arrow

मलमासमा पति पत्नीसँगै बस्न हुँदैन, यस्तो छ कारण 

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असोज ८ बिहिबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ आश्विन ८ गते बिहीबार, इस्वीसंवत सेप्टेम्बर २४ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिक आश्विनशुक्ल पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज अधिक आश्विनशुक्लको अष्टमी तिथि रहनेछ । आज मूल नक्षत्र, विष्कुम्भादि योगमा आयुष्मान, करणमा भद्रा, आनन्दादि योगमा धूम्र रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३० घटि ६ पलाको रहनेछ । 

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रही बिहान ठीक ५ बजेर ५३ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ५६ मिनेटमा हुनेछ । 
मलमास चलिरहेकाले धार्मिक कर्म, नयाँ र महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला । यदि तपाइँ नवविवाहित महिला हो भने यो मलमास बार्नै पर्दछ । साथै हालसम्म एक पटक पनि मलमास नबारेमा महिलाले पनि आफ्नो कर्मघर छोड्नै पर्छ भन्ने मान्यता छ । 

यो मलमासमा श्रीमान श्रीमती संगै बस्न नहुने र संगै बसेर कुनै जाय जन्म अर्थात सन्तान जन्मिएमा उक्त सन्तान रोगी हुने र आयु पनि छोटो हुने समुद्रशास्त्रमा उल्लेख छ । 

आजको राशिफल
मेषः
आज व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादीहरू हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा परिनेछ । प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ । 

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः आज समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहँुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दूरीको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिर्नुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । 

मिथुनः आज पनि समय निकै महत्वपूर्ण छ । आफन्त तथा मावलि पक्षको सहयोग पाईने हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिष्पर्धीहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेकोछ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।  

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । 

कर्कटः आज समय राम्रै छ । विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई क्याच गरी मनग्य आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचे जस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुशियाली छाउनेछ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । 

सिंहः आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महसुस हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । 
कन्याः आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुःखी बनाउनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुलाः आज पनि समय शुभ छ । अध्ययनमा अभिरुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिनेहरुले प्रशस्त नाफा कमाउँन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनालेबो लेरै राम्रा कामहरु गर्न सकिनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । 

वृश्चिकः समय राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोसिस गर्दा गर्दै नसकिने हँुदा आलोचनाको सिकार हुने योग रहेकोछ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा खटपट हुने योग रहेकोछ ।
 
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै भगवान विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी महानुभावहरुले यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । 

धनुः आज समय निकै राम्रो छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । बुबा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता समल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ ।

मकरः आज समय भरपर्दोे रहनेछैन । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पति पत्नीबीच घरायसी कुरामा विवाद सृजना हुनेछ । गोप्य सूचनाहरु बहिरिने हुदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।
मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । 
कुम्भः आज समय भरपर्दो रहने छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाँफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजीमूलक कामबाट भनेजस्तो नतिजा ल्याउँन सकिने हुनाले मन प्रशन्न हुनेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । 

मीनः आज समय मध्यम छ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईको काममा सहयोग हुनेछैन । वौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ ।

साइतः आज चन्द्रमा धनु राशिमा छन् त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः५३ बजेदेखि         ७ः२३ बजेसम्म        शुभ बेला
बिहान ७ः२३ बजेदेखि         ८ः५३ बजेसम्म        रोग बेला
बिहान ८ः५३ बजेदेखि         १०ः२३ बजेसम्म        उद्धेग बेला
बिहान १०ः२३ बजेदेखि        ११ः५३ बजेसम्म        चर बेला
बिहान ११ः५३ बजेदेखि        १ः२३ बजेसम्म        लाभ बेला
दिनमा १ः२३ बजेदेखि         २ः५३ बजेसम्म        अमृत बेला
दिउँसो २ः५३ बजेदेखि          ४ः२३ बजेसम्म        काल बेला
दिउँसो ४ः२३ बजेदेखि           ५ः५३ बजेसम्म        शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ