arrow

चियापानमै सीमित पर्यटन दिवस

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
kakarvitta.jpg

झापा । वर्षेनी १० देखि १५ हजार बाह्य पर्यटक भित्रिने पूर्वी प्रवेशद्वार काँकडभिट्टा कोभिड–१९ को महामारीका कारण विगत छ महिनादेखि सुनसान छ । नाकाको भौतिक अवस्था भने कोभिड शुरु भएयता कायापलट भइसकेको छ ।

एसियन हाइवेअन्तर्गत सीमानादेखि एक किलोमिटर नेपाली भूमिभित्र रमितालाग्दो छ लेनको झिलीमिली सडक बनिसकेको छ । मेची नदीमाथि छ लेनकै नवनिर्मित पुल उद्घाटनको पर्खाइमा छ । हरेक वर्ष आइतबारकै दिन विश्व पर्यटन दिवसको अवसरमा यहाँ विदेशबाट आएका पाहुनाहरुलाई बाजागाजा र झाँकीसहित बजार परिक्रमा गरेर सम्मान गरिन्थ्यो । यसपटक त्यस्तो कुनै उल्लास छैन ।

काँकडभिट्टास्थित प्रादेशिक पर्यटन कार्यालयलले आइतबार ४१ औं पर्यटन दिवसको उपलक्ष्यमा सामान्य ब्यानर उद्घाटन र चियापान कार्यक्रम मात्र गरेको छ । पर्यटक आगमन ठप्प रहेको अवस्था र भीडभाड गर्न नहुने भएकाले ठूलो कार्यक्रम आयोजना नगरिएको पर्यटक कार्यालय काँकडभिट्टाका प्रमुख वासुदेव ढकालले बताए । सरकारले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि घुमफिरलाई प्रोत्साहित गर्ने नयाँ योजनाहरु ल्याउन लागेको उनले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको काँकडभिट्टा सम्पर्क कार्यालयकी प्रमुख सुस्मिता दाहालले कोभिडको महामारी नआएको भए यो वर्ष विदेशी पर्यटकको आगमन तेब्बरले वृद्धि हुने अपेक्षा गरिएको बताए । पर्यटन अभियन्ता अर्जुन कार्कीले अब ग्रामीण क्षेत्रका पर्यटकीय स्थल र होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढाउने कार्यक्रम ल्याउन सरकारसँग माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ