arrow

विद्यालयमा पनि जोर बिजोर प्रणाली

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
school1.JPG

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले विद्यालयमा विद्यार्थीको भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु गर्ने भएको छ । एक सयदेखि दुई सय वा सो भन्दा बढी विद्यार्थी भएका विद्यालयमा जोर बिजोर प्रणाली मार्फत् पठनपाठन शुरु गराउन गाउँपालिकाले सबै विद्यालयलाई पत्राचार गरेको छ । 

धेरै विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई दिन बिराएर जोर दिन जोर कक्षा र बिजोर दिन बिजोर कक्षा सञ्चालन गर्न निर्देशन गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताए । उनका अनुसार एक सय जनासम्म विद्यार्थी रहेका विद्यालयमा भने बिहान र दिउँसो कक्षा सञ्चालन गराउन भनिएको छ । 

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम पठनपाठन शुरु गराउने तयारी गरेको छ । कक्षा १ देखि ६ सम्मका बालबालिकालाई भने सिकाई सहजीकरणमा सहभागी नगराउने र उक्त उमेर समूहका बालबालिकालाई सिकाई सामग्री उपलब्ध गराई अभिभावक सिकाई सहजीकरण सम्बन्धी परामर्श सेवा उपलब्ध गराई घरमै पढ्ने व्यवस्था मिलाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार ५० जनासम्म विद्यार्थी भएका विद्यालयले एक बेन्च र अर्को बेन्चको दूरी एक मिटर कायम हुने गरी राख्ने र एक बेन्चमा बढीमा दुई जना राख्न पाउनेछन् । सवारी साधन सञ्चालन गर्ने विद्यालयले सिटको एक लहरमा एक विद्यार्थी मात्र राख्न र स्यानीटाईजरको व्यवस्था गर्न सबै विद्यालयलाई पत्राचार गरिएको छ । 

एक मिटरको दूरीमा बेन्च राखेर पढाइ
तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक बेन्च र अर्काे बेन्चको दूरी एक मिटरको राखेर पढाई शुरु गर्ने तयारी गरेको छ । सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सिकाई सहजीकरण सम्बन्धमा निर्देशन दिँदै विद्यार्थीबीच भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरी पठनपाठनको तयारी गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।

कोभिड–१९ को कारण अवरुद्ध विद्यार्थी सिकाई प्रक्रिया शिक्षा मन्त्रालयको सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको बैठक तथा कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गराउने सम्बन्धमा सबै विद्यालयहरुलाई सुचित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।

गाउँपालिकाले एक बेन्च र अर्काे बेन्चको दूरी कम्तीमा एक मिटरको हुनुपर्ने र एउटा बेन्चमा दुई जना मात्रै विद्यार्थी राख्न निर्देशन दिएको छ । त्यस्तै ५० देखि एक सय जना विद्यार्थी भएका विद्यालय दुई चरणमा सञ्चालन गर्न र एक सयदेखि दुई सय वा सो भन्दा माथि विद्यार्थी भएका विद्यालयले दिन बिराएर भएपनि आलोपालो रुपमा सञ्चालन गर्न पत्राचार गरिएको पोख्रेलले जानकारी दिए । 

बस सञ्चालन गरेका विद्यालयले सिटको एक लहरमा एक जना मात्रै विद्यार्थी राखी ल्याउनुपर्ने र बसको ढोकामा स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यालय प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने तथा ज्वरो आएका तथा जुनसुकै बिरामीका लक्षण भएका विद्यार्थीलाई अभिभावकले नै विद्यालय नपठाउन आग्रह गरिएको छ । 

कक्षा १ वा ६ वर्ष मुनिका बालबालिकालाई सिकाई प्रक्रियामा सहभागी नगराउने पनि गाउँपालिकाले जनाएको छ । सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु अनिवार्य विद्यालयमा हाजिर हुनुपर्ने व्यवस्था पनि गरिएको छ । साथै सूचनाको अटेर गरी सात दिन भित्रमा हाजिर हुन नआउने शिक्षक तथा कर्मचारीको विवरण गाउँपालिकालाई उपलब्ध गराउन निर्देशन दिईएको छ ।

अनलाइनमा पहुँच नभएकालाई विद्यालयमा पठनपाठन
तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले अनलाइनमा पहुँच नभएकाहरुलाई विद्यालयमै बोलाएर पठनपाठन शुरु गरेको छ । व्यास नगरपालिकाले असोज ११ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएसँगै विद्यालयले अनलाइन प्रविधिमा पहुँच नभएकाहरुलाई मात्रै विद्यालयमा बोलाएर पठनपाठन शुरु गरेको हो ।

विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले अनलाइनमा पहुँच नभएकालाई विद्यालय बोलाएर पढाउन शुरु गरिएको जानकारी दिए । तर अनलाइनमा पहुँच भएकाहरुलाई भने अनलाइनबाटै पढाइराखिएको छ । उनका अनुसार विद्यालयमा दुई चरणमा कक्षा सञ्चालन हुनेछन् । बिहान १० बजेदेखि १२:३० बजेसम्म र २ बजेदेखि ४ बजेसम्म कक्षा सञ्चालन हुनेछन् । 

निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले आवश्यक सुरक्षा अपनाएर दुई चरणमा कक्षा सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो १:३० देखि ४ बजेसम्म कक्षा सञ्चालन गरिएको छ । 

व्यास नगरपालिकाबाट जारी गरिएको निर्देशिका बमोजिम नगरपालिकाभित्र विद्यालय सञ्चालन गर्न अनुमति दिइएको छ । नगरपालिकाको निर्णय बमोजिम धेरै विद्यार्थी भएको ठाउँमा तीन चरणमा कक्षा सञ्चालन गर्न भनिएको शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ