arrow

इन्डियन प्रिमियर लिगः दिल्ली फेरि शीर्षमा, हार्यो चेन्नई 

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
ipl-dhoni-shikhar.jpg

काठमाडौं । नेपाली स्पिन बलर सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा फेरि शीर्ष स्थानमा उक्लिएको छ ।

सारजहाँमा शनिबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली फेरि शीर्ष स्थानाम उक्लिएको हो ।

चेन्नईले दिएको १ सय ८० रनको विजयी लक्ष्य दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीलाई जिताउन शिखर धवनले नटआउट रहँदै १०१ रन बनाए । उनले ५८ बलमा जम्मा १ वटा मात्र छक्का हानेका थिए । त्यसमा १४ चौका सामेल थियो । 

यस्तै मार्कुस स्टोनिसले २४, कप्तान श्रेयस एेयरले २३ तथा अक्षर पटेलले ५ बलमा नटआउट रहँदै २१ रन बनाए । 

अन्तिम ओभरमा दिल्लीलाई १७ रन चाहिएकामा पटेलले तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएको थियो ।

फाप डु प्लेसिसले ५८, अम्बाती रायडुले नटआउट ४५ तथा सेन वाट्सनले ३६ रन बनाए । 

दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए । तुषार देशपाण्डे र कागिसो रबाडाले १–१ विकेट लिए । रबाडाले आईपीएलमा ५० औं विकेट पूरा गरेका छन् ।  उनले आईपीएलमा सर्वाधिक कम खेलमा ५० विकेट पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाए । राबडाले २७ खेलमा ५० विकेट पूरा गरेका हुन् । 

यो खेलमा पनि नेपाली खेलाडी सन्दीप लामिछाने खेल्न पाएनन् । दिल्लीको यो टिमले उत्कृष्ट प्रदर्शन गरिरहेका अवस्थामा बेन्चमै रहेका सन्दीपले अहिलेसम्म खेल्न नपाएका हुन् । 

शनिबारको अर्को खेल
शनिबारको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भयो । बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हरायो । 

१७८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको बैंगलोरले १९.४ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो । 

म्यान अफ द म्याच एबी डे भिलियर्सले २२ बलमा नटआउट ५५ रन बनाए । कप्तान विराट कोहलीले ४३ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको नोक्सानीमा १७७ रन बनाएको थियो । स्टेभेन स्टिभले ५७ रन बनाएका थिए । क्रिस मोरिसले ४ विकेट लिएका थिए । 

अंक तालिका
जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएको छ । दिल्लीले अहिलेसम्मकै संस्करणमा सबैभन्दा उत्कृष्ट खेलेको हो । 

प्लेअफ नजिक पुगेको दिल्लीलाई डिफेन्डिङ च्याम्पियन मुम्बईले पछ्याइरहेको छ । मुम्बईको ८ खेलमा १२ अंक छ । 

तेस्रो स्थानको बैंगलोरको ९ खेलमा १२ अंक छ । 

चौथो कोलकाता नाइट राइडर्सको ८ तथा सनराइजर्स हैदराबाद, चेन्नई र राजस्थानको समान ६ अंक छ । पुछारको किंगस इलाभेन पन्जाबको ४ अंक छ । 

आइतबारको खेल 
आइतबार दुई खेल हुनेछन् । दिउँसो ३ः४५ बजे हैदराबाद र कोलकाता खेल्नेछन् । 

दोस्रो खेलमा बेलुकी ७ः४५ बजे मुम्बई र पन्जाब भिड्ने छन् । मुम्बईलाई फेरि शीर्ष स्थानमा पुग्ने राम्रो अवसर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ