arrow

गणेशमान सिंहः त्याग, साहस र प्रेरणाका प्रतिमुर्ती

logo
शंकर भण्डारी,
प्रकाशित २०७७ असोज २ शुक्रबार
minister-shankar-bhandari.jpeg

जहाँनिया राणाशासनको अन्त्यदेखि २०४६ सालमा मुलुकमा प्रजातन्त्रको पुनःस्थापनासम्मको कठिन संघर्षमा मुलुकलाई नेतृत्व दिनु हुने नेपाली कांग्रेसका श्रद्धेय नेता गणेशमान सिंहले गर्नु भएको अतुलनिय त्याग, समर्पण र चामत्कारिक नेतृत्व आज उहाँको महाप्रस्थानको २३ औं पुण्य तिथिमा श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । 

काठमाडौंको उच्च काजी खानदानमा हुर्किएका गणेशमान सिंहले व्यक्तिगत सुख, सुविधाबाट आफुलाई टाढा राखेर देश, जनता र प्रजातन्त्रलाई आफ्नो जीवनको लक्ष्य बनाई गरेका योगदान इतिहासमा स्वर्णीम अक्षरले अंकित छन् । ज्यानको प्रवाह नगरी राणाशासनको विरुद्धमा होमिनु, भएका गणेशमान सिंहले भद्रगोल जेल तोडेर भाग्नु, नेपाली कांग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु, देशव्यापी सत्याग्रहको संयोजन, जनआन्दोलनको सर्वोच्च नेतृत्व लिनु आदिले उहाँको अदम्य साहस, समर्पण र प्रजातन्त्रप्रतिको निष्ठा झल्कन्छ । उहाँको त्याग र साहस सम्झेर ल्याउदा आङ्ग सिरिङ्ग भएर आउँछ । २०१७ मा प्रजातन्त्रको अपहरणपछि लामो समय जेलबाट नै बीपी, गणेशमानले आन्दोलनको नेतृत्व गर्नुभयो, जेलबाट छुटेपछि झन् वृहत उर्जाकासाथ नागरिक अधिकारका लागि पञ्चायतका विरुद्धमा ज्यानको बाजी लगाएर लड्नुभयो । विपीको देहावसानपछि २०४२ सालको सत्याग्रहको कुशल नेतृत्व उहाँले नै गर्नुभयो ।

२०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य गरि पूर्ण प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेस मात्र होइन देशभित्रका अन्य राजनीतिक शक्तिलाई पनि एकजुट बनाई अन्तर्राष्ट्रिय समर्थन समेत जुटाई आफ्नै निवासबाट जनआन्दोलनको उद्घोष गर्नुभयो । संयुक्त मोर्चाको निर्माण गरी देशमा संयुक्त आन्दोलन अघि बढाएर एक महत्वपूर्ण सन्देश, संस्कार र आदर्श प्रवाह गर्नुभयो । जनआन्दोलनको सर्वोच्च कमाण्डरका रुपमा रही निरंकुश पञ्चायतबाट जनताका हातमा अधिकार ल्याउनका लागि निर्णयक भूमिका निर्वाह गर्नुभयो । वास्तवमा नेपाली कांग्रेस र जननायक बीपी कोइरालाको जनतालाई अधिकार सम्पन्न बनाउने सपना साकार पार्ने कार्यभार उहाँको नेतृत्वमा पुरा भयो ।

ऐतिहासिक जनआन्दोलनका निर्विकल्प सर्वोच्च कमाण्डरलाई राजा विरेन्द्रले प्रधानमन्त्री पदका लागि अनुरोध गर्दा उहाँले संविधान निर्माण र निर्वाचन सम्पन्न गर्ने कार्यमा मेरा सहयात्री कृष्णप्रसाद भट्टराई उपयुक्त पात्र हुनुहुन्छ भनि उहाँको नाम सिफारिस गर्नु वास्तवमै इतिहासमा एक अकल्पनिय घटना हो तथा त्याग र उदार हृदयको सर्वोत्कृष्ठ उदाहरण हो । गणेशमान सिंह जनतालाई अधिकार दिलाउन आफ्नो सुविधा सम्पन्न जीवन त्याग गरि निरन्तर संघर्षमा लाग्नुभयो ।

जेल, नेल र झुठा मुद्धा एवं आन्दोलनका दौरान भोगेको यावत कठिनाई र प्रत्येक क्षण ज्यान जोखिममा राखेर कांग्रेसको स्थापनादेखि पार्टीलाई निरन्तर नेतृत्व दिंदै आएको व्यक्ति अभूतपूर्व राष्ट्रिय एकता कायम गरी आफ्नै नेतृत्वमा जनआन्दोलन सम्पन्न भएपछि प्रधानमन्त्री बन्न उहाँलाई सबैको सहयोग रहने मात्र होइन उहाँ त्यसको वास्तविक हकदार पनि हुनुहुन्थ्यो। तर, उक्त पदलाई अत्यन्त सौहार्दताका साथ आफ्ना सहयात्रीको जिम्मा लगाएर मुलुकको अभिभावकको रुपमा रहने चाहना इतिहासमा विरलै देखिन्छ। त्यस्तै त्याग सम्भवत भारतमा महात्मा गान्धीले गर्नुभएको थियो भन्ने गरिन्छ। त्यस्तो विशाल हृदय, त्याग र समर्पण गर्न सक्ने नेतृत्वबाट पोषित नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ताको शिर उहाँलाई सम्झदा श्रद्धाले निहुरिन्छ।

२०४६ को उपलब्धिलाई संस्थागत गर्न धेरै कठिनाई बाँकी नै थिए। राजसंस्था जसरी हुन्छ आफ्नो अधिकार कटौती नहोस् भन्ने चाहन्थ्यो । बाह्य शक्तिहरु नेपाल तरल अवस्थामा रहेको समयमा आफ्ना स्वार्थ सिद्ध गर्न क्रियाशिल थिए । बामपन्थीहरुको आफ्नै दाउ थियो, जनतामा अहिलेको जस्तो चेतनाको विकास भइसकेको थिएन । त्यस्तो विषम परिस्थितिमा गणेशमान सिंहको अभिभावकत्वमा देशले आन्दोलनबाट अभिव्यक्त भावना अनुसारको संविधान पायो, निष्पक्ष निर्वाचन सम्पन्न भयो । नेपाली कांग्रेसले बहुमत ल्याई सरकार पनि गठन गर्‍यो ।

सबै सुख, सुविधा त्याग गरेर जनताको अधिकार र देशको मुक्तिका लागि जीवनभर संघर्ष गर्ने, प्रधानमन्त्रीको पदपनि स्वेच्छाले सहकर्मीको हातमा दिई देशलाई कुशल अभिभावकत्व दिन सक्ने नेतृत्वलाई देशले सदासर्वदा सम्झने छ । उहाँजस्तो त्यागी र निडर नेताको अभावमा आज देश कमजोर बन्दै गएको छ । बाह्य हस्तक्षेप अस्वभाविक रुपमा बढेको छ । हामीले आफ्ना आधारभूत राष्ट्रिय पहिचान पनि विस्तारै गुमाउदै गएका छौ ।

गणेशमान सिंहको योगदान, निष्ठा, समर्पण र त्यागको गाथा जति गाए पनि अधुरै हुन्छ । त्यस्तो पार्टीका कार्यकर्ता हामी आज कता कता हराएका छौं । पदका लागि, आफ्ना व्यक्तिगत फाइदाका लागि गुट उपगुटमा विभाजित भएका छौं । लोकतान्त्रिक मूल्य मान्यताबाट धेरै टाढा पुगेका छौं । त्याग, समर्पण र आदर्शका प्रतिमूर्तिका रुपमा रहेका नेतालाई पनि पार्टीले सम्मान गर्न नसकेको, पार्टीबाट उहाँहरु अलग हुनु परेको, घात तथा अन्तर्घातको गहिरो घाउ समेत व्यहोर्नु परेको तितो यथार्थ पनि हाम्रा सामु छन् ।

नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, निष्ठा र विगतको नेतृत्वको त्यागलाई स्मरण गरेर अघि बढन सकेनौं भने देशमा लोकतन्त्रको संरक्षण हुने सम्भावना छैन । देश निरंकुशतातर्फ अगाडि बढेको छ । कम्युनिष्ट नेतृत्वको सरकारको बढ्दो भ्रष्टाचार र अराजकताले मुलुक अधिनायकवादतर्फ द्रुत गतिमा अघि बढेको प्रष्ट देखिन्छ। समयमा नै सचेत हुन सकेनौं भने उग्रवामपन्थी भड्खालोबाट मुलुकलाई प्रजातान्त्रिक धारमा फर्काउन देश र जनताले फेरि ठूलो मूल्य चुकाउनु पर्नेछ । 

अन्त्यमा, नेपाली कांग्रेसका आदर्श पुरुष, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर, लौहपुरुष स्वर्गिय गणेशमान सिंहको २३ औं स्मृति दिवसले सम्पूर्ण प्रजातन्त्र प्रेमीमा त्यागको भावको विकास गरोस् भन्ने कामना गर्दछु । देश र जनताको उत्थान तथा प्रजातन्त्रको सुदृढीकरणका लागि व्यक्तिगत स्वार्थ त्यागी सबै एकजुट भएर लाग्ने वातावरण बनेमा ती लौहपुरुषप्रति साँचो अर्थमा हाम्रो श्रद्धा व्यक्त भएको ठहरिनेछ । हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।
(भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभागका प्रमुख हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ