विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख का दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।
सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभित्र कार्यक्रमका साथ मनाउन लागिएको छ । दुई वर्षको अन्तरालमा सगरमाथाले आफनो उचाई पुनः कायम राखेको छ । विगत दुईवर्षसम्म सगरमाथाको आरोहण बन्द हुदाँ पर्वतारोही निरास भएका थिए भने नेपालको पर्वतीय पर्यटन नै जोखिममा परेको थियो ।
यसवर्ष वसन्त ऋतुमा देश विदेशका पर्वतारोहीले फेरि सगरमाथामा पाइला राखेर साहसको परिचय दिएका छन् भने नयाँ रेकर्ड राख्नसमेत सफल भएका छन् । गतवर्ष विनासकारी भूकम्पका कारण सगरमाथाको आरोहण हुन सकेको थिएन् भने अघिल्लो वर्ष हिम पहिरोले १६ जना आरोहीको दुखद मृत्यु भएको र आरोहणको रुटसमेत भत्किएकाले आरोहण स्थगित गरिएको थियो । सगरमाथाको आरोहणको प्रारम्भसँगै खस्किएको नेपालको पर्यटन प्रवद्र्धनको दिशा तर्फ उन्मुख भएको छ ।
त्रिसाठी वर्षको आरोहणको अवधिमा करिब सात हजार पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमान समेत थप्दै आएका छन् । यसवर्ष फुर्वा तेन्जिङ शेर्पाले दशौ पटक आरोहण गरी नयाँ रेकर्ड कायम गर्नु भयो । आरोहणको अन्तिम दिनमा करिब चारसय आरोही जेठ १२ गते सगरमाथाको चुचुरोमा पुगे । विश्वशान्तिको सन्देश प्रवाह गर्ने गौतम बुद्धको देश नेपालमा रहेको सगरमाथा अब विश्व शान्ति र भ्रातृत्वको साझा चौतारी बनेको छ ।
सगरमाथा आरोहण जोखिमपुर्ण र संवेदनशील यात्रा हो । यस जोखिमपूर्ण आरोहणका क्रममा केही वीरवीराङ्गनाले सगरमाथाकै नाममा आफ्नो जीवन उत्सर्ग गरेका छन् । एक तथ्याङक अनुसार हालसम्म करिब दुईसय ८० जना आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । यसवर्ष पनि एक नेपालीसहित छ जना विदेशी आरोहीको आरोहणकै क्रममा निधन भयो ।
पहिलो नेपाली महिला आरोही पासाङ ल्यामु शेर्पादेखि ८२ वर्षको वृद्ध उमेरमा पनि युवा जोशका साथ पूर्वपरराष्ट्रमंत्री शैलेन्द्रकुमार उपाध्यायले सगरमाथा आरोहण गर्ने प्रवल इच्छा राखी सगरमाथामै आफनो जीवन उत्सर्ग गर्नु भएको छ । आप्पा शेर्पाले २१ औँ पटक सगरमाथा आरोहण गरी सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेको विश्व कीर्तिमान कायम गर्नुभयो ।
सोह्र वर्षको उमेरमा सफल आरोहण गरी तेम्बाछिरी शेर्पाले सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने आरोहीको र्कीतिमान कायम गर्नुभएको छ ।
यसैगरी प्रथम महिला आरोही जापानकी जुन्को ताबेई, प्रथम महिला नेपाली आरोही पासाङल्हामु शेर्पा, कृत्रिम अक्सिजनबिना आरोहण गर्ने फ्रान्सेली नागरिक राइनहोल्ड मेस्नर, सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने पेम्बादोर्जे शेर्पा, बाबुछिरी शेर्पा र कृत्रिम खुट्टाको प्रयोगले आरोहण गर्ने नवाङ शेर्पा र पहिलो दक्षिण एसियाली महिला पत्रकार शैली बस्नेतको कीर्तिमान र अदम्य साहसको नेपाल र विश्व समुदायले सधैं कदर र सम्मान गर्नैपर्छ ।
यी विदेशी र नेपाली आरोहीले सगरमाथालाई विश्वमा चिनाउन तथा नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ । आजका दिनमा यी साहसीलाई राष्ट्रले स्मरण र सम्मान गर्नैपर्छ ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सरकार, पर्यटन व्यवसायी सङ्घसंस्थाले संयुक्तरूपमा सगरमाथा आरोहीलाई सम्मान गर्ने, प्रभातफेरी, ¥याली, लुक्लामा सरसफाइ अभियान, एभरेस्ट म्याराथुन, ¥याफ्टिङ महोत्सवको आयोजना गरिएको छ । सगरमाथाले छ दशकको अवधिमा नेपाललाई यथेष्ट नाम र दाम दुवै दिएको छ ।
जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परिरहेको नकारात्मक असरप्रति गम्भीर भई सचेतना अपनाउनुपर्ने आवश्यकता छ । । विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हिमालका हिउँ पग्लिदै गइ हिम पहिरो जाने र हिम तालहरु फुटने खतराप्रति नेपालले अन्तराष्ट्रियक्षेत्रबाट सहयोग प्राप्त गरी दीर्धकालीन योजनाका साथ अघि बढनुपर्छ ।
यसका लागि सगरमाथालाई केही समय विश्राम दिनुपर्ने सुझाव केही आरोहीको छ । हिमालको वातावरण संरक्षण र सरसफाइका नाममा केही खाली सिसी र सिलिन्डर सङ्कलन गरी तल ल्याउने बाहेकका अन्य ठोस र दीर्घकालीन योजना तथा कार्यक्रम रहेको देखिँदैन ।
जलवायु परिवर्तनको नकारात्मक असर रोक्न नेपालको मात्र एक्लो प्रयासबाट असम्भव छ । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा पहल गरी प्राप्त सहयोगलाई सरकारले सदुपयोग गरी दीर्घकालीन योजना तर्जुमा गरी सगरमाथाको जैविक र प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय जगत्को प्रतिबद्धता र सामूहिक प्रयासबाट नै सगरमाथा लगायतका नेपालका अन्य हिमशृङ्खलाको वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षण हुनुपर्छ, जुन हिमाली जनताको जीविका, नेपालको दीर्घकालीन साहसिक र पर्वतीय पर्यटन विकासका लागि अपरिहार्य छ । रासस