arrow

नारायणकाजीदेखि वामदेवसम्मको संसद प्रवेशले दूषित बनेको राजनीति

logo
मनोज कँडेल,
प्रकाशित २०७७ असोज ३ शनिबार
narayankaji-bamdev.jpg

जबसम्म राजनीति शुद्ध हुदैन राज्यको कुनै पनि क्षेत्रहरु शुद्ध हुन सक्दैन । विचमा कुनै कारणले खोला धमिलो भएको छ भने कुनै निश्चित ठाउमा पुगेपछि आफै संग्लिन्छ । कसैले सङ्गलाउनु पर्दैन । तर कुनै खोलाको मुहानबाट धमिलो पानी निस्कन्छ भने त्यो खोलाको पानी नत संग्लिन्छ नत संङ्गलाउन नै सकिन्छ किनकी त्यो खोलाको पानी नै धमिलो हो । 

राज्य संचालनको मुल राजनीति हो । जब मुल दुषित छ भने राज्यको कुनै पनि क्षेत्रहरु शुद्ध हुने सम्भावना हुनै सक्दैन । देशमा आज जुन उपलब्धी वा बेथिती छ यसको मुख्य स्रोत नेपालको राजनीतिज्ञ र दलहरु हुन । देशले राजनीतिक उपलब्धी त पायो तर उक्त उपलव्धी भित्र जकडिएको बेथितीलाई भने चिर्न सकेन । लाग्छ अबको आन्दोलन यदि जरुरी छ भने राजनीतिक शुद्धताको आन्दोलन हुन जरुरी छ । राजनीतिको शुद्धिकरण विना नत दिगो विकास हुन्छ नत आम जनताको संमृद्धीको सपना संम्भावना छ । 

आज नेपालमा कम्युनिष्टहरुले सत्ता सम्हाली रहेकाछन् । नेकपाको हिजोको इतिहास हेर्ने हो भने पनि दुईवटा कम्युनिष्ट समूहको मिलनबाट नेकपा डवल बनाईयो जसको एक समूहको मुख्य आर्दश माओबाद थियो र आज पनि नेकपाको रणनैतीक सिद्धान्त के हुने भन्ने निर्णय आउने महाधिबेशनमा गर्न बाँकी नै छ। 

चीनमा राजनितीक क्रान्तिको सफलता पश्चात पाटी, नेता तथा कार्यकर्ताहरुको संस्कार जुन पुरानो समाजबाट दिक्षित थियो समाज परिबर्तनको सबभन्दा बाधक रह्यो । माओले नयाँ राजनीतिक संस्कारको लागी सांस्कृतीक क्रान्ति नै गरे जुन विबादित पनि भयो । उक्त साँस्कृतीक क्रान्तिमा उनले क्रान्तिका आफ्नै सहकर्मीदेखी क्रान्तिमा ठूलो त्याग र बलिदान गरेका नेताहरुलाई सफायासम्म गरे । जुन निर्मम थियो र यसै निर्मम क्रान्तिले क्रान्तिबाट प्राप्त सत्ता र शक्तीको दुरुपयोग गर्ने, विलासितामा उन्मुक्त हुने, ब्यक्ती केन्द्रित लोभलालचको संस्कृतीलाई निमोठ्न सफल भएको थियो । 

क्रान्ति एउटा बहाव हो जसमा राम्रा, नराम्रा, विभिन्न स्वार्थ समुहहरुको सहभागिता हुन्छ र बहुमत व्यक्तिहरु व्यक्तिगत स्वार्थ पुर्तिको लागि सहभागी भएका हुन्छन् । यो बहावलाई उचित व्यवस्थापन गर्न नसक्ने हो भने यहि बहाबले पार्टी र क्रान्तिलाई तहसनहस गर्दछ । जसलाई कम्युनिष्टहरुले प्रतिक्रान्ति भन्ने गर्दछन् । आज जुन लक्षण नेपालको राजनीतिमा देखिएको छ स्पष्ट देखिन्छ । क्रान्तिका मुख्य नायकहरुको भुमिका नै प्रतिक्रान्तिको नायकको रुपमा देखिएको छ ।

चीनमा त्यही सांस्कृतीक क्रान्ति जसले राजनितीक क्रान्तिको उपलब्धिलाई जोगाउन सकेको थियो । आज चीनको विकासमा कम्युनिष्ट पार्टीको तानाशाहीमात्र होइन त्यो क्रान्तिको ठूलो हात रहेको छ । जसले राजनीति भित्रको दुषितपनलाई हटाएको थियो। यही प्रसंगमा जोड्न मनलाग्यो नेपालका इमान्दार राजनीतिज्ञ रुपचन्द विष्ट जो कम्यूनिष्ट थिए उनले भनेका थिए रे कम्युनिष्टहरु प्रदुषित भए भने सबभन्दा गनाउने हुनेछन् । कता कता आज उनको भविष्यबाणी सहि भएको देखिन्छ । 

राजनीतिमा शुद्धताको शुरुवात पार्टीका मुख्य नेताहरुबाट हुनु जरुरी छ । तर आज नेपालको संविधान ६ बर्षमा प्रबेश गर्दे गर्दा मुख्य नेताहरुले देखाएका व्यवहारहरु पूर्णत संविधान विरोधी देखिन्छ । नेताहरुको इतिहास हेर्दा लाग्छ उनीहरु जेलनेल बसेको, आफ्नो व्यक्तिगत स्वार्थ, सुखसयल त्यागेको देखिन्छ । उहाँहरुले हिजो नेपालको राजनितीक आन्दोलनमा आफुलाई एक आर्दश व्यक्तिको रुपमा उतारेको पनि देखिन्छ तर राजनितीक आन्दोलनको सफलतासँगै नेताहरुले नयाँ राजनितीक संस्कारलाई भने खरो उतार्न सकेको देखिएन ।

यहाँसम्मकी क्रान्तिका नायकहरु सत्ता र शक्तीमा यसरी मदहोस हुन पुगेकी हिजो सत्ता र शक्तीमा रमाएकाहरु भन्दा कुनै पनि भिन्न रुप र स्वरुप आम जनतामा प्रस्तुत गर्न सकेनन् । जसको कारण आज राजनीतिक आन्दोलनको सबै उपलब्धीहरु कागजमा सिमित हुन पुगे । देशमा नेता त ग्याल्ग्याल्ती जन्मिए तर एक महान नेता तथा युग युगसम्म जन्मने नेता एक जना पनि जन्मिएनन् । 

महान नेता बन्नको लागि पहिलो शर्त आफुप्रति नै निर्मम हुनु हो । राम्रो “म” लाई त्याग्नु हो । दोश्रो ति साथी, भाई, मित्र, सहयोगी जो विसंगती, विचलन, भ्रष्ट व्यवहार गर्दछन, प्रति निर्मम हुन अत्यन्त जरुरी हुन्छ । यसको जिम्मेदारी त्यही क्रान्तिका नायकका हातमा थियो र छ । तर यसलाई ति नेताहरुले नै आत्मसाथ नगरेको अबस्थामा समाजले फेरी अर्को क्रान्तिको माग गर्दछ । नेपालको राजनीति यही अन्यौलमा आज रुमलिएकोछ ।

नेताहरुले जहिले पनि संविधानको अक्षरस पालनाको कुरा गरेको सुनिन्छ तर संविधानको अक्षरका साथ भावनालाई पनि सँगै बुझ्नु र पालना गर्नु आबश्यक हुन्छ । यही भावनाको आत्मसाथ नै राजनीतिक संस्कारको विकासको पहिलो आधार हो । यो संविधानको पहिलो उपलब्धी हामीले समाबेशीतालाई मानेको छौं । तर समाबेशीतालाई भागबण्डाको रुपमा आत्मसाथ गरेको देखियो नकी समान अबसर । 

समाबेशीको मुल भावना समान अबसर हुनुपर्ने थियो नकी भागबण्डा । हामीले संविधानको व्यवस्था अनुसार जाती, धर्म, लिङ्गलाई प्रतिशतको आधारमा भागबण्डा त गरेऊ तर समाबेशीको भावनालाई आत्मासाथ गरेनौं जसले फलस्वरुप समाबेशीता “जस्को लाठी उस्को भैंस” भने जस्तो हुन पुग्यो । आज आमजनताले महसुस गरेको नारायणकाजीदेखी वामदेबसम्मको संसदमा भएको नियुक्ती यसको एक ज्वलन्त उदाहरण हो ।

के नेकपामा नारायणकाजी र वामदेब जती पार्टी र देशको लागि त्याग गरेका अरु कुनै नेता छैनन र ? के उहाँहरु जती क्षमतावान पनि अरु छैन र ? अनि के उहाँहरु विना देश नै चल्दैन थियो र ? के उहाँहरुले पार्टी चलाएर सांसदपदमा लोभ नदेखाएर उच्च राजनीतिक संस्कार देखाउनु नाजायज थियो र ? पक्कै पनि यी प्रश्नहरु इमान्दार कार्यक्रर्ताहरु र आम जनतामा उठ्ने एक गम्भिर प्रश्न हो । यो प्रश्न मात्र होइन पार्टीलाई केही मुख्य नेताहरुले उनीहरुको सम्पतीको रुपमा कब्जा गर्न खोजेको एक ज्वलन्त उदाहरण हो । 

यस घटनालाई सतहमा हेर्दा जती गम्भिर देखिदैन घोत्लिएर विश्लेषण गर्ने हो भने नेपालको राजनीतिको मुख्य समस्याको जड नै यसमा जोडिएकोछ । आजको नेताहरुमा पलाएको व्यक्तिगत विलासिता, लोभ, लालच, राजनितीक विचलनको गम्भिर लक्षण हो यो । कुनै पनि रोगको अनुशन्धान गर्न पहिले रोगको लक्षणलाई आधार मानिएको हुन्छ । त्यही लक्षणको आधारमा अनुशान्धान गरिन्छ र अनि उपचार गरिन्छ । हामीले रोगको लक्षणलाई बेवास्ता गर्ने हो भने रोगले गम्भिर रुपलिन्छ र अन्तत मुत्युको कारण बन्छ । 

तर विडम्बना ठिक यसको विपरित आज पद, सत्ता, शक्तीको आडमा ति मुख्य नेताहरुको भागबण्डा नपुराई, उनीहरुले नडकारी अन्य सहकर्मीको भाग नआउने अबस्थाको सिर्जना भयो । त्यो पनि जसरी पनि जुन उपायले पनि पहिला मलाई चाहियो । मलाई मात्र होइन मेरोलाई पनि चाहियो । म र मेराहरुको तृप्ती पछि मात्र समाज, देश, पार्टी र सहयात्री देख्ने यो चरित्र नै आजको देशको विकासको पहिलो बाधक हो । 

यो घटनालाई मैले एक सानो उदाहरणको रुपमा लिएकोमात्र हो । यस्त धेरै उदाहरणहरु छन जसले नेताहरुकै बैचारीक विचलन र भ्रष्ट आचरणहरु प्रष्टसँग देखिन्छ । जसको कारण देशले राजनीतिक रुपमा प्राप्त गरेको महान उपलब्धीहरुलाई समेत ओझेलमा पार्यो । यो अबस्थासँगै जोडिएको डरलाग्दो पक्ष कार्यक्रर्ताहरुको अदुदर्शिता पनि हो । कार्यक्रर्ताहरु यति बेइमान हुन पुगेकी सानो नियुक्ती, भागको लागि जसरी एक मुर्ख राजालाई कपडा सिलाउने दर्जीले सहर नै नाङ्गै घुमाएको थियो र अन्धसमर्थकले ताली पिटेर जय जयकार गरेका थिए त्यस्तै ति नेताहरुलाई जनताको सामु नाङ्गो बनाएका छन ।  

हामीले म र मेरो लाई त्याग्न नसक्ने, नेपालको राजनीतिक पार्टीमा देखिएको विसंगतीलाई चिर्न नसक्ने हो भने अबश्य देशमा न विकास न संमृद्धीको सिचाई हुन सक्छ । आठ दश बर्षको सक्रिय राजनीति पछि पुस्ता हस्तान्तरण गर्ने राजनीतिक संस्कार आम नेताहरुले देखाएर अगाडि बढ्नु आजको आवश्यकता हो । पार्टी र राजनीतिलाई व्यक्तिगत कम्पनीको रुपमा ठूलो लगानीको रुपमा हेर्ने र नमरुन्जेलसम्म पनि त्यसबाट कमाईखाने बाटो बनाउने यो कुसंस्कारलाई निर्ममतासाथ निमोठन नसक्ने हो भने देशको भविश्य अनिश्चित छ ।



नयाँ