वीरगञ्जबाट २३ किलो सुन बरामद

रासस, प्रकाशित मिति : २०७७ कार्तिक १ शनिबार
तस्बिर : रासस

पर्सा। वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो।

भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २ सय ६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रउ पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि आज जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका सुन र चाँदी बरामद भएको बताइन। सोक्रममा केही सुनसंगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ।

नयाँ