- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुकम । कोभिड महामारीका कारण विद्यालयहरु बन्द भएको झण्डै ६ महिना बितिसकेको छ । गत चैत दोस्रो साता बन्द भएका विद्यालयहरु अझै खुल्न सकेका छैनन् । विद्यालयहरु क्वारेन्टिनस्थल बनेका छन् ।
कोरोना महामारीको सन्त्रास बढ्दो क्रममै भएकोले विद्यालय कहिले खुल्ने भन्ने कुनै टुंगो छन । शिक्षकहरु फुर्सदिला भएका छन् भने विद्यार्थीहरु घरमै बसिरहेका छन् । यदि अवस्था सामान्य हुन्थ्यो भने यतिबेला विद्यालयहरुमा धमाधम पढाई भइरहेको हुन्थ्यो भने कतिपय विद्यालयहरुमा पहिलो त्रैमासिक परिक्षा समेत सम्पन्न भएको हुन्थ्यो ।
तर अवस्था सामान्य नभएकै कारण गत शैक्षिक सत्र २०७६ को बार्षिक परिक्षा समेत नहुँदा बालवालिकाको भविष्य नै अन्योल बनिरहेको छ । कतिपय कक्षाको स्वमुल्याङ्कन विधि मार्फत कक्षा वृद्धि समेत गरिएको छ । तर विद्यार्थीहरुले पढ्न पाएका छैनन् ।
नेपाल सरकारले वैकल्पिक शिक्षा संचालनको निर्देशन २०७७ र सिकाई सहजीकरण निर्देशिका २०७७ समेत जारी गरेको छ । त्यसमा प्रविधीयुक्त शिक्षा र सामाजिक दुरी कायम गरी पठनपाठन गर्न निर्देशन गरेको छ । तर यसको कार्यान्वयनतर्फ रुकुमका धेरै विद्यालयले ध्यान दिन सकेका छैनन् भने स्थानीय सरकार पनि मौन छन् ।
इन्टरनेटको माध्यमबाट शहर बजारका बालवालिकाहरुको (भर्चुअल) डिजिटल माध्यमबाट पठन–पाठन सञ्चालन भएपनि दुर्गम गाँउका बालवालिका शिक्षाबाट बञ्चित रहेका छन् ।
दुर्गम गाँउका केही शिक्षक शिक्षीकाहरु भने विद्यार्थीहरुको भविष्यप्रति चिन्तित बन्दै टोल–टोलमा पुगेर विद्यार्थी–अभिभावकलाई शिक्षा दिन सुरु गरेका छन् ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं.–६ स्थित जनचेतना आधारभुत विद्यालय व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले विद्यार्थीहरुको पढाई सुचारु गर्न टोल–टोलमा पुगेर विद्यार्थी अभिभावकलाई शिक्षा प्रदान गरेको जनचेतना आधारभुत विद्यालयका शिक्षिका निर्मला ओलीले जानकारी दिएकी छिन् ।
उनले भनिन्, ‘कोरोना भाईरस कोभिड–१९ का कारण लामो समयसम्म विद्यार्थीको पढाई अवरुद्ध भएपछि विद्यार्थीको पढाई नविग्रीयोस् भन्ने उद्देश्यले अभिभावक र विद्यार्थीका लागि टोलशिक्षा कार्यक्रम सञ्चालन गरिरहेको हो ।’
विद्यार्थी विद्यालयमा नियमित आउन नसक्ने अवस्थामा अभिभावकलाई आफ्ना वालवालिकाहरुलाई कसरी सिकाईमा ध्यान दिन सकिन्छ भनेर अभिभावकहरुलाई शिक्षा प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य जानी दर्लामीले जानकारी दिएकी छिन् । उनका अनुसार अभिभावकहरुलाई बालवालिकाको सिकाई सुधारका लागि सुरु गरिएको अभिभावक शिक्षा प्रभावकारी बन्दै गएको छ ।
स्थानीय मिना वली भन्छिन्, ‘पहिले बालबालिकाहरु खेल्ने मात्रै गर्थे,अहिले अभिभावकलाई समेत तालिम तथा सिकाई व्यवस्थापन कक्षा सञ्चालन गरेपछि विद्यार्थीहरुले पढाईमा ध्यान दिन थालेका छन् ।’
यहाँका शिक्षक शिक्षिकाहरुले टोलमै पुगेर घरदैलो शिक्षा दिने गरेका छन् । जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक लालबहादुर विष्टले भने, ‘विद्यार्थीहरुलाई गृहकार्य दिनुका साथै चेक गर्ने र अभिभावकलाई वालवालिकाहरुको सिकाई सम्वन्धी घरेलु विधीबाटै पठन पाठन गर्ने विधी सिकाइएको छ ।’
यस्तो कक्षामा कथा, कविता, खेल विधि, र मनोरञ्जनकै माध्यमबाट स्थानीय रुपमा रहेका फूलहरुबाट र केही चित्रद्धारा सिकाई सिकाउँदा विद्यार्थीहरुले रमाईलो मान्ने र पढाईमा ध्यान दिने गरेको स्थानीय टीका विकको अनुभव छ ।
उनले भनिन्, ‘पहिले केटाकेटीहरु घरमा पढ्नै मान्दैनथे, अहिले खेल्दै सिकाउँदै गर्न थालेपछि साना नानी बावूले खुशी हुँदै रमाईरमाई पढ्न थालेका छन् ।’
यस्तै त्रिवेणी गाउँपालिका ७ स्थित शारदा नमुना आधारभुक्त विद्यालयले सञ्चालन गरेको टोल शिक्षा कार्यक्रम पनि प्रभावकारी भएको छ ।
विद्यालयका प्रधानाध्यापक खीमबहादुर पुनले विद्यालयले आफ्नै सिर्जशिलतामा टोल विभाजन गरेर टोल शिक्षा प्रदान गरेको बताएका छन् ।
टोल शिक्षा अन्तर्गत विद्यार्थीहरुलाई गृहकार्य दिने, जाँच्ने र अभिभावकहरुलाई बालवालिकाहरुको पढाईमा ध्यान दिन आग्रह गरेको विद्यालयका प्रधानाध्यापक पुनले बताए ।
विद्यालयको सेवा क्षेत्रभित्र रहेका पारिखा, तलिगाउँ, रजैपाले, दाङवाङ, स्याला लगायतका वस्ती तथा टोलमा गएर टोलि शिक्षा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिंह पुनले बताए । उनले भने, विद्यालयले पहिलो चरणमा स्वास्थ्य सचेतना फैलाउने, दोस्रो चरणमा अभिभाबक र विद्यार्थीलाई भेटेर शैक्षिक गतिविधि सञ्चालन गरिएको छ ।’
रुकुम पश्चिमका केही विद्यालयले आफ्नै पहलमा टोल शिक्षा सुरु गरेपनि यहाँका ६ वटै स्थानीय तहका २७९ विद्यालयमा अध्ययनरत ५३ हजार ५ सय २३ विद्यार्थी अहिले पढाईबाट बञ्चित भएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका समन्वय प्रमुख ताराप्रसाद पुनको भनाई छ ।
यो जिल्लामा, विद्यार्थीहरुमा पनि छात्रको संख्या २५ हजार ९२० जना छ भने छात्राको संख्या र २७ हजार ६०३ रहेको छ ।
विशेषगरी स्थानीय तहहरुले शिक्षा सम्वन्धी गतिविधि सञ्चालन गर्न नेपाल सरकारले वैकल्पिक शिक्षा संचालन निर्देशन २०७७ र सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेपनि स्थानीय सरकारले कुनै चासो नदेखाएको शिक्षा समन्वय ईकाई प्रमुख पुनले बताए ।
उता जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख इन्दीरा विएमले कोभिडको बेला कसरी विद्यालय सञ्चालन गर्ने भन्ने स्पष्ट नीनि नहुनु, र जिल्ला प्रविधीयुक्त नहुँनुका कारण सञ्चालन गर्न नसकेको बताइन् । उनले भनिन, छिट्टै स्थानीय तहसँग र शिक्षा क्षेत्रका जानकारसँग छलफल गरेर विद्यालय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको बताइन् ।
शिक्षामा लगानी शून्य
रुकुम पश्चिममा कोरोना संक्रमण न्यूनीकरणको लागि १० करोड वढी रकम खर्च गरेका छन् । रुकुम पश्चिमका ६ वटा स्थानीय र जिल्ला प्रशासन कार्यालय मार्फत कोरोना न्यूनीकरणको लागि गत आर्थिक वर्ष २०७६–०७७ को अन्तिमसम्म १० करोड २२ लाख ६८ हजार ३३४ रुपैयाँ खर्च भएको हो । जसमध्ये रुकुम पश्चिमका ६ वटै स्थानीय तहहरुले १० करोड २ लाख ६९ हजार १ सय ३३ रुपैयाँ खर्च गरेका छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि १९ लाख ९९ हजार २०१ रुपैयाँ खर्च गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जिल्ला प्रशासन कार्यालयबाट खर्च गरिएको रकमबाट सबै पालिकामा स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताएका छन् । त्यस्तै सुरक्षाकर्मी र कर्मचारीको लागि पनि आवश्यक स्वास्थ्य सामग्री खरिद गरिएको प्रजिअ पौड्यालले जनाए ।
रुकुम पश्चिमका ६ वटा स्थानीय तहमध्ये सबैभन्दा वढी चौरजहारी नगरपालिकाले खर्च गरेको छ । तर रुकुममा स्थानीय तहहरुले शिक्षा क्षेत्रमा भने कुनै लगानी गरेका छैनन् ।
डिजिटल शिक्षा आकासको फल
बिद्यालय बन्द भएपनि ईन्टरनेटको माध्यमबाट शहर बजारमा भुर्चुल कक्षा सञ्चालन भएका छन् । अनलाइन, टेलिभिजन, रेडियो, टोल शिक्षा लगायतका विभिन्न वैकल्पिक शिक्षा अपनाउन निर्देशन गरिएको हो । रुकुम जिल्ला भौगोलिक रुपमा निकै विकट छ ।
रुकुमका अधिकांश स्थानमा टेलिफोनकै लागि डाँडामाथि पुग्नु पर्छ । टेलिभिजनको पहुँच पनि सोचजस्तो छैन । संचार माध्यमका विभिन्न उपकरणमध्ये यहाँका नागरिकले रेडियो बढी प्रयोग गरेको पाइन्छ । अहिले यहाँका मानिसहरु रेडियोको पँहुचमा भएपनि प्रभावकारी पठनपाठनका लागि टोल शिक्षालाई प्राथमिकता दिइएको छ ।
प्रविधिको विकास नहुँदा डिजिटल शिक्षा आकासको फल झै बनेको स्थानीय नागरिकले बताएका छन् । ६ महिना सम्म विद्यालय बन्द हुँदा पनि स्थानीय सरकारले शिक्षा क्षेत्रमा कुनै नीति तथा कार्यक्रम ल्याउन नसकेको शिक्षकहरुले गुनासो गरेका छन् ।
मुसीकोट स्थित श्री प्रभात माध्यामिक विद्यालयलक प्रधानाध्यपक विजय ओलीले भने, ‘दुर्गमका विद्यालय आर्थिक रुपमा कमजोर भएका कारण शिक्षा सम्वन्धी गतिविधि सञ्चालन गर्न नसकेको अवस्थामा स्थानीय सरकारले रेडियो कार्यक्रम सञ्चालन गरेको भए निकै प्रभावकारी हुने थियो ।’
सूचनाको प्रभावकारी माध्यम रेडियो
रुकुम पश्चिममा सूचनाको प्रभावकारी माध्यम सामुदायिक रेडियो नै हो । रुकुम पश्चिमका ६ वटा स्थानीय तहका ३० हजार ६४७ घरधुरी मध्ये झण्डै १८ हजार ३२९ घरमा रेडियोको पहुँच पुगेको जिल्ला तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत मेघराज पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार नेपालको जनगणना २०६८ का अनुसार रुकुम पश्चिममा सूचना सञ्चारको प्रभावकारी माध्यम रेडियो भएको तथ्याङ्कले देखाएको छ । भने टेलिभिजन प्रयोग कर्ता कुल घरधुरीको ३ दशमलव ७ प्रतिसतको पहुँचमा मात्र रहेको छ ।
त्यस्तै रुकुम पश्चिमका ३३ वडा मध्ये इन्टरनेटको पहँच ३५० घरधुरीमा मात्र रहेको पाईएको छ । यो तथ्याङ्कले पनि सूचना प्रभाहको मुख्य माध्यम रेडियो रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ । उता कर्णाली प्रदेश सरककारले १० जिल्लामा रहेका २ हजार ९४२ विद्यालयहरुमा गरेको सर्बेक्षणमा सबैभन्दा वढी रेडियो कै पहुँच देखिएको छ । भने सबैभन्दा कम टेलिभिजनको पुगेका विद्यालय रहेका छन् । भने २६२ विद्यालय कुनैपनि माध्यमको पहुँच पुग्न नसकेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावलले जनाए ।
कर्णाली प्रदेश सरकारले कोरोनाका कारण अप्ठेरोमा परेका बालवालिकाहरुलाई शिक्षाको मुलधारमा ल्याउन ११ करोड रुपैयाँ विनियोजित गरेको छ । कोरोनाका कारण कर्णाली प्रदेशका १० जिल्लाहरु (हुम्ला, जुम्ला, मुग, डोल्पा, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट,रुकुम (पश्चिम) र सल्यान) मा शैक्षिक गतिविधि सञ्चालनको लागि ११ करोड रुपैयाँ विनियोजित गर्नुका साथै शैक्षिक गतिविधी सञ्चालन गर्न सुस्म अध्ययन भईरहेको कर्णाली प्रदेशमा सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिएका छन् । उनले भने, ‘पहिलो चरण अवस्थाको विश्लेषण गर्ने, कोरोना संक्रमण न्यून भएका जिल्लाहरुमा स्थानीय तहको समन्वयमा विद्यालय खोल्ने र कोरोनाको उच्च जोखिम भएको जिल्लाहरुमा भर्चुल कक्षा सञ्चालनको तयारी भएको छ ।’ कुनै निर्णय त भएको छैन्, आन्तरिक गृहकार्यमा लागि रहेका छौं मन्त्री रावलले जनाए ।