arrow

दुई पाङ्ग्रे सवारी: दशैं तिहार लक्षित अफरको होडबाजी, यस्ता छन् अफर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ८ बिहिबार
two-wheelear-bike.jpg

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गत चैत देखि गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण करिब करिब कारोबार बन्द रहेको अटो व्यवसायमा अहिले अफर सार्वजनिक गर्ने होडबाजी चलेको छ ।

हिन्दुहरुको महान चाड दशैं र तिहारमा बढ्ने सम्भावित बिक्रीलाई मध्येनजर गर्दै अटो व्यवसायीले धमाधम अफर सार्वजनिक गरिरहेका हुन् ।

कोरोना महामारीको नियन्त्रणकै लागि गरिएको निषेधाज्ञाका कारण यस वर्ष नाडा अटोशो पनि हुन नसकेको अवस्थामा दशैं तिहार लक्षित अफरहरुले सवारी साधनको कारोबार बढ्ने आपेक्षा अटो व्यवसायीले गरेका छन् ।

उसो त नेपाल सरकारले गत असोज १ गते देखि लामो दुरीका यातायातका साधन लगायत सबै किसिमका व्यवसाय खुला गरेपछि अटो मोबाइलको व्यापारमा ४० प्रतिशतले सुधार भएको व्यवसायी बताउँछन् ।

होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङका विजनेश डेभ्लपमेन्ट म्यानेजर निजेनलाल श्रेष्ठले सम्पूर्ण व्यापार व्यवसाय खुलेपछि अहिले करिब करिब ४० प्रतिशतले कारोबार बढेको बताए । ‘अहिले खुला भएपछि करिब करिब ४० प्रतिशतले नै व्यापार बढेको छ’ श्रेष्ठले हाम्राकुरासँग भने, ‘यो व्यवसायीहरुका स्किमहरुले हो कि, मान्छेहरुको आवश्यकताले बढेको हो भन्न सक्ने स्थिति छैन ।’

स्याकार ट्रेडिङले दशैं तिहारलाई केन्द्रित गर्दै अफर सार्वजनिक गरिसकेको छैन ।

तर, चैत देखि गरिएको लकडाउन असारमा खुला गरेसँगै होण्डाले ल्याएको ‘१ रुपैयाँ अफर’ भने कायमै छ ।

उक्त अफर अन्तरगत १ रुपैयाँ डाउनपेमेन्टमा मोटरसाइकल खरिद गर्न सक्ने र १ प्रतिशत ब्याजदर लाग्ने स्याकारले जानकारी दिएको छ ।

पछिल्लो समय मोटरसाइकल लगायतका अटो मोबाइलको कारोबारमा सुधार आएपनि आयात खुम्चिएको श्रेष्ठको भनाई थियो ।

यस्ता छन् अफर

होण्डाको एक रुपैयाँ अफर:

 होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङले दशैं तिहार अफर सार्वजनिक गर्ने तयारी गरेको छ । असारमा लकडाउन खुला भएसँगै ल्याइएको १ रुपैयाँ अफर अहिले पनि कायमै छ ।

उक्त अफर अन्तरगत ग्राहकले १ रुपैयाँ डाउनपेमेन्ट गरी १ प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्न सक्ने छन् ।

बजाजको ‘रोजेरै खुसी’:

बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दशैं तिहार लक्षित ‘खुसी खोज्ने होइन रोज्ने’ नारासहित ‘रोजेरै खुसी’ अफर ल्याएको छ ।

उक्त अफर अन्तरगत ग्राहकले बजाजको नयाँ मोटरसाइकल खरिदमा  १० हजार रुपैयाँको नगद छुट पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै ५० प्रतिशत डाउन पेमेन्टमा ब्याज नलाग्ने र २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको सुविधा लगायतका ३ वटा अफरमध्ये ग्राहकले एउटा अफर छनौट गर्न पाउने कम्पनीको भनाई छ ।

हिराेकाे ‘दशैंको पर्व हिरोत्सवको हर्ष’:

नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘दशैंको पर्व हिरोत्सवको हर्ष’ अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तरगत मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले ५ हजार नगद छुट पाउने कम्पनीले जानकारी दिएको छ ।

लक्की ड्र र स्क्र्याच कार्डमार्फत क्रमशः एक– एक लाखसम्म नगद पाउने सक्ने सुविधा रहेको कम्पनीको भनाई छ ।

टिभिएसको ‘टिभिएस दसैंको आशा’

नेपालका लागि टिभिएस टु–ह्विलर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले दशैं तिहारलाई लक्षित गर्दै ‘टिभिएस दशैंको आशा’ अफर ल्याएको छ ।

उक्त अफर अन्तरगत नगदसँगै पुरस्कार दिइने जगदम्बाले जानकारी दिएको छ ।

उक्त अफर अन्तर्गत मोटरसाइकलको खरिदमा ९ हजार रुपैयाँ र स्कुटरमा ७ हजार नगद छुट दिने जानकारी गराएको छ ।

मोटरसाइकल वा स्कुटरको खरिदमा ब्याजदर नलाग्ने सुविधा छनौट गर्न सक्ने विकल्प पनि ग्राहकलाई दिएको छ ।

यामाहाको ब्याजरहीत फाइनान्स:

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत फाइनान्स स्किम ल्याएको छ ।

गत असारमै ल्याएको उक्त स्किम अनुसार ग्राहकले ३ वर्ष अवधिका लागि बिना डाउनपेमेन्ट बिना ब्याज यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ