arrow

प्रदेश २का मुख्यमन्त्री राउतलाई फेर्न जसपाका बहुमत सांसद एक ठाउँमा

‘केन्द्रमा एक एक वर्षमा मन्त्री फेरिने, हामीले भने साँढे दुई वर्षसम्म कुर्नुपर्ने ?’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
Lalbabu-raut-cheif-minister.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका प्रदेश २का बहुमत सांसदहरु प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतलाई तत्काल फेर्नुपर्ने पक्षमा एक ठाउँमा उभिएका छन् । उनीहरुले आफनै सरकारको चर्को आलोचना गरेका छन् । तत्काल प्रदेश २ सरकारको नेतृत्व नफेरे पार्टीलाई ठूलो घाटा हुने सन्देश पार्टी अध्यक्ष उपेन्द्र यादवसमक्ष समेत राखेका छन् ।

जसपाका केन्द्रीय अध्यक्ष यादव जनकपुर गएको बेला बिहीबार साँझ उनले प्रदेश २का सांसदहरुसँग संयुक्त बैठक गरेका थिए। उक्त बैठकमा बोल्दै बहुमत सांसदहरुले प्रदेश २ सरकारको नेतृत्व फेर्नुपर्ने अडान राखेका थिए । केन्द्रमा तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीवीच एकीकरण भइ जसपा निर्माण भए पनि प्रदेश २मा पूर्व राजपा र पूर्व समाजवादीका संसदीय दल अलग अलग छन् । प्रदेश २मा पूर्व राजपा र पूर्व समाजवादीको संसदीय दल तत्काल समायोजन गरी नेतृत्व फेर्नु पर्ने धारणा प्रदेश २ का धेरैजसो सांसदहरुले राखेका छन् । १ सय ७ सदस्यीय प्रदेश २ सभामा ५५ जना सांसद जसपाका छन् । ती मध्ये ३० जना पूर्व समाजवादी र २५ जना पूर्व राजपाका छन् । नेतृत्व फेर्नु पर्ने पक्षमा पूर्व समाजवादीका सांसदहरु पनि देखिएका छन् ।

यादवले बिहीबार पूर्व राजपा र पूर्व समाजवादीका प्रदेश सभाका सांसदहरुसँग संयुक्त बैठक बोलाएका थिए । बैठकमा बोल्ने बहुमत सांसदहरुले प्रदेश २ सरकारको अहिलेको नेतृत्व पूर्ण रुपमा असफल भएको धारणा राखेका थिए । ‘प्रदेश २का बहुमत सांसदहरु प्रदेश २ सरकारको नेतृत्व अविलम्ब फेर्नु पर्ने पक्षमा उभिएका छन्’ प्रदेश २का सांसद तथा जसपाका कार्यकारिणी समिति सदस्य मनिष सुमनले भने,‘प्रदेश २ सरकारको कार्यशैलीप्रति प्रदेश २का जनता वाक्क छन । प्रदेश २ सरकार पूर्णरुपमा असफल भएको छ ।’  यस्तै धारण प्रदेश २का अर्का सांसद उपेन्द्र महतोको पनि छ । प्रदेश २मा तत्काल जसपाको संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री फेर्नु पर्ने उनको माग छ ।

प्रदेश २का मुख्यमन्त्री पूर्व समाजवादीका संसदीय दलका नेता हुन् । केन्द्रमा पूर्व समाजवादी र राजपा एक भए पछि प्रदेश २मा पनि दुई पार्टीको संसदीय दल समायोजन गरी नयाँ नेता चयन गर्नु पर्ने पक्षमा धेरैजसो सांसदहरु एक ठाउँमा उभिएका छन् । प्रदेश २का अर्का एक सांसदले भने,‘केन्द्रमा एक/एक वर्षमा मन्त्री फेरिएर नेकपाका सबै सांसदहरुले पालो पाउने । हामीले भने साँढे दुई वर्षसम्म कुर्नुपर्ने ?’

स्रोतका अनुसार यादवले गरेको संयुक्त बैठकमा रमेश पटेल, गौरी नारायण साह, अशोक यादव, रिना यादव, जानकारीशर साह लगायतका सांसदहरुले प्रदेश २ सरकार सम्पूर्ण रुपमा असफल भएको, जनताको भरोसा गुमेको, मन्त्रीहरुले आफना परिवारका सदस्यहरुलाई मात्र हेर्ने गरेको, मन्त्रीहरु भ्रष्ट्राचारमा लिप्त भएको, काम गर्न नसकेको जस्ता आरोप लगाएका थिए । यादवसँगको बैठकमा प्रदेश २ सरकारका मन्त्रीहरुले भने आफूले राम्रो काम गरे पनि त्यसको सन्देश जनतामा जान नसकेको गुनासो पोखका थिए ‘तर सरकार फेर्नु पर्ने पक्षमा बलियो आवाज देखियो’ सुमनले भने । 

आगामि कात्तिक ३ र ४ गते जसपाका कार्यकारिणी समितिको बैठक बस्दै छ । अब उक्त बैठकमा प्रदेश २ सरकारको नेतृत्व फेर्ने या नफेर्ने पक्षमा पनि छलफल हुने पार्टीका नेताहरुले जनाएका छन् । पार्टी अध्यक्ष यादव निकट एक नेताले भने,‘तर पनि पार्टी अध्यक्ष यादव तत्काल प्रदेश २ सरकारको नेतृत्व फेर्नुपर्ने पक्षमा हुनुहुन्न ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ