arrow

कुलमानले दुःख बिसाए– जीवनमा ठूलो भन्दा सानो कुराले चोट दिने रहेछ 

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
kulman-ghising-news.gif

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले चित्त दुखाएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा बिहीबार बेलुकी ट्वीट गर्दै लेखेका छन्, ‘जीवनमा ठूलो भन्दा सानो कुराले नै धेरै ‘चोट’ दिने रहेछ ! सायद... त्यही भएर होला ठूलो  ढुङ्गामा टेकेर अनि सानो ढुङ्गासंग तर्किएर हिड्ने गरेको  !’

त्यसको केही मिनेट अगाडि अगाडि लेखेका थिए, ‘म नेतृत्वमा आएपश्चात हाम्रो समूहले माफिया तर अन्यलाई लुट्न दिएनौं । दैनिक १४ घन्टा अन्धकारमय लोडसेडिङबाट उज्यालोतर्फ लग्दै लोडसेडिङ शून्यमा झार्ने काम भयो ।
आर्थिक वर्ष ६७–६८ सम्मको सञ्चित घाटा २७ अर्ब रुपैयाँ नोक्सानमा रहेको सँस्थालाई ४ वर्ष भित्रमा वार्षिक १० अर्ब नाफा बनाउन सफल भयौं ।’

कुलमान घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाउन दवाव छ । उनलाई यो सरकारले पुनर्नियुक्ति दिने विश्वास धेरैमा थियो । तर नदिएपछि भने जनआक्रोश बढ्दो छ । सिंहदरबारदेखि विभिन्न स्थानमा कुलमानलाई फेरि ल्याउनु पर्ने दवाव छ । 

उनको विदाई भए पश्चात एक मिनेटलाई बिजुली जाँदा पनि कुलमानलाई सम्झने धेरै छन् । उनले घाटाको प्राधिकरणलाई त्यतिधेरै नाफामा ल्याए । नेपालीलाई उज्यालो दिए । त्यो भन्दा बढी अपेक्षा सरकारले कोबाट गर्न सक्छ ? भनी उनलाई नै ल्याउनु पर्ने दवाव छ । 

यसै सम्बन्धमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले लेखेका थिए, ‘कुलमान विदाइमा आम अनुभूतिः १, देशमा आदर्श पात्रको यस्तो खडेरी छ कि कर्तव्य खरो निर्वाह गर्ने कुलमान देशको आदर्श बनेका छन् । २, भ्रष्ट आसेपासेलाई संरक्षण गर्ने सरकारले इमान्दार–सक्षम कुलमानलाई पुनर्नियुक्ति गरेन । ३, एकल जातीय बर्चस्व रहेको राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई पचाएन ।’

यसैबीच, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ । 

मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् । 

चापागाईंले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषदले घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरेका छन् । 
 
‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’, चापागाईंले भने, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’ 

चापागाईंले मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरिएको स्पष्ट गरे । 

गत भदौ २९ गते कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले औपचारिक बिदाईसमेत गरेको थियो । 

कुलमानलाई प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणमा ल्याएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ