- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा फेरि शीर्ष स्थानमा उक्लिएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्लीले प्रशंसकको दिल जित्दै आएको छ ।
यसअघि दिल्लीले कुनै पनि श्रृंखलामा यसरी शानसँग खेलिरहेको थिएन । युएईमा जारी १३ औं संस्करणमा दिल्लीले निकै आकर्षक खेलिरहेको छ ।
युएईको सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।
सारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १९.४ ओभरमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो ।
राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै याशभी जैशवालले ३४ रन जोड्दा कप्तान स्टिभ स्मिथले २४ रन बनाए ।
दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यस्तै रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २–२ विकेट लिए । अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेको नाममा १–१ विकेट रह्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको नोक्सानीमा १ सय ८४ रन बनाएको थियो ।
शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ३९ रन जोड्दा कप्तान श्रेयस आयरले २२ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले १–१ विकेट लिए ।
अझै खेल्न पाएनन् सन्दीप
दिल्लीले सन्दीपलाई अझै खेल्ने मौका दिएको छैन । सन्दीप लगातार छैटौं खेलमा प्लेइङ सेट बाहिर रहेका हुन् ।
दिल्लीको पहिलो सेटले नै उत्कृष्ट खेलेपछि सन्दीपले स्थान नपाएका हुन् । पहिलो रोजाइका खेलाडीबाटै उत्कृष्ट स्पिन बलिङ भएसँगै सन्दीपले स्थान नपाएका हुन् ।
अंक तालिका
शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ । दिल्लीको यो पाँचौ जित हो ।
राजस्थानको भने यो चौंथो हार हो । राजस्थान ६ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
मुम्बई इन्डियन्स ८ अंकसहित दोस्रो स्थानमा छ । सनराइजर्स हैदराबाद, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरको ६–६ अंक छ ।
चेन्नई सुपर किंगस र राजस्थानको ४–४ तथा किंगस इलाभेन पंजाबको २ अंक छ ।