arrow

सत्य र न्यायको पक्षमा कलम चलाउने मेरो पिता बलराम बानियाँलाई चाहि न्याय चाहिदैन?

निष्पक्ष छानविन र न्याय चाहन्छ परिवार

logo
सुस्मिता बानियाँ,
प्रकाशित २०७७ असोज २६ सोमबार
sushmita-balaram-baniya.jpg

मेरो नाम सुस्मिता बानियाँ हो। म स्वर्गीय पत्रकार बलराम बानियाँकी छोरी हुँ। बलराम बानियाँ, जसले तीन दशक भन्दा लामो समयसम्म राष्ट्रिय पत्रपत्रिकामा आबद्ध रहेर सत्य, सुशासन र न्यायको पक्षमा कलम चलाउनुभयो। उनै पत्रकार, जसले आफ्नो ज्यानको माया नगरिकन, कुनै प्रकारको प्रलोभनमा नपरि, कुशल पत्रकारिताको धर्मबाट विचलित नभई, अहोरात्र खटेर सही सत्य सूचना आम नेपालीहरुमाझ प्रस्तुत गर्नुभयो । उही पत्रकार, जस्को समाचारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका समेतलाई आफ्नो कर्तव्यबाट विचलित नहुन सधैं प्रेरित गर्दथ्यो। जसले कैयौं भ्रष्टाचारी र अपराधीहरुको सञ्जाललाई आफ्नो कलमको माध्यमबाट तोड्न सफल हुनुभएको थियो। उहाँको समाचारका कारण कैयौं आपराधिक क्रियाकलापहरु हुनबाट रोकिएका थिए।

सामान्य जीवनशैलीमा बाँच्न रमाउने मेरो ड्याडी मेरो आदर्श हुनुहुन्थ्यो । तीन दशकसम्म राष्ट्रिय सञ्चारमाध्यममा व्यवसायिक रूपमा आबद्ध सञ्चारकर्मी सायद कोही हुँदैनन् होला जस्को सहरमा आफ्नो घर, गाडी, विलासी जीवनशैली नहोला। तर मेरो ड्याडी बलराम बानियाँ, जसले राष्ट्रिय पत्रिकाहरूमा अग्रपंक्तिमा रहेर दशकौं लामो यात्रा तय गर्नुभयो, उहाँ एकदम सामान्य जीवनशैलीमा रमाउने, सोझो, इमान्दार र जो कोहीसँग सजिलै घुलमिल हुने स्वभावको हुनुहुन्थ्यो।

हाम्रो परिवारमा जम्मा ४ जना थियौं, ड्याडी, ममी भाई अनि म । हामी काठमाण्डौमा डेरा गरेर बसेका थियौं । मेरो ममीको पनि जागिर छ । हामी सामान्य परिवारमा हुर्कियौं । हाम्रो जीवनसँग हामीलाई कुनै गुनासो थिएन, हामी निकै खुसी थियौं ।मलाई मेरो ड्याडीको त्यो साधारण जीवनशैली एकदमै मन पर्थ्यो । उहाँलाई जीवनभर कहिल्यै कुनै कुराको महत्वकांक्षा रहेन।

अचानक हाम्रो परिवारमा बज्रपात आयो, मेरो ड्याडी हामीलाई सदाको लागि छाडेर जानुभयो । मेरो ड्याडीको निधन सामान्य थिएन, उहाँलाई हामी बस्ने डेराबाट मेरै अगाडि लागिएको थियो अनि उहाँको मृत शरीर हाम्रो सामु ल्याइएको थियो।हो हाम्रो नजरमा उहाँको हत्या पूर्व नियोजित थियो, उहाँकै एकजना छायाचन्द्र भण्डारी नाम गर्नुभएको साथीको समेत संलग्नतामा । उहाँको हत्या लगत्तै हामीले किटानी जाहेरी दिने कोसिस गरेका थियौं तर प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेपछि हामीले घटनाको सत्यतथ्य अनुसन्धान गरिपाऊँ भनी जाहेरी दिएका थियौं।

मलाई लागेको थियो सबैजनाले यो असामान्य घटनाको निष्पक्ष छानविनको लागि सम्बन्धित निकायहरुलाई दबाब दिनुहुनेछ अनि मेरो ड्याडी र मेरो परिवारलाई न्याय दिलाउन सहयोगी भूमिका निर्वाह गरिदिनुहुनेछ । तर शोकको त्यो घडीमा मेरो ड्याडीको मृत्युलाई दुर्घटना र आत्महत्याको संज्ञा दिन थालियो । घटना भए पश्चात हामी शव पहिचान गर्ने क्रममा थियौं तर सञ्चारमाध्यमहरुमा "पत्रकार बलराम बानियाँको दुर्घटना/आत्महत्या" लगायतका भ्रामक र असत्य समाचारहरु आउन थालेका थिए। 

हामीप्रति समवेदना अनि ड्याडीप्रति श्रदाञ्जली दिनको भीड त मैले देखें तर हाम्रो आँखाको आँशुसँगै रहेको न्यायको माग कहीं कसैले देखेनन्, बुझेनन् अनि लेखेनन् । सामाजिक सञ्जालहरुमा त मेरो ड्याडीद्वारा संप्रेषित समाचारहरुप्रति लक्षित गरेर अनेक नकारात्मक टिप्पणीहरू आएको देख्दा शोकमा रहेको हाम्रो परिवारलाई झन् दुःखी बनायो।

२०७४ वैशाख २५ गते कान्तिपुर राष्ट्रिय दैनिकमा मेरो ड्याडीको नामबाट " ३८ भारुको बल्ब ६५ मा किनिँदै, खरिद ऐन विपरीत मन्त्रिपरिषद् निर्णयमा 'ठूलो आर्थिक चलखेल' " शीर्षकमा समाचार छापिएसँगै कुलमान घिसिङको विरुद्धमा लेखेको भन्दै मेरो ड्याडीको चौतर्फी आलोचना, गालीगलौज र ज्यान मार्ने धम्की समेत आएका थिए । उक्त समाचारमा कहीं कतै कुलमान घिसिङको नाम जोडिएको भने थिएन । कुलमान घिसिङको विरुद्धमा बोलेको भनेर भ्रम फैलाएर मेरो ड्याडीलाई आम नेपालीहरूको माझ "भिलेन" बनाएर समाचारलाई झुटो ठहर गरी उन्मुक्ति पाउने योजना गरिएको थियो । तर मेरो ड्याडी सत्यको पथबाट अलिकति पनि विचलित नहुने स्वभावको हुनुहुन्थ्यो। उहाँ शान्त, सालिन, मिलनसार स्वभावको त हुनुहुन्थ्यो नै, निडर, कर्मठ अनि जुझारु पनि उत्तिकै हुनुहुन्थ्यो।

यसलगत्तै २०७४ वैशाख २९ गते "लिड बल्ब खरिद प्रकरण, ८६ करोड बढी तिरिँदै" शिर्षकमा बलराम बानियाँ र कृष्ण आचार्यद्वारा प्रमाणहरू सहित कान्तिपुर राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भयो । सो समाचारमा प्रस्ट लेखिएको छ "यो प्रकरणमा विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई चेपुवामा पारिएको छ"। यसरी तथ्य र प्रमाण सहित समाचार छापिएपछि उहाँलाई नकारात्मक प्रतिक्रिया आउने क्रम घटेको थियो । यसरी सत्यको पक्षमा कलम चलाउने क्रममा यथार्थ नबुझिकन मेरो ड्याडी माथि धेरै मानिसहरूले गरेको व्यवहारले हामीलाई त्यतिबेला निकै दुखित बनाएको थियो । तर त्यो घटनाले मेरो ड्याडीलाई कहिल्यै विचलित गराएन।

ड्याडीको हत्या गरिनु भन्दा अगाडि २०७७ असार १० गते कान्तिपुर दैनिकमा "चीन तर्फपनि ७ जिल्लामा सीमा अतिक्रमण" शिर्षकमा मेरो ड्याडीको समाचार प्रकाशित भएको थियो। यो समाचार उहाँले ३ वटा श्रोतहरू (सरकारी स्रोत समेत) को आधारमा तयार पार्नुभएको थियो । उक्त श्रोतहरूको बारेमा मेरो ड्याडीसँग विभिन्न स्थान/व्यक्तिहरुबाट जानकारी दिनको लागि दबाब समेत आएको थियो । तर आफ्नो श्रोतहरू सार्वजनिक गराएर श्रोतहरूलाई जोखिममा राख्न उहाँ किमार्थ तयार हुनुभएन । यसरी देशको भूमि मिचेको ठूलो समाचारलाई बाहिर ल्याएपछि उहाँमाथि आक्रमण गर्ने योजनाहरु तयार बनेको अनुमान लगाउन गाह्रो हुँदैन । परराष्ट्र मन्त्रालय र कृषि मन्त्रालयले उक्त समाचारको खण्डन गरेर विज्ञप्ति जारी गरेसँगै उहाँलाई पुनः सामाजिक सञ्जालहरुमा ज्यान मार्ने धम्की सहित गालीगलौज गरिएका थिए। मन्त्रालयहरुको विज्ञप्तिसंगै कान्तिपुर दैनिकले समाचारप्रति क्षमायाचना माग्दै उहाँसँग २०७७/०३/१२ गते स्पष्टीकरण समेत मागेको थियो । यस घटनापछि ड्याडी झन् सक्रिय रूपमा सो समाचार सही सत्य रहेको र आफू गलत नभएको भनि साबित गर्नका निम्ति यथेष्ट प्रमाणहरू जुटाउन लागिपर्नु भएको हामीलाई स्मरण छ, जुन कुरा उहाँले आफ्नो स्पष्टीकरण पत्रमा समेत लेख्नुभएको छ।

माथि उल्लेखित तथ्य र प्रमाणहरूका अलावा पनि मेरो ड्याडीको निधन दुर्घटना वा आत्महत्या नभईकन नियोजित तवरले गरिएको हत्या हो भनि निम्न आधारहरू सहित स्पष्ट गर्न चाहन्छु।

  • चीनद्वारा नेपाली सीमा अतिक्रमण भएको समाचार ड्याडीद्वारा प्रकाशित भएको ।
  • समाचार प्रकाशित भएसँगै ज्यानमार्ने धम्की सहितका टिप्पणीहरू आएका।
  • छायाँचन्द्र भण्डारीले कान्तिपुर पत्रिका छाडेर आफूसँग काम गर्न बारम्बार ताकेता गरेको तर ड्याडीले अस्वीकार  गर्नुभएको ।
  • छायाँचन्द्र भण्डारी हाम्रो डेरामा आएर ड्याडीलाई आफ्नो घरमा लगेको त्यसपछि मेरो ड्याडी जीवित नफर्कनू भएको।
  • छायाँचन्द्र भण्डारीले ड्याडी एक्लै उहाँको घर खोज्दै पहिलो पटक घरमा पुगेको भनेको तर सिसिटिभी फुटेजमा सँगसँगै उनको घरमा प्रवेश गरेको देखिएको।
  • छायाँचन्द्र भण्डारीद्वारा पटकपटक बयान फेरेको।
  • ड्याडी अन्तिम पटक उहाँको घरमा गएपछि छायाँचन्द्र भण्डारीले हामीसँग फोनमा अभद्र व्यवहार गरेको,अपशब्द प्रयोग गरेको, ड्याडीसँग सम्पर्क गर्न नदिएको, तेरो ड्याडीलाई मार्न लेराएको हो र भन्ने वाक्य प्रयोग गरेको, मैले DIG देखि सचिवहरुसम्म धेरै मान्छेहरु चिनेको छु विचार गर् भनी हामीलाई धम्काएको।
  • ड्याडीलाई बगाएको देखेका भनिएका प्रत्यक्षदर्शीहरुको बयान पटकपटक बाझिएको, कसैले आफै हामफालेको भनेको, कसैले जुत्ता हिलोमा अड्किएर लडेको भनेको, कसैले यहाँबाट बगेको मान्छे बलराम बानियाँ होइन समेत भनेको।
  • हिलोमा जुत्ता अड्किएर घटना घटेको भनिएता पनि जुत्ताको सोल बाहेक माथिल्लो भागमा हिलो नै नलागेको भेटिएको
  • पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेको
  • पेटमा खैरो रंगको १०० एमएल पदार्थ भेटिएको।
  • शव पहिचान नहुँदै आत्महत्या, दुर्घटना लगायतका समाचारहरु निकालेर भ्रम सिर्जना गर्न खोजिएको।
  • प्रहरीले किटानी जाहेरी लिन नमानेको
  • भिसेरा रिपोर्ट घटनाको २ महिना बितिसक्दा समेत अहिलेसम्म प्राप्त नभएको
  • आरोपितले प्रहरीमा मेरो पहिचान माथिसम्म छ भनेको र प्रहरीले समेत छानबिनमा ढिलासुस्ती र आनाकानी गरेको
  • शव नग्न अवस्थामा मेरुदण्ड र ६ वटा हड्डीहरु भाँचिएको अवस्थामा, शरीरका धेरै स्थानमा चोट लागि पहिचान हुन गाह्रो बनाइएको अवस्थामा फेला परेको।

माथिका तथ्य र प्रमाणहरू अलावा पनि अन्य कतिपय कुराहरु छन्, जसले मेरो ड्याडीको निधन नियोजित तवरबाट गरिएको हत्या हो भनेर प्रमाणित गर्छ। हामीमाथि अन्याय भयो, मेरो ड्याडीको विभत्स हत्या हुँदासमेत दुर्घटना र आत्महत्याको संज्ञा दिइयो। हामी न्याय चाहन्छौं। घटनाको निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याइयोस् भन्ने चाहन्छौं। मेरो ड्याडीले सत्य र न्यायको पक्षमा कलम चलाउँदै गर्दा उहाँको विभत्स हत्या गरियो तर विडम्बना आज उहाँको न्यायको लागि कहीं कतैबाट आवाज उठेनन्, कसैका कलम चलेनन्। मेरो ड्याडीको हत्या आरोपित खुल्ला हिँडिरहेको अवस्थामा म र मेरो परिवारमाथि भोलिका दिनमा हुनसक्ने संभावित आक्रमणहरुको जिम्मेवारी कसले लिन्छ? #JusticeForBalaramBaniya



नयाँ