arrow

नियम मिचेर काम नगर्ने पोखरा विश्वविद्यालयका उपकुलपति अर्यालको प्रतिवद्धता, को हुन् अर्याल ?

logo
हरि पन्त, 
प्रकाशित २०७७ असोज १९ सोमबार
prem-narayan-aryal-pokhara-.jpg

पोखरा । पश्चिमाञ्चल क्षेत्रकै गौरव तथा देशकै दोस्रो ठूलो पोखरा विश्वविद्यालयले करिब एक वर्षपछि उपकुलपति पाएको छ । पोखरा विश्वविद्यालयमा उपकुलपति प्रा।डा। प्रेमनारायण अर्याल नियुक्त भएका छन् । उनले आइतबार पदभार ग्रहण गरेका छन् । पोखरा विश्वविद्यालय ऐन अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

 उक्त ऐन अनुसार प्रधानमन्त्रीद्वारा गठित समितिको सिफारिसमा नियुक्त गरिएको पत्र अर्यालले बुधबार बालुवाटार पुगेरै बुझेका थिए । उक्त अवसमा उनले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन् । उनले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे । 

विश्वविद्यालयको समस्या र अन्यौलता समाधानका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको र उनले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाएका उनले बताए । ‘म जागिर खान आएको होइन’, उनले भने, ‘मलाई अब कसरी यो विश्वविद्यालय बनाउने र व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता छ ।’

उनले पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको जनाए । विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, व्यवस्थापन सङ्कायका डीन प्रा हरिबहादुर खड्का, स्कूल अफ डेभलेपमेन्ट सोसल इञ्जिनीरिङ्गका स्कूल निर्देशक डा रामप्रसाद अर्यालय, विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, प्राध्यापक सङ्घका अध्यक्ष हेमराज पाण्डे तथा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित र सहप्रशासक तारा सापकोटाले विश्वविद्यालयका समस्या र सुधारका बारेमा सुझाव प्रस्तुत गरेका थिए ।

पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्त नहुँदा डिन नियुक्ति, संयुक्त कलेजका निर्देशक नियुक्ति, कर्मचारी नियुक्ति, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायतका कार्यक्रमहरु प्रभावित भएका थिए ।

उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र संकाय लगायतका डिनको पद रिक्त छ ।

व्यवस्थापन संकायमा भने प्राध्यापक हरिबहादुर खड्का डिन छन् । स्कुल अफ डेभलप्मेन्ट एन्ड सोसल इन्जिनियरिङबाहेक अरु ३ संयुक्त आंगिक कलेजमा निर्देशक पनि छैनन् ।

पोखरा विश्वविद्यालयका ४ आंगिक, ४ संयुक्त आंगिक र देशभर ५८ वटासम्बन्धन प्राप्त कलेज छन् । भिसी कांग्रेसको भागमा परेपछि अब रजिस्ट्रारमा भने सत्तारुढ नेकपा निकट प्राध्यापकको दाबी छ ।

पोखरा विश्वविद्यालयमा व्यवस्थापनका डीन रहिसकेका दीपक भण्डारी र परीक्षा नियन्त्रक रहिसकेका भरत ढुंगानामध्ये एकजना रजिस्ट्रार बन्न सक्ने चर्चा पोविविभित्र छ । भिसी विश्वविद्यालयको समग्र प्रमुख हुने भए पनि प्रशासनिक प्रमुख भने रजिस्ट्रार हुन्छ ।

तत्कालीन उपकुलपति प्रा।डा। शर्माको कार्यकाल गत असोज पहिलो हप्ता सकिएलगत्तै विज्ञान संकायका डिन बुद्धिराज जोशीले ३ महिनालाई निमित्त उपकुलपतिको जिम्मेवारी पाएका थिए ।

जोशीपछि मानविकी संकायका डिन प्रा।डा। इन्द्रप्रसाद तिवारीले कार्यवाहक उपकुलपतिको जिम्मेवारी पाए । तिवारीले उमेरहदका कारण वैशाखमा अवकाश पाएका थिए ।

को हुन् अर्याल ?
३९ वर्ष त्रिभुवनविश्‍वविद्यालयमा प्राध्यापन गरेका अर्यालको जन्म गुल्मीमा भएको हो भने चितवनमा हुर्किएका थिए । अहिले भने काठमाडौंका बासिन्दा हुन् ।

काठमाडौं सामुदायिक शिक्षा क्याम्पसका संस्थापक उनी त्रिवि केन्द्रीय क्याम्पसको सदस्य सचिव रहिसकेका छन् । उनी २०५४ सालमा पब्लिक क्याम्पस संघको अध्यक्ष भएका थिए ।

उच्चस्तरीय शिक्षा आयोग, नेसनल फेडेरेसन अफ युनेस्को क्लब अफ नेपालका पूर्वअध्यक्ष अर्याल नेपाल खुला विश्‍वविद्यालयको सिनेटर छन् । 

पूर्वाञ्‍चल र सुदूरपश्‍चिमाञ्‍चल विश्‍वविद्यालयको विषय समिति अध्यक्ष रहिसकेका उनी नेपाल शिक्षाशास्त्री समाजको संस्थापकमध्ये एक हुन् । अहिले उनी उक्त समाजमा अध्यक्ष छन् ।

शैक्षिक अनुसन्धान तथा सामाजिक विकास केन्द्रको अध्यक्ष, सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका अध्यक्ष अर्यालको विद्यावारिधिको विषय प्रारम्भिक बाल विकास हो । वनारस हिन्दू विश्‍वविद्यालय भारतबाट उनले विद्यावारिधि उपाधि लिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ