- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आज जनताबाट गठित संविधानसभाबाट नेपालको संविधान जारी भएको पाँच वर्ष बितेको छ । नेपाली कांग्रेसले राणाशासनको अन्त्यसंगै परिकल्पना गरेको संविधानसभाबाट संविधान लेख्ने परिकल्पनाले २०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा नै पूर्णता प्राप्त गर्यो । जनताका प्रतिनिधिबाट संविधान लेख्नुको उद्देश्य मुलुकलाई एकताको सुत्रमा बाध्ने, देशको मौलिकताको संरक्षण एवं संवर्धन गर्दै समृद्धी हासिल गर्ने र अन्तर्राष्ट्रिय प्रतिष्ठा वृद्धी गर्नु हो ।
पहिलो संविधानसभाको निर्वाचन २०६४ ले आफ्नो कार्यभार पूरा गर्न सकेन र २०७० मा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसको नेतृत्वमा गठित सरकारले संविधान जारी गर्न सफल भयो । जनताको दशकौंदेखिको आफ्ना प्रतिनिधिबाट आफू अधिकार सम्पन्न हुने गरी संविधान जारी गर्ने सपना त साकार भयो तर जनअपेक्षा अनुसारको संविधान भने जारी हुन सकेन ।
२०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा म प्रत्यक्ष निर्वाचित भएर संविधान लेखन कार्यमा सक्रिय रहेको थिए । संविधान निर्माणको क्रममा सबै शक्तिको चित्त वुझाउने नाममा कतिपय अव्यवहारिक व्यवस्थाहरु समावेश हुने अवस्था रह्यो त्यसमा मैले निरन्तर फरक धारणा राख्दै आए । त्यसमा सबैभन्दा पेचिलो विषय हिन्दु धर्म की धर्म निरपेक्षता भन्ने थियो । नेपाल परापुर्वकालदेखि हिन्दु राष्ट्रको रुपमा रहदै आएको र यहाँका बहुसंख्यक जनता सनातन हिन्दु धर्मप्रति आस्थावान रहदै आएका छन् । अन्य अल्पसंख्यामा रहेका धर्म सम्प्रदायले पनि निर्वाध रुपमा आफ्ना धार्मिक, साँस्कृतिक तथा परम्परागत क्रियाकलापहरु गर्दै नेपाल धार्मिक सहिष्णुता र एकताका अनुपम उदाहरणको रुपमा विश्वमा स्थापित गराएका थिए । यस्तो अवस्थामा नेपालको मौलिक परम्परालाई भत्कन दिनु हुँदैन र हिन्दु राष्ट्र नै कायम हुनुपर्छ भन्ने मेरो निरन्तर अडान रहेको थियो ।
अन्तरिम संविधानको व्यवस्था अनुसार जनताको सुझाव संकलन गर्ने क्रममा पनि अत्याधिक बहुमतको धारणा हिन्दुराष्ट्र हुनुपर्छ भन्ने नै थियो । त्यस्तो अवस्थामा यात जनताको अभिमतलाई स्वीकार गरौं यात अन्तरिम संविधानको धारा १५७ बमोजिम जनतम संग्रहमा गएर मात्र धर्म जस्तो संवेदनशिल विषयको निचोडमा पुग्नु पर्छ भन्ने म लगायतका कतिपय साथीहरुको प्रष्ट धारणा रहेको थियो । संविधान निर्माणको क्रममा प्रस्तुत कैयन दस्तावेजहरुबाट मेरा यी धारणा, प्रयत्न र अडान प्रष्ट हुन्छन् । नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउने हो भने त्यो राष्ट्र, राष्ट्रियता र जनताको भावनामा गम्भिर खेलवाड हुन्छ त्यसैले मैले आफ्नो धारणा राखेर संविधानसभाबाट राजिनामा दिएर जनताको बिचमा जानुपर्छ भन्नेसम्मको तयारी गरेको थिए ।
तर, उक्त समयमा आदरणीय नेताहरुबाट संविधान परिवर्तनशिल हुन्छ, अहिले दोश्रो संविधानसभाबाट पनि संविधान जारी नभए मुलुक दुर्घटनामा जान्छ, सबैको धारणा समेटनु पर्ने हुँदा यो एक प्रकारको सहमतिको दस्ताबेज भएको भन्दै सम्झाउनु भयो । त्यसैले समय सन्दर्भ परिस्थिति र अनुकुलता अनुसार जनभावना मुखरित हुने गरी यो संविधान संसोधन गरौंला अहिले यसैलाई मानेर जाऔं भन्ने प्रस्ताव आएपछि मात्र मैले हिन्दुराष्ट्र कायम गर्नुपर्ने अडानलाई तत्कालको आवश्यकताको आधारमा मुलुकलाई सम्भावित दुर्घटनाबाट बचाउने दायित्वबोध गरी स्थगन गरेको स्मरण गराउँछु ।
नेपालमा करिब ८५ प्रतिशत हिन्दु रहेका छन् । उनीहरुको मात्र होइन यहाँका प्रायः सबै धर्म सम्प्रदायका मानिसहरु नेपाल हिन्दुराष्ट्र नै कायम हुनुपर्छ भन्नेमा एकमत छन् । संविधान निर्माणको क्रममा पनि जनताबाट त्यो मत अभिव्यक्त भएकै हो । २०६२/०६३ को आन्दोलनमा पनि धर्म निरपेक्षताको विषय कही कतै उठेकै थिएन । तर, कहाँबाट कुन स्वार्थले वा कसको अभिष्ट पूरा गर्न धर्मनिरपेक्षता राखियो त्यो समयक्रमले खुल्दै आएको छ । संविधानमा धर्मनिरपेक्षताको व्यवस्था भएपछि हिन्दु सनातन धर्ममाथिको अतिक्रमण बढ्दो छ । धर्म परिवर्तन तीव्र बनाउन विभिन्न गिरोह सक्रिय छन् । मठ, मन्दिर, परम्परा र पवित्र धार्मिकस्थलमा विभिन्न नाममा अतिक्रमण सुरु भएको छ । सन्त, महन्तहरु असुरक्षित र अपमानित हुने क्रम बढ्दो छ । धार्मिक बेमेल बढ्दै गएको छ । नेपालको राष्ट्रियता सनातन धर्म र परम्परासँग जोडिएकाले राष्ट्रियता कमजोर बनाउने विभिन्न उदण्डात्मक गतिविधि बढ्दै गएका छन् ।
नेपालको मौलिकता जोगाउन, राष्ट्र एवं राष्ट्रियतालाई मजबुद् बनाउन र देशमा शान्ति तथा स्थिरता कायम गर्न संविधान संसोधन गरि नेपाललाई हिन्दु राष्ट्र बनाउन अब बिलम्ब गर्नु हुदैन । जनताको भावना बमोजिमको संविधान मात्र दिगो हुन सक्छ । तत्काल विशेष परिस्थितिबाट मुलुकलाई बाहिर निकाल्न गरिएको त्यो अल्पकालिन व्यवस्था थियो र त्यसै बमोजिम म जस्ता बहुसंख्यक नेपाली जनताले उक्त संविधानको व्यवस्था स्वीकार गरेको विषय सबैलाई स्मरण गराउदै नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने गरी संविधान संसोधन गर्न जोडदार माग गर्दछु । यसले मात्र नेपालको हितलाई चिरकालसम्म सुनिश्चित गर्ने तथ्य पनि राख्न चाहन्छु । नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने गरी शिघ्र संविधान संसोधन गर्ने कार्यमा जनस्तरबाट दबाव बढाउदै लैजान पनि सम्पूर्ण राष्ट्रप्रेमी दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गर्दछु ।
(भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तरुण विभाग प्रमुख हुन् ।)