arrow

सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सको चमत्कार, लगातार दोस्रो जित

logo
प्रकाशित २०७७ असोज १० शनिबार
delhi-capitals2.jpg

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चामत्कारिक प्रदर्शन गरेको छ । 

लगातार दोस्रो जित निकाल्ने क्रममा शुक्रबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्समाथि जित निकाल्यो । 

यसअघिका हेड टु हेडका २१ खेलमा ६ खेलमात्रै जितेको दिल्लीले यसपटक शानदार ४४ रनको जित निकालेको हो । 

दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले ७ विकेटको नोक्सानीमा १ सय ३१ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ४३ रन जोडे । यस्तै केदार जाधबले २६  तथा कप्तान महेन्द्र सिंह धोनीले १५ रन बनाए ।

दिल्लीका कागिसो राबाडाले ३, एन्रिच नोर्ट्जेले २ तथा अक्षर पटेलले १ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको नोक्सानीमा १ सय ७५ रन बनाएको थियो ।

ओपनिङ साझेदारी ९४ रन बनाउने क्रममा पृथ्वी शले ४३ बलमा ६४ रन तथा शिखर धवनले २७ बलमा ३५ रन जोडे । 

यस्तै ऋषब पन्तले २५ बलमा नटआउट ३७ तथा कप्तान श्रेयस आयरले २२ बलमा २६ रन बनाए ।

चेन्नईका पियुस चावलाले २ विकेट लिए । 

दिल्लीले यो खेलमा पनि सन्दीप लामिछानेलाई खेलाएन । लगातार दोस्रो खेलमा उनी प्लेइङ सेटमा परेनन् । तेस्रो पटक दिल्लीबाट खेल्दै गरेको सन्दीपले यसअघि ११ औं संस्करणमा ३ र १२ औं संस्करणमा ६ खेल खेलेका थिए । 

जितसँगै दिल्लीले २ खेलमा ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पंजाबलाई सुपर ओभरमा पराजित गरेको थियो । 

दिल्लीले यसपटक चामत्कारिक सुरुआत गरेको छ । दुवै खेल दिल्लीका लागि सबैभन्दा आनन्ददायी बनेका छन् । 

तीन खेल खेलिसकेको चेन्नईको यो लगातार दोस्रो हार हो । यो हारले डिफेन्डिङ रनर अप चेन्नईको मनोबल खस्केको छ । 

पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराए पनि दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।

८ टोली सहभागी आईपीएलमा पंजाब, मुम्बई, राजस्थान, चेन्नई र रोयल च्यालेन्जर्स बैंगलोरको समान २ अंक छ । सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स अंकविहीन छन् । 

शनिबार बेलुकी ७ः४५ देखि हैदराबाद र कोलकाता भिड्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ