arrow

कोरोनाको डरले आएनन् यात्रु, १५ प्रतिशत चले लामो दूरीका यातायात

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
buspark-counter-ticket.jpg

काठमाडौँ । मध्यम तथा लामो दूरीमा दिनभरमा बिहिबार झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् । मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो दिन कम सङ्ख्यामा मात्रै बस सञ्चालन भएका हुन् । 

कोभिड–१९ को रोकथामका लागि सरकारले पहिलो पटक गत चैतमा जारी गरेको बन्दाबन्दीदेखि सार्वजनिक सवारीसाधन ठप्प थिए । सरकारले गत असार र साउनमा एक जिल्लाभित्र मात्रै सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको थियो । 

सवारीधनी र मजदूरले बिहिबार बिहान विश्वकर्मा पूजा गरेर बस सञ्चालन गरेका थिए । पहिलो दिन भएकाले सडकमा यात्रु पनि कम सङ्ख्यामा निस्केको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । 

अधिकांश सवारीसाधन काठमाडौँ उपत्यका बाहिर भएकाले पनि बिहिबार कम मात्रै सञ्चालनमा आएको हो । कोभिड–१९ को त्रास भए पनि  आगामी दिनमा बिस्तारै सवारीसाधन र यात्रु बढ्ने उनको भनाइ छ । उनले भने, “अबका दिनमा दिन प्रतिदिन यात्रु बढ्ने छन् ।”

सरकारले अहिलेसम्म सार्वजनिक यातायातका लागि स्वास्थ्यसम्बन्धी कार्यबिधि बनाइसकेको छैन । लामो र मध्यम रुटमा बीचमा रोक्ने स्थान, खाजा र खाना खाने स्थानलगायतका कुरामा अझै स्पष्ट छैन । सबै चालक, सहचालक, यात्रुलाई यात्राका क्रममा स्वास्थ्य सावधानी अपनाउन महासङ्घले अनुरोध गरेको छ । चालक तथा सहचालक दुवैलाई माक्स, पञ्जा र सेनेटाइजर तथा सहचालकलाई फेस भाइजरको प्रयोग अनिवार्य गरिएको छ । 

त्यस्तै, महासङ्घले यात्रुलाई बस चढ्दा, ओर्लदा र खाना तथा खाजा खाने समयमा भीडभाड नगर्न अनुरोध गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा बिहिबारदेखि मध्यम र लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका हुन् । यातायात व्यवसायी र मजदूरका सङ्घ÷सङ्गठनले पटक–पटक सरकारलाई सबै रुटमा सवारीसाधन सञ्चालनको अनुमति दिन अनुरोध गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ