arrow

स्वरोजगारका लागि सुदूरपश्चिम प्रदेशमा ७८ हजारको आवेदन

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
Unemploiment_news.jpg

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् ।  कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो । 

प्रदेशका नौ वटै जिल्लाका ७८ हजार युवाले आयमूलक व्यवसायमा लाग्ने भन्दै आवेदन दिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा हेमराज अवस्थीका अनुसार पशुपक्षी विकासतर्फ ७० हजार र कृषितर्फ आठ हजारको आवेदन परेको छ । 

कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मौरीपालन, भेडाबाख्रापालन, बङ्गुरपालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पशुपालन लागि सबैभन्दा बढी आवेदन परेको छ ।

कृषि मन्त्रालयले २१ दिने समय दिएर सुदूरपश्चिमका ८८ वटै स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आवेदन सङ्कलन गरेको थियो । 

कृषि उत्पादकत्व वृद्धि गर्ने र कोरोना प्रभावित तथा विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ ल्याइएको यस कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले मापदण्डसमेत बनाएको छ । “प्राप्त निवेदनका आधारमा ज्ञान केन्द्र र विज्ञ केन्द्रलाई अख्तियारी दिइसकिएको छ, तीमध्ये सातदेखि आठ हजार छनोटमा पर्ने देखिन्छ”, प्रवक्ता डा अवस्थीले भने । 

उनले कृषितर्फ रु ३० देखि ३५ हजार र पशुपक्षीतर्फ रु ४५ देखि ५० हजार रकम प्रदान गर्ने योजना रहेको बताए । त्यसका लागि मन्त्रालयले  रु १५ करोड बजेट विनियोजन गरेको छ । 

“सबैभन्दा बढी कैलालीबाट आवेदन परेको छ”, उनले भने, “व्यावसायको प्रगति हरेर दुई किस्तामा रकम दिने भनेका छौँ ।” सुदूरपश्चिममा भारतबाट मात्रै गत चैतयता डेढ लाखभन्दा बढी स्वदेश फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ