arrow

विद्यार्थीमाथि शिक्षकले गरेको यौन दुर्व्यवहार काण्ड यसरी दवावमा मिलाइयो

प्रधानाध्यापकलाई मतियारका रुपमा कानूनी कार्वाही गर्न माग

logo
हरि पन्त, 
प्रकाशित २०७७ असोज २५ आइतबार
amarsingh-namuna-mavi.jpg

पोखरा । शैक्षिक हिसाबले अब्बल पोखराको अमरसिंह नमूना माध्यामिक विद्यालय काण्डै काण्डमा फसेको छ । भ्रष्टाचार, यौन दुर्व्यवहार, विद्यार्थी भर्ना प्रक्रिया, शिक्षक नियुक्ति जस्ता काण्ड विद्यालयमा छ । यिनै काण्डले यतिबेला विद्यालयमा तालाबन्दी भएको छ भने सम्पूर्ण गतिविधि ठप्प छ । 

विद्यालय राजनीतिक किचलोले लामो समय नेतृत्वविहीन भयो । दुईवर्ष अघि बल्ल बल्ल व्यवस्थापन समिति गठन भयो तर समितिले अझै पूर्णता पाउन सकेको छैन । पोखरा महानगरपालिकाको नेतृत्व नेकपा र वडाको नेतृत्व नेपाली कांग्रेसको हुनुको नियति विद्यालयले भोग्नुपरेको छ । 

समितिको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को छ भने नेपाली कांग्रेसको भागमा परेका सदस्यहरु खाली छन् । सदस्यका लागि कांग्रेसले पठाएका प्रतिनिधिहरुलाई समितिका अध्यक्षले अस्वीकार गरेपछि कांग्र्रेसले पनि अध्यक्ष लगायत अन्य सदस्यलाई अस्वीकार गर्दै आएको छ । बल्ल बल्ल गठन भएको व्यवस्थापन समिति पंगु बनेको छ । 

तीन वर्ष कार्यकाल हुने समिति दुई वर्ष पूर्ण नै नभइ, कुनै काम नै नगरी गुज्रिएको छ । जसले गर्दा विद्यालयको भौतिक संरचना निर्माण लगायतका महत्वपूर्ण कामहरु पूरै अवरुद्ध बनेको छ । 
यसैगरी विद्यालयमा यौन दुर्व्यवहारर काण्ड यतिबेला सतहमा आएको छ । यो काण्ड गत मंसिरकै हो । विद्यालय एक शिक्षकमाथि कक्षा ११ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । 

विद्यालयमा कक्षा ११ र १२ पढाउने शिक्षक उदयराज पोखरेलमाथि यस्तो आरोप लागेको हो । यो काण्ड मच्चिएपछि वडाध्यक्ष रामबहादुर कार्की र प्रधानाध्यापक तेजस्वी बरालको दवावमा भित्रभित्रै मिलाइएको थियो । 

स्रोतका अनुसार वडाध्यक्ष र प्रधानाध्यापकले पीडित विद्यार्थी र उनको अभिभावकलाई दवाव दिएर आरोपित शिक्षकले पीडित विद्यार्थीसंग माफी मागेपछि घटना मिलाइएको थियो ।

भित्र भित्रै लुकाउन खोजिएको यो काण्ड बाहिरिएपछि नेविसंघले मुख्य मुद्धा बनाएर आन्दोलन चर्काएको छ । नेविसंघले यौन दुव्र्यवहार गर्ने शिक्षकलाई मिलापत्र होइन कानूनी कार्वाही गर्नुपर्ने, विद्यालयमा भएका भ्रष्टाचारको छानविन हुनुपर्ने, विद्यालय व्यवस्थापन समिति तत्काल गठन गर्नुपर्ने, विद्यार्थी भर्ना र शिक्षक नियुक्ति खुला प्रतिस्पर्धामार्फत नै हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन चर्काएको छ । 

विद्यालयले बाहिर ल्याउन नचाहे पनि नेविसंघका कार्यकर्ताले प्रधानाध्यापकको कार्यकक्षमा तोडफोड गरेका छन् । जसले कम्प्यूटर लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको बताइएको छ । 

नेविसंघले प्रधानाध्यापक, व्यवस्थापन समितिको कार्यकक्ष र प्रशासन भवनमा ताला लगाएको छ । यस्तै पोखरा महानगरपालिका शिक्षा महाशाखाले पनि विद्यालयसंग स्पष्टीकरण सोधेको छ । शिक्षा महाशाखाका शाखा अधिकृत बद्रीनाथ सुवेदीको नेतृत्वमा अध्ययन समिति खटाएर प्रतिवेदन तयार गरी बुझाउन निर्देशन दिएको छ । 

नेविसंघले आफूहरुको मागलाई वेवास्ता गरिएपछि बाध्य भएर तालाबन्दी गरेको जनाएको छ । भ्रष्टाचारबारे अध्ययन गर्न निष्पक्ष छानविन समिति गठन, यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कानूनी कार्वाही निष्काशन नगरेसम्म आफूहरुले ताला नखोल्ने चेतावनी दिइएको छ । 

उनले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यौन दुव्र्यवहार जस्तो जघन्य घटना हुनु दुःखद् भएको भन्दै दोषी उपर कार्वाही नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने स्पष्ट पारे । साथै नेता ढकालले शिक्षा क्षेत्रमा राजनीतिक भर्ती केन्द्र बनाएर तहसनहस बनाउन खोजिनु र करोडौंको भ्रष्टाचार हुँदा समेत राज्यका अन्य निकाय मौन बस्नु विडम्वना भएको बताए । 

यता, पोखरा महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष विद्यालयको यौन दुव्र्यवहार काण्डले निकै सकसमा परेका छन् । उनी वडाभित्रै रहेको एक उत्कृष्ट विद्यालयमा दुई वर्षसम्म व्यवस्थापन समिति गठन हुन नसक्दा निरीह बनेका छन् । विद्यालयको काण्डहरुमा मौन बसेको भन्दै कांग्रेसभित्रै उनको आलोचना भइरहेको छ । 

हाम्राकुरा संगको कुराकानीमा वडाध्यक्ष कार्कीले टालटुले जवाफ दिए । विद्यालयमा भएको यौन दुव्र्यवहार काण्डबारे उनले शिक्षक र बालिकाको भविष्य हेरेर नै निर्णय गरिएको भन्दैै यसमा कसैलाई चित्त नबुझे कानूनी उपचार खोज्न सकिने ठाउँ रहेको बताए । 

उनले विद्यालयमा भएको भ्रष्टाचार लगायत शिक्षक नियुक्ति, विद्यार्थी भर्नामा चलखेल र विद्यालयले प्राप्त गर्ने भाडामा अनियमितता भएको भन्ने कुरामा अनभिज्ञता प्रकट गरे । उनले यो आरोप हो, छानविन गर्न सकिने भन्दै जवाफबाट पन्छिए । 

पोखरा महानगरपालिका शिक्षा महाशाखाले ढिलोगरि स्पष्टीकरण सोध्ने जमर्को गरेको छ । यसमा पनि हाम्राकुरा डटकमले शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यसंग विद्यालयका काण्ड उठान गरेपछि मात्र शिक्षा महाशाखाले विद्यालयसंग स्पष्टीकरण सोध्ने जमर्को गरेको हो ।  

प्रमुख आचार्यले विद्यालय व्यवस्थापन समिति गठनमा समस्या भएको अवगत भए पनि यौन दुव्र्यवहार काण्डबारे अनभिज्ञता प्रकट गरे । साथै उनले यस विषयमा आफूहरुले बुझ्ने र गल्ती भए दोषी उपर कानूनी कार्वाही हुने बताए ।  । 

विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले विद्यालयमा कुनै भ्रष्टाचार नभएको र बाहिर गरिएका हल्ला आरोपमात्र भएको भन्दै सतहीमा कुरा गरे । उनले आशंका लागे सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरे । उनले विद्यालयमा भएको यौन दुव्र्यवहार काण्ड बालिका र सबै पक्षको रोहबारमा मिलाइएको र शिक्षकलाई कक्षा ११ र १२ मा पढाउनबाट बञ्चित गरिएको बताए । 

यस विषयमा आरोपित शिक्षक पोखरेलसंग सम्पर्क गर्न सम्पर्क हुन सकेन ।

देशकै उत्कृष्ट शैक्षिक संस्थामा भ्रष्टाचार, यौन दुव्र्यवहार जस्ता जघन्य अपराध हुनु दुःखद् कुरा हो । साथै राजनीतिक रंग दिएर वर्षौंंवर्ष नेतृत्वविहीन बनाइनु विडम्वना हो । भ्रष्टाचारबारे सत्यतथ्य छानविन हुन र यौन दुव्र्यवहार गर्नेमाथि मिलापत्र होइन कडा कानूनी कार्वाही हुन आवश्यक छ । साथै शिक्षाजस्तो क्षेत्रमा राजनीतिक भर्ती केन्द्र नबनाई एक स्वतन्त्र संस्थाको रुपमा विकास गर्न पनि आवश्यक देखिन्छ ।
 



नयाँ