arrow

मलमासमा श्रीमान–श्रीमतीको सम्पर्कले बच्चा जन्मिए के हुन्छ ? 

धार्मिक कर्म, नयाँ र महत्वपूर्ण कामको थालनी नगर्नु वेश 

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असोज ९ शुक्रबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ आश्विन ९ गते शुक्रबार, इस्वीसंवत सेप्टेम्बर २५ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिक आश्विनशुक्ल पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज अधिक आश्विनशुक्लको नवमी तिथि रहनेछ । आज पूर्वषाढा नक्षत्र, विष्कुम्भादि योगमा शोभन, करणमा बालब, आनन्दादि योगमा प्रवद्र्ध्र रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३० घटि ६ पलाको रहनेछ । 

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५३ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ५५ मिनेटमा हुनेछ । 

मलमास चलिरहेकाले धार्मिक कर्म, नयाँ र महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला । यदि तपाइँ नवविवाहित महिला हो भने यो मलमास बार्नै पर्दछ । साथै हालसम्म एक पटक पनि मलमास नबारेमा महिलाले पनि आफ्नो कर्मघर छोड्नै पर्छ भन्ने मान्यता छ । यो मलमासमा श्रीमान श्रीमती संगै बस्न नहुने र संगै बसेर कुनै जाय जन्म अर्थात् सन्तान जन्मिएमा उक्त सन्तान रोगी हुने र आयु पनि छोटो हुने समुद्रशास्त्रमा उल्लेख छ । 

आजको राशिफल
मेषः
आजको दिन संघर्ष पर्ने खालको देखिएको छ । सोँचेजस्तो सजिलोसँग कामकार्य सम्पादन गर्न गार्हो पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता पर्न सक्ने सम्भावना बढी रहेकोले आहारविहारमा ख्याल पुर्याउनु जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुन सक्ने तथा काम बिग्रन सक्ने भय छ । हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । ग्रहको प्रतिकूल प्रभावलाई निवारणको लागि आज तपाईँले माँ इन्द्रायणीको श्रद्धाभक्तिको उपाय अवलम्बन गर्नु सुखप्रद हुनेछ भने आठ अङ्क, रातो एवं पहेंलो रङ्गको प्रयोग शुभकर हुनेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः आजको दिन स्थिति ठिकै रहे पनि घमण्डले मानसिक पछुतो पर्न सक्ने छ । आत्मप्रशंसाको आशक्तिको मनोविज्ञानले व्यक्तित्वमा ह्रास आउने छ भने अनावश्यक फुर्तिफार्ति हुनसक्ने सम्भावना देखिएको छ । व्यवहारमा गम्भीर भएर अघि बढ्मा मात्रै केही उपलब्धि हात पार्न सकिएला अन्यथा मानसिक पश्चातापमा पर्न सकिन्छ । भएर पनि नभएजस्तो अर्थात सह नहरहे जस्तो महसूस गराउने ग्रहगोचर परेको छ । सात्विक मानसिक दृढता बढाउनु उपयुक्त हुनेछ । आज तपाईँले भगवान विष्णुको पूजा आराधना गर्नु उपयुक्त हुनेछ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिर्नुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । 

मिथुनः आजको दिन पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन हुने दिन रहेको छ । प्रतिष्प्रर्धाजन्य कार्यमा सफलता मिल्ने छ । दैनिक कामकार्यको पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा विशेष रुचि बढ्ने छ । महत्वपूर्ण कार्ययोजना अगाडि बढाउन सकिने छ । आफन्तसँग भेटघाट हुने र केही हदसम्म सहयोग पनि पाइने छ । व्यवसायिक क्षेत्रबाट लाभ पनि गर्न सकिने छ । मुख्य एवम् महत्वपूर्ण काममा साथ र सहयोग पनि प्राप्त गर्न सकिने छ । आज तपाईले अंक ३, हरियो रङ्गको प्रयोगको साथमा इष्टदेवको पूजा आराधना बढाउनु शुभदायक हुनेछ ।  

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । 

कर्कटः आजको दिन सकारात्मक देखिएको छ । पेशा तथा कार्यक्षेत्रमा व्यस्तता बढ्ने र धन–सम्पत्तिको सञ्चय हुनजाने छ । केही मनोकामना पूरा हुनेछन् । घर परिवार वा कूलभित्र कुनै माङ्गलिक कार्य सम्पादन हुनसक्ने एवम् नाता सम्बन्ध तथा सम्पर्क बढ्ने सम्भावना देखिएको छ । सांसारिक पुरुषार्थ हुने हुनाले सन्तोष एवम् उत्साहकर दिन परेको छ, समयको सदुपयोग गर्नुहोला । आज यहाँको वाणीमा माधुर्यताको प्रभाव बढ्ने योग परेकोले गायक, प्रवचक आदि वाकवृति हुनेहरुका लागि दिन विशेष अनुकूलप्रद रहनसक्ने छ । अन्यक्षेत्रका व्यक्तित्वहरुका लागि पनि लाभ एवम् सफलता नै मिल्ने छ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । 

सिंहः आजको दिन संघर्षकारक छ, खर्च बढ्ने तथा कार्यमा नजानिने गरी अबरोध आउन सक्नेछ् भने स्वजनबाटै विश्वासघात हुने सम्भावनालाई पनि नकार्न सकिन्न । कार्यक्षेत्रमा पनि अवमूल्यन जस्ता प्रतिकूलता पर्न सक्छ, विचलित नभए अन्तमा सफलता पनि मिल्नेछ । मान प्रतिष्ठामा ह्रास जस्ता प्रतिकूलताको सामना गर्नपर्ने भएकोले साहस र धैर्यता बढाउनु होला । स्वकर्ममा सकारात्मक चिन्तनका साथमा सद्प्रयासरत रहनाले केही लाभ भने गर्न सकिनेछ । अनावश्यक घुमफिरमा मन नदिएकै राम्रो हुनेछ । सैद्धान्तिक विचलन आउन नदिनु बुद्धिमानी हुनेछ ।
सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । 
कन्याः आजको दिन काममा अवरोध आउन सक्ने वा आरोप खेप्नुपर्ने हुन सक्नेछ । पारिवार एवं इष्टमित्रसँग विचारान्तर हुँदैमा हिम्मत नहारेर बुद्धिले काम लिनु आज यहाँका लागि बुद्धिमानी हुनेछ । मनमा केही संकोचित विचार बढ्नाले संसर्गीहरुसँग विवाद हुन सक्ने गोचरीय भय देखिएको हुनाले केही सावधानी एवम् संयम गर्नु मनासिव हुनेछ । अड्चनको सामना गर्दै भए पनि सकारात्मक दृढताको विकास गर्दै अघि बढेमा केही सफलता तथा पेशागत क्षेत्रबाट लाभ हातपार्न सकिने छ । आज यहाँका लागि आमाको सेवा सत्कार गरी आशिर्वाद लिनु शुभकर हुनेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुलाः आजको दिन उच्च वर्ग तथा पदस्थ व्यक्तित्वसँग संपर्कविस्तार हुने र सौहार्द वातावरणको निर्माण हुने गोचर परेको छ । पेशा एवं व्यवसायबाट आशातित लाभ गर्न सकिने हुनाले भावी कार्यमा आत्मबल बढ्ने र सन्तुष्टि मिल्ने देखिन्छ । वरिष्ठ पद एवं जिम्मेवारी मिल्ने गोचर परेकोले राजनीति एवं समाजसेवामा पदप्रतिष्ठा थपिने छ । राम्रो तवरबाट लौकिक प्रख्याति बढ्न जाने छ । उत्तम समय रहेकोले अवसरको सदुपयोग गर्न जानेमा दीर्घकार्यको शुरुवात हुन सक्नेछ । राज्यबाट लाभ उठाउन सकिने छ भने उद्यमको विकास पनि हुनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । 

वृश्चिकः आज पनि समय भरोषाको छैन । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । आज सकभर पश्चिम दिशाको यात्रा नगर्नुहोला । यदि गर्ने पर्ने बाध्यता छ भने धार्मिक उपाय अपनाउनुहोला ।
 
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै भगवान विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी महानुभावहरुले यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । 

धनुः आजको दिन व्यवसायिक प्रगति हुन गइ राम्रो मात्रामा धनार्जन हुने एवं सन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय मिल्ने छ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग परेको छ । व्यापारीलाई यथेष्ट लाभ हुनसक्ने छ भने उद्यमको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुन गइ यथेष्ट आत्मबल बढ्ने छ । आँट र साहसले कार्य संपादन गर्न सकिने छ । अनुहारमा कान्ति बढ्ने तथा मान्छेहरु आकर्षित हुनेछन् । मनोरम स्थानको यात्रा हुने र प्रेमीबाट प्रेमसुख प्राप्त हुनेछ । गौरवानुभूति हुने दिन छ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता समल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ ।

मकरः समय शुभ छैन, स्वास्थ्यमा समस्या आउन सक्छ । । चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जा“च गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । मलमास अवधिभर धार्मिक कार्य गर्नु पनि शुभ हुँदैन । आज सकभर यात्रा र आर्थिक कोरोबारको काम नगर्नुहोला । कसैसंग बादविवाद गर्ने काम पनि आज ठीक छैन । 

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । 

कुम्भः आजको दिन गोचर ग्रह अनुकूल छ । ईज्जत तथा मान प्रतिष्ठामा विकास हुनेछ । मनोनुकूल वातावरण सृजना हुनाले मनोरञ्जन एवम् खुशीयाली बढ्ने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्न सक्ने छ । इष्टमित्रको आगमन हुने र सौगात तथा उपहार मिल्न सक्ने सम्भावना पनि रहेको छ । नयाँ काममा लगानी वा शेयर आदि कारोबारको अवसर मिल्न सक्ने छ । पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान श्रीहरिको सेवाश्रद्धा तथा दर्शनभक्तिले अरु थप हित गर्ने छ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । 

मीनः आजको दिन केही बाधा अबरोधको बाबजुत पनि आमोद–प्रमोदका क्रियाकलाप बृद्धि हुने तथा विपरित लिङ्गी तर्फको आकर्षण बढ्ने छ । केहीहदसम्म व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्न सकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्ने तथा रमाइलो स्थानको यात्रा पनि हुनसक्ने देखिन्छ । विवाह तथा प्रेमको लागि आउने प्रस्ताव माथि भने अल्लि चनाखो हुन जरुरी देखिन्छ । आज १ अङ्क, रातो रङ्गको प्रयोग र भगवान श्रीहरिको सेवाश्रद्धा तथा दर्शनभक्तिले अरु थप हित गर्ने छ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ ।

साइतः आज चन्द्रमा धनु राशिमा छन् त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 

बिहान ५ः५४ बजेदेखि         ७ः२४ बजेसम्म        चर बेला
बिहान ७ः२४ बजेदेखि         ८ः५४ बजेसम्म        लाभ बेला
बिहान ८ः५४ बजेदेखि         १०ः२४ बजेसम्म        अमृत बेला
बिहान १०ः२४ बजेदेखि        ११ः५४ बजेसम्म        काल बेला
बिहान ११ः५४ बजेदेखि        १ः२४ बजेसम्म        शुभ बेला
दिनमा १ः२४ बजेदेखि         २ः५४ बजेसम्म        रोग बेला
दिउँसो २ः५४ बजेदेखि          ४ः२४ बजेसम्म        उद्धेग बेला
दिउँसो ४ः२४ बजेदेखि           ५ः५४ बजेसम्म        चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ