arrow

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ६ मंगलबार
NRA-office.jpg

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्ष थप गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपीशर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रीपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणमा महत्वपूर्ण कार्यहरु हुँदाहुँदै पनि कोभिड–१९ महामारीका कारण प्रभावित निजी आवास पुनर्निर्माण, धरहरा लगायतका महत्वपूर्ण संरचनाहरुको पुनर्निर्माण सम्पन्न गर्नेगरी समय थपको सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसमेत उपस्थित बैठकले गरेको सिफारिस अनुसार थपिएको समयावधिको करिब साढे ६ महिना अर्थात् २०७८ असार मसान्तसम्म प्राधिकरणले हाल गर्दै आएका कामहरु गर्नेछ ।

बाँकी अवधि अर्थात् ५ महिना १० दिन लेखा परीक्षण, फरफारक र सरकारका विभिन्न निकाय तथा स्थानीय तहलाई बाँकी रहेका कार्यजिम्मेवारीका साथै पुनर्निर्माणका दस्तावेजहरु हस्तान्तरण गर्ने प्राधिकरणले जानकारी दिएको छ ।

समितिको निर्णयअनुसार चालु आर्थिक बर्ष २०७७÷७८ मा निजी आवाससम्बन्धी सम्पूर्ण कार्यहरु सम्पन्न गर्नेगरी निजी आवास पुनर्निर्माण लाभग्राहीले प्राप्त गर्ने अनुदानको समयसीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले तय गर्नेछ ।

यसअघि प्राधिकरणको कार्यावधि आगामी २०७७ पौष १० गतेसम्म रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ