निगममा घिमिरेको निरंकुश शासन, फरक मत राख्ने कर्मचारीलाई कार्वाहीको धम्की
पर्यटन मन्त्री योगेश भट्टराईलाई खुसी पार्न कर्मचारीलाई कार्वाहीको डण्डा
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
862
Shares
काठमाडौं । वायु सेवा निगम सिद्दाउने प्रपञ्चको विरोध गरेका आफ्ना कर्मचारीहरुलाई नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष शुशील घिमिरेले कार्वाहीको धम्की दिएका छन् । घिमिरेले आइतबार मातहतका कर्मचारीहरुलाई एक परिपत्र पठाउँदै आफ्नो कामसँग असहमति राखेर बिरोधमा उत्रने कर्मचारीलाई कारवाही गर्ने धम्की दिएका हुन् ।
घिमिरेले आफैले हस्ताक्षर गरेको परिपत्रमा उनले मातहतका कर्मचारीहरुलाई आफ्नो हित विपरित हुनेगरि गतिविधी गरेको पाइए कार्वाही गर्ने धम्की दिएका हुन्। घिमिरेले जारी गरेको परिपत्रमा कार्वाहीमा रहेको पत्रहरुको फोटोकपी, कार्वाहीको विवरण जस्ता विषयहरु अनधिकृत व्यक्तिहरुलाई उपलब्ध गराउनु चरम अनुशासनहीन आचरण भएको उल्लेख गरेका छन् ।
निगमको विद्यमान कानुन अनुसार उक्त कार्य अपराध भएको भन्दै निगमको स्वीकृति विना सूचना सम्प्रेसण गरेमा निगमको कर्मचारीको सेवा शर्त तथा विनियमावलीको परिच्छेद ८ को विनियम ७४ अनुसार दण्ड गरिने परिपत्रमा भनिएको छ। दण्डनीय कार्यमा संकलग्न कर्मचारीलाई परिच्छेद १०को विनियम ८९ अनुसार कारवाही गरिने समेत घिमिरेले चेतावनी दिएका छन्।
हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिन पर्यटन मन्त्रालय तथा नागरिक उड्ड्यन प्राधिकरणको निर्णय बिरुद्ध वायु सेवा निगमका कर्मचारीहरुले विरोध गर्दै आएका थिए। उनीहरुले अहिले पनि बिरोध जारी राखेका छन्। वायु सेवा निगमका कर्मचारीहरुले निगमबाहेक कुनै पनि एयरलाइन्ससँग ग्राउण्ड ह्याण्डलिङ गर्ने क्षमता नभएको भन्दै हिमालय एयरलाइन्सलाई उक्त सुविधा नदिन अनुरोध गरेका थिए । विदेशी लगानीमा रहेको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिएमा नेपालले राजश्व गुमाउने, विमानस्थल जस्तो संवेदनशिल ठाउँमा सुरक्षा सतर्कता गुमाउने लगायतका जोखिम हुने भन्दै वायु सेवा निगमका कर्मचारीहरुले निगम नेतृत्व तथा पर्यटन मन्त्रालय नेतृत्वलाई सचेत गराउँदै आएका थिए।
तर अहिले उनै कर्मचारीहरुलाई कार्वाहीको डण्डा देखाउँदै निगमका कार्यकारी अध्यक्ष घिमिरेले तर्साउन थालेका हुन्। आफूलाई नियुक्त गर्ने मन्त्री योगेश भट्टराईले निगमका हित विपरित गरेका निर्णय बिरोधमा समेत कर्मचारीहरुले आवाज उठाउन थालेपछि उनैको निर्देशनमा घिमिरेले परिपत्र गरेको कर्मचारीहरुको भनाई छ।