- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । नेपाली कांग्रेसका नेता एवम् ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य शंकर गिरीले प्रदेश पूर्वाधार विकास प्राधिकरण विधेयकले संसदीय जनतन्त्रको उपहास गरेको टिप्पणी गरेका छन्। उनले कार्यकर्ता पोस्ने नियतले प्राधिकरण गठन गरिएको जिकिर गरे ।
प्रदेश पूर्वाधार विकास प्राधिकरण स्थापना र सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै प्रदेश सभा सदस्य गिरीले मन्त्री, मन्त्रालय र विकासे अड्डालाई अविश्वास गर्दै संसदीय जनतन्त्रमाथि प्रहार भएको टिप्पणी गरे ।
"राजा महेन्द्र यही प्रवृत्तिका थिए, राजा ज्ञानेन्द्रले यही प्रबृत्ति अपनाए, यदि उनीहरुको पथमा हिंडने हो भने हामीले किन हिजो त्यत्रो आन्दोलन गरेको, व्यवस्था परिवर्तन गर्नुपरेको," गिरीले भने-"यो संस्थागत मूल्य मान्यता माथिको प्रहार हो, संसदीय व्यवस्थामाथिको विश्वासघात हो, लोकतन्त्रमाथिको अपमान हो ।"
सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य रमा अर्याल र तारा जिसीले यो विधेयकलाई कार्यसूचीबाट हटाउन माग गर्नुभएको थियो । प्रदेशसभा सदस्यहरुले उठाएका विषयहरुको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले विगतमा भएका अभ्यासहरुकै आधारमा प्राधिकरण स्थापना र सञ्चालन विधेयक ल्याइएकाले अनावश्यक शंका र टिप्पणी नगर्न आग्रह गरे ।
प्रदेश विकासको तीब्र आकांक्षालाई सम्बोधन गर्न प्राधिकरणको धारणा अघि बढाइएको मुख्यमन्त्री पोखरेलको तर्क थियो ।