- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । परराष्ट्रविद् डा. दिनेश भट्टराईले नेपालले भारत र चीनसँगको सम्बन्ध उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।
पछिल्लो समय भारत र चीनका बारेमा फरक फरक विचारधारा आइरहेका सम्बन्धमा डा. भट्टराईले हाम्राकुरासँग भने, ‘हामीले चीनसँग गएर भारतका कुरा लगाउने हैन भारतमा गएर चीनका कुरा लगाउने हैन । हाम्रा लागि दुवै देशसँगको सम्बन्ध उत्तिकै महत्वपूर्ण हुन्छ ।’
सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा परराष्ट्र सल्लाहकारका रुपमा भूमिका निभाइसकेका भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै विदेशमा गएपछि नेपालको हितमा बोल्नुपर्ने समेत बताएका छन् ।
भट्टराईले उक्त देश र आफ्नो देशको प्रशंसा गर्दा अर्को देशलाई गाली गर्नु नपर्नेसमेत स्पष्ट पारेका छन् ।
चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेयले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा भारतले नेपाल र चीनसँगको सम्बन्ध बिगार्न खोजेको गैरकुटनीतिक आरोप लगाएपछि उक्त प्रतिक्रियामा परराष्ट्रविद् भट्टराईले एक राष्ट्रको प्रशंसा गर्दा अर्को राष्ट्रलाई गाली गर्नु नपर्ने बताएका हुन् ।
राजदूत पाण्डेयले बोलेकोप्रति कुनै टिप्पणी नगरी भट्टराईले ‘उहाँ मन्त्री भइसकेको व्यक्ति बोल्ने कुरा नै बोल्या होला’ भनी प्रतिक्रिया दिए ।
तर उनले स्पष्ट पार्दै भने, ‘हाम्रो देशको भौगोलिक अवस्था यस्तो छ । एक मुलुकमा गएपछि अर्को मुलुकलाई गाली गर्दा राम्रो हुँदैन । हामीले त्यसो गर्नुहुँदैन । भारतसँग पनि हाम्रो सम्बन्ध उत्तिकै महत्वपूर्ण छ । चीनसँग पनि हाम्रो सम्बन्ध उत्तिकै महत्वपूर्ण छ ।’
उनले दुवैसँग उत्तिकै सम्बन्ध बढाउनु पर्नेमा जोड दिएका छन् ।
विदेश नीतिमा समस्या ?
परराष्ट्रविद् भट्टराईले संविधानले स्पष्ट रुपमै आधारभूत सिद्धान्तहरु उल्लेख भएकाले नेपालको विदेश नीति भएको तर कार्यान्वयनमा समस्या भएको उल्लेख गरे ।
उनले भने, ‘विदेश नीति छ । कमजोर छ कि छैन त्यो अलग कुरा भयो ।’
थप स्पष्ट पार्दै उनले भने, ‘परराष्ट्र नीतिमा भ्रम छ कि जस्तो छ । एउटासँग सम्बन्ध बढाएर अर्कोसँग कम गर्ने त्यो सरकारपिच्छे फरक हुन सक्ने भयो ।’
भारत र चीनसँगको पछिल्लो विवाद
भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ नक्सा जारी गरेको छ । तर त्यसपछि कुटनीतिक पहल गर्न सकेको छैन ।
सीमा विवादको एकमात्र विकल्प सम्बन्धित देशसँगै छलफल गरेर समाधान गर्नु हो । ओली सरकारले भारतसँग एक पटक पनि पहल गर्न सकेको छैन ।
त्यसैगरी चीनले पछिल्लो समय जुम्लामा सीमा मिचेर भवन बनाएको भन्ने प्रसङ्ग आइरहेको छ । स्थानीय सरकारदेखि प्रमुख जिल्ला अधिकारीसमेतले सीमा मिचिएको ठहर गरिसकेको अवस्थामा ओली सरकारले भने त्यसको बचाउ गर्दै सीमा नमिचिएको तर्क गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले चीनले सीमा नमिचेको तर भारतले सीमा मिचेको बताएका छन् ।
जबकि सरकारले जुम्लाको उक्त क्षेत्रमा थप अध्ययनका लागि समयसमेत खोजेन प्रतिक्रिया दिइहाल्यो । भारतसँग भने पहल पनि गरेन निर्णय गर्यो ।
यतिबेला ओली नेतृत्वको कम्युनिष्ट सरकारले फरक विदेश नीति लिएको स्पष्ट देखिन्छ । आफ्नो भूमि छाड्नु हुन्न । चाहे त्यो चीनबाट होस् वा भारतबाट । तर त्यसको समाधानको शैली भने अपनाउनु पर्छ । प्रक्रिया पूरा गर्नुपर्छ ।
परराष्ट्रविद् भट्टराई भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भएको समस्याको समाधान भारतसँगै छलफल गरेर टुंगो लगाउनु पर्ने बताउँछन् ।
त्यसैगरी चीनसँग पनि त्यसरी नै छलफल गरेर समस्याको समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले भने, ‘समस्या छन् नभएका हैनन् तर सम्बन्धित देशसँगै कुराकानी गरेर समाधान खोज्नुपर्छ ।’