arrow

आश्विनशुक्लको द्धितीया उद्धेग बेला दुई पटक भएको यस्तो हुनेछ दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक २ आइतबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ कात्तिक २ गते आइतबार, इस्वीसंवत अक्टुबर १८ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्ध आश्विनशुक्ल पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज शुद्ध आश्विनशुक्लको द्धितीया तिथि रहनेछ । आज दशैंको दोस्रो दिन हो । आज स्वाति नक्षत्र, विष्कुम्भादि योगमा प्रीति, करणमा बालब, आनन्दादि योगमा लुम्व रहनेछ । 

सूर्य तुला राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान २८ घटि २९ पलाको रहननेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ६ मिनेटमा रुद्र यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ३० मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
समय शुभ छ ।मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त  हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ । यात्राको प्रक्रिया अघि बढ्न सक्छ । 

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृषः समय राम्रो छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ । 

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुनः केही अलमल भए पनि नियमित काम सम्पादन हुनेछन् । नयाँ काममा भने लक्ष्यअनुसार अघि बढ्न केही बाधा पर्नेछ । छोटो समयमा उपलब्धि नहुन सक्छ । अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । पशुपालन र कृषिमा पनि सामान्य लाभ मिल्नेछ । सन्तानको साथले रोकिएका काम बनाउन सकिनेछ । 

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कटः फाइदा हेर्दा नाम बिग्रन सक्छ । तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ । 

सिंहः विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । 

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्याः बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि सामान्य फाइदै हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुलाः तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिकः खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ । अवसरका लागि निकै दौडधूप पनि गर्नुपर्ला । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।
  
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

धनुः समय शुभ रहनेछ । पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । तर धेरै फाइदा उठाउन भने नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ । जिम्मेवारी भने प्राप्त हुनेछ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

मकरः दिन राम्रो रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । 

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ । 

कुम्भः चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । 

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीनः स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ । शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला ।

 मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

साइतः चन्द्रमा तुला राशिमा छन् त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला 
बिहान ६ः०६ बजेदेखि         ७ः३६ बजेसम्म        उद्धेग बेला
बिहान ७ः३६ बजेदेखि         ९ः०६ बजेसम्म        चर बेला
बिहान ९ः०६ बजेदेखि         १०ः३६ बजेसम्म        लाभ बेला
बिहान १०ः३६ बजेदेखि        १२ः०६ बजेसम्म       अमृत बेला
बिहान १२ः०६ बजेदेखि        १ः३६ बजेसम्म        काल बेला
दिनमा १ः३६ बजेदेखि         ३ः०६ बजेसम्म        शुभ बेला
दिउँसो ३ः०६ बजेदेखि          ४ः३६ बजेसम्म       रोग बेला
दिउँसो ४ः३६ बजेदेखि          ६ः०६ बजेसम्म       उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ