जफत गरेको प्याज सरकारले बिक्री गर्दै, आधा सस्तोमा थापाथलीबाट प्रतिव्यक्ति ३ केजी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ७ बुधबार
332
Shares
काठमाडौं । भारतले प्याज निर्यातमा कडाई गरेसँगै नेपालमा कालोबजारी गर्नेहरुबाट जफत गरेको प्याज सरकारले बिक्री गर्ने भएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा जफल गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बिक्री वितरण गर्ने भएको हो ।
विभागले अनुगमनका क्रममा काठमाडौंको कालीमाटी फलफुल तथा तरकारी बजार र बल्खु तरकारी बजारबाट जफत गरेको १२ हजार किलोग्राम प्याज कम्पनीले बिहीबार देखि बिक्री वितरण गर्ने कम्पनीका नायब महाप्रन्धक श्रीमणि खनालले जानकारी दिए । ‘विभागले आज हस्तान्तरण गर्छ होला’ खनालले बुधबार हाम्राकुरासँग भने, ‘आज साँझ भोली देखि बिक्री वितरण गर्छौं होला ।’
उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदामबाट बिक्री वितरण गरिने प्याजको मूल्य ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिकेजी ५२ रुपैयाँका दरले कम्पनीलाई उपलब्ध गराउन लागेको छ ।
कम्पनीले बिक्री गर्न लागेको प्याजको उक्त मूल्य बजार मूल्य भन्दा करिब आधाले सस्तो हो ।
काठमाडौंको मूख्य तरकारी बजार कालीमाटी फलफुल तथा तरकारी बजारमा बुधबार प्याजको थोक मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ रहेको छ । उक्त तुलनामा कम्पनीले बिक्री गर्न लागेकाे प्याज करिब आधाले सस्तो हो ।
थापाथली गोदामबाट बिक्री वितरण गर्न लागेको प्याजमा कोटा निर्धारण गरिएको छ ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध गरेपछि नेपालमा प्याजको आपूर्ति न्युन भएकाले सकेसम्म बढी भन्दा बढी उपभोक्तामा प्याज पु¥याउने उद्येश्यले प्रतिव्यक्ति ३ किलोग्रामका दरले मात्रै प्याज बिक्री गरिने भएको हो ।
यसअघि असोज पहिलो सातादेखि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको कृत्रिम आव सिर्जना गरि कालोबजारी मौलाएको थियो ।
बजारमा प्याजको कालोबजारी भइरहेको गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका कालीमाटी, बल्खु, तीनकुने लगायतका तरकारी बजारमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा कालोबजारी गर्नेहरुबाट करिब १२ हजार किलोग्राम प्याज जफत गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रबिन्द्र आचार्यले जानकारी दिए । ‘१२ हजार किलोग्राम प्याज हो’ आचार्यले भने, ‘हामीले ५२ रुपैयाँ प्रतिकिलोग्रामका हिसावले कम्पनीलाई उपलब्ध गराएका छौं । कम्पनीले आफ्नो हिसावले बिक्री गर्ला ।’
कम्पनीले अत्यधिक २० प्रतिशत नाफा राखेर बिक्री गर्नुपर्ने आचार्यको भनाई थियो ।