- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि संक्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना संक्रमित थपिएका हुन् ।
शनिबार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवालगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले ‘क्लस्टर’मा संक्रमण देखिएकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए ।
“सेनाको ब्यारेकलगायत खासखास ठाउँ र ट्राभल हिस्ट्री भएका व्यक्तिमा संक्रमण बढी छ”, उनले भने, “क्लस्टरबाट समुदायमा फैलन नदिन विशेष सावधानी अपनाउनुपर्छ ।” यात्रा विवरण नभएका संक्रमित फाटफुट्ट देखिए पनि ठूलो जनसङ्ख्यामा कोरोना नपुगेको उनको भनाइ छ ।
समुदायमा कोरोनाको फैलावट रोक्न सबैले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख गुरौले बताए । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३६७ छ भने आइसोलेसनमा १५७ संक्रमित छन् ।
कोरोनाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या ८५ छ । हालसम्म आठ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ । संक्रमित हुनेमा पुरुष ८६ र महिला १४ प्रतिशत छन् ।
सबैभन्दा बढी बागलुङ नगरपालिकामा १६८ र सबैभन्दा कम ताराखोला तथा निसिखोला गाउँपालिकाका १७-१७ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणपछि निको भएको दर ७० प्रतिशत छ भने मृत्युदर ०.०२ प्रतिशत छ ।
यस्तै पिसिआर जाँच मध्येमा ६.०२ प्रतिशत संक्रमण दर छ । जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो जुन नेपालकै पाँचौ संक्रमणको घटना थियो । संक्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा श्यया थप गर्न थालिएको छ । स्थानीय तहले पनि १०-१० श्ययाको आइसोलेसन केन्द्र बनाएका छन् ।