arrow

कालीमाटीमा १० प्रतिशतले घट्यो प्याजको मूल्य, उपभोक्ता बजारमा अझै १ सय ३० रुपैयाँसम्म

एक महिनामा २९ करोडको प्याज आयात

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २ शुक्रबार
onion.jpg

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अनुगमन गर्न थालेपछि निरन्तर बढ्दो रहेको प्याजको मूल्य घट्न थालेको छ ।

बुधबार ग्राहक बनेर कालीमाटी फलफुल तथा तरकारी बजार पुग्दा आफैं ठगिएका मन्त्री भट्टले अनुगमन गरी कारवाहीलाई तिब्रता दिएपछि प्याजको मूल्य घट्न थालेको हो ।

कालीमाटी फलफुल तथा तरकारी बजारमा बुधबारको तुलनामा शुक्रबार प्याजको मूल्य करिब १० प्रतिशतले घटेको छ । बुधबार प्रतिकेजी प्याजको थोक मूल्य औषत १ सय १९ रुपैयाँका दरले रहेको थियो ।

मन्त्री भट्टले आफु समेत अनुगमनमा गई मातहतका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सक्रिय पारेपछि शुक्रबार प्याजको थोक मूल्य औषत १ सय ८ रुपैयाँ प्रतिकेजीका दरले कारोबार भइरहेको छ । सो अवधिमा कालीमाटी फलफुल तथा तरकारी बजारमा ९ दशमलव २४ प्रतिशतले प्याजको थोक मूल्यम गिरावट आएको कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिेल जानकारी दिएको छ ।
उपभोक्तालाई चर्कै
कालीमाटी फलफुल तथा तकारी बजारमा प्याजको थोक मूल्य घटेपनि त्यसको असर उपभोक्ता बजारमा देखिएको छैन ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले कालीमाटी बजारमा मूल्य घटेको देखिएपनि खुद्रामा अझै उपभोक्ताले १ सय ३० देखि १ सय ५० रुपैयाँ प्रतिकेजीसम्म खरिद गरिरहेका बताए । ‘कालीमाटीमा घटेर के हुन्छ भन्या’ तिमिल्सिनाले भने, ‘उपभोक्ताले अझैपनि १ सय ५० रुपैयाँ प्रतिकेजीसम्म खरिद गरिरहेका छन् ।’ डिल्लीबजार पिपलबोट निजकै रहेको एक तरकारी बजारमा शुक्रबार बिहान प्याजको खुद्रा मूल्य १ सय ३० रुपैयाँ प्रतिकेजी रहेको थियो । नेपालमा आयात हुने प्याजको शतप्रतिशत भारतबाटै आयात हुने गरेको छ ।

गत सोमबार देखि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा व्यवसायीले प्याजको कृत्रिम मूल्य वृद्धि सहीत प्याज लुकाउन थालेका थिए ।

त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट स्वयम अनुगमनमा निस्केका थिए । वाणिज्य विभागले समेत अनुगमन गर्दै कालाेबजारीमा संलग्नहरूलाइ जरिवाना गरिररहेकाे छ ।

२९ करोडको प्याज आयात

चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा २९ करोड रुपैयाँ बढी को प्याज आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा २९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको प्याज आयात भएको हो ।

उक्त परिणामको सबै प्याज भारतबाटै आयात भएको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्षको साउन महिनामा भएको प्याजको तुलनामा उक्त परिणाम न्युन भएको पनि भन्सार विभागले जानकारी दिएको छ ।

गत आर्थिक वर्षको साउनमा ४५ करोड १४ लाख रुपैयाँ बराबरको प्याज भारत र नामिवियाबाट आयात भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ