन् । उनले भने, ‘हामी नियमित जसो नै यहाँ छौं । डाक्टरले सुधार भइरहेको भन्नुभएको छ । सोमबार भन्दा निकै बेटर भएको छ ।’ 

क्रिकेट खेलाडी संघ (सिप्यान) का महासचिवसमेत रहेका पारसले भने, ‘राम्रो सुधार भएपछिमात्र हात खुट्टाको अपरेशन गर्ने डाक्टरले भन्नुभएको छ ।’

गएको आइतबार साँझ धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटरसाइकल कञ्चनपुरको झलारीमा दुर्घटनामा परेको थियो ।

उनी गम्भीर घाइते भएका थिए । त्यसपछि काठमाडौं रिफर गर्नुपर्छ भनेपछि सोमबार हेलिकोप्टरबाट काठमाडौं ल्याइ ग्रान्डीमा उपचार भइरहेको हो । 

ललितको उपचारको खर्च नेपाल क्रिकेट संघ (क्यान०)  व्यहोर्ने बताएको छ । तर सरकारी स्तरबाट कुनै चासो देखाइएको छैन । 

एउटा राष्ट्रिय खेलाडीप्रति राज्यले देखाएको व्यवहार पक्कै पनि उचित छैन । हरेक राष्ट्रिय खेलाडीको जिम्मा राज्यले लिनुपर्छ । 

सरकारको मुख नताकेर खेलाडीहरु नै यसमा तात्तिएका छन् । सिप्यानले आर्थिक संकलन थालेको छ । सिप्यानले सेञ्चुरी कमर्सियल बैंकको ००१०००२५२९ ‘सीए’ खातामा सहयोग रकम जम्मा गर्न सकिने उल्लेख गरेको छ ।

एउटा खेलाडी बिरामी हुनासाथ यसरी आर्थिक रकम संकलन गर्नुपर्ने अवस्था आउनु पक्कै दुःखद भएको भन्दै क्रिकेटप्रेमीहरुले सरकारले यसको सम्वोधन गर्नुपर्ने समेत जनाएका छन् । 

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल भने मंगलबार अस्पताल पुगेर ललितको स्वास्थ्य अवस्था बुझेका थिए । उनले उपचारमा सघाउने बचन पनि दिएका छन् । 

तर राज्यले नै सम्पूर्ण खेलाडीहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने हो भने कसैले गएर आश्वासन वा बचन दिनुपर्ने आवश्यकता थिएन । 

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ट्वीटरमा सदस्यसचिव सिलवाललाई धन्यवाद दिएका छन् । उनले सदस्यसचिवको उदार सहयोग र प्रतिवद्धताप्रति आभार प्रकट गरेका छन् । अर्थात् एउटा खेलाडी गम्भीर बिरामी छ, उसलाई भेट्न जानेलाई यसरी आभार दिनुपर्ने थिएन । तर विडम्बना राज्यतहबाट चासो कम भएपछि यसरी जानेलाई कप्तानले धन्यवाद नदिइरहनै सकेनन् । 

यो विडम्बनाबाट मुक्त हुनु जरुरी छ । खेलाडी राष्ट्रका गहना हुन् भने उनीहरुको संरक्षण गर्ने कर्तव्य पनि राज्यकै हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ