arrow

दशैंपछि सर्लाही कांग्रेसले आन्दोलनको आँधीबेहरी ल्याउने, एसपी र डिएसपीमाथि दुर्व्यवहारको आरोप

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
congress-andolan.jpg

सर्लाही । कुटपिटबाट गम्भीर घाईते भई उपचारको क्रममा मृत्यु भएका महेन्द्र रामको विषयलाई लिएर सर्लाही कांग्रेस विगत केही दिन देखि आन्दोलित छ । वीरगंजमा उपचार गर्दागर्दै असोज २२ गते मृत्यु भएका रामनगर गाउँपालिका–७, सिसौटका ६५ वर्षीय महेन्द्र राममाथि कुटपिट गर्नेहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दा स्थानीय प्रहरी प्रशासनले वेवास्ता गरेको कांग्रेस नेताहरुले आरोप छ ।

राममाथि कुटपिट गर्नेहरु विरुद्ध किटानी जाहेरी दिन खोज्दा सत्ताधारी दलका नेताहरुको ईसारामा प्रहरीले जाहेरी लिनै नमानेको र त्यसको विरोध प्रदर्शन गर्दा उल्टै बल प्रयोग गरेको कांग्रेसले बताएको छ ।

यसैबीच नेपाली कांग्रेस सर्लाहीका नेताहरुले दशैंपछि सर्लाहीमा आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका छन् । धनकौल स्थित प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहको निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह, संघीय सांसद् डा. अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्रप्रसाद कुशवाहा र वीरेन्द्रप्रसाद सिंह लगायत नेताहरुले दशैं लगतै आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका छन्। 

 धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय, बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या यादव, रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार बर्मा एवं कांग्रेसका जिल्लास्तरीय विभिन्न नेताहरुको समेत उपस्थिती रहेको पत्रकार सम्मेलनमा बोल्दै सांसद्हरुले आफूहरुमाथि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर र ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले दुर्व्यवहार समेत गरेको आरोप लगाएका छन् ।

‘जनताबाट निर्वाचित हाँमी जनप्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष सिंह राठौर तथा डीएसपी उद्यव सिंह भाटबाट भौतिक रुपमै र फोनबाट समेत दुर्व्यवहार भएको छ’, चार नं. क्षेत्रबाट निर्वाचित संघीय सांसद् डा. सिंहले भने, ‘पीडित जनतालाई न्याय देऊ भनेर आवाज उठाउँदा जनप्रतिनिधि माथि दुर्व्यवहार गरेर नेपाल प्रहरीका अधिकारीहरुले नेकपा पुलिसको व्यबहार देखाएका छन्, अब हाँमी पनि छाड्नेवाला छैनौं, दशैंपछि आन्दोलनको आँधीबेरी ल्याउने छौं ।’ 

एसपी राठौरले फोन गरेर आफूमाथि अत्यन्त नीच स्तरको गालीगलौज गरेकाले कानूनी कारबाहीका लागि समेत तयारी गरिरहेको संघीय सांसद् सिंहले जानकारी दिए ।

हिन्दुहरुको महान चाड दशैंका कारण हाललाई आन्दोलन स्थगीत गरिएको र कोजाग्रत पूर्णिमा लगतै चरणबद्ध रुपमा आन्दोलनको आँधीबेरी ल्याउने जिल्ला उपसभापति सिंहले चेतावनी दिए ।  आन्दोलनका कारण हुने सबैखाले अप्रिय घटनाको जिम्मेवार स्थानीय प्रहरी प्रशासन नै रहने समेत उपसभापति सिंहको भनाई थियो ।

असोज २२ गते मृत्यु भएका रामको शव अहिलेपनि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमै रहको छ । आफन्तले घर ल्याउँदै गर्दा प्रहरीले शव समेत खोसेर लगेको कांग्रेस नेता एवं प्रदेश सांसद् उपेन्द्रप्रसाद कुशवाहाले बताए ।

 सत्ताधारी नेकपा सम्बद्ध नेता कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको दाबी गर्दै कांग्रेसले मृतक रामलाई सहिद घोषणा, उचित क्षतिपूर्ति तथा पीडित परिवारले दिएको किटानी जाहेरी दर्ता गरी कुटपिटमा संलग्न सबैलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । 

गत बुधबार नेपाली कांग्रेस सर्लाहीको आयोजनामा जिल्ला प्रहरी कार्यालय मलंगवा घेराउ गर्ने क्रममा झडप हुँदा नेपाल प्रहरीका दुईजना डिएसपी सहित २२ तथा सशस्त्र प्रहरीका १० जना सुरक्षाकर्मी सामान्य घाईते भएका थिए । 

त्यस्तै बलरा नगरपालिका–२, हथियौल निवासी २० वर्षीय रोहितकुमार सिंहको पनि हत्या भएको उल्लेख गर्दै नयाँ एसपी आएसँगै जिल्लामा हत्या हिंसाका घटना बढेको कांग्रेसले आरोप लगाएको छ । एकसातादेखि हराएका सिंहको शव बागमती किनार नजिकै धानखेतमा दुई दिनअघि फेला परेको थियो ।

यता सत्ताधारी नेकपाले भने कांग्रेसले घटनालाई राजनैतिक रंग दिएर जिल्ला प्रहरी कार्यालय घेराउ लगायत हुलहुज्जत गर्दै प्रहरी प्रशासनलाई निश्पक्ष छानविन गर्न नदिएको आरोप लगाउँदै आएको छ । नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले केही दिनअघि विज्ञप्ति नै निकालेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ