- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धर्मलाई अफिमको संज्ञा दिने आफुलाई कम्युनिष्ट भन्न रुचाउने नेकपाको अराजक राज नेपालमा चल्दै आएको छ ।वेथितिलाई थिति मान्नुपर्ने बाध्यात्मक अवस्था मुलुकमा सिर्जना गरिएको छ । एकातिर हजारौं वर्ष देखिका हाम्रा धर्म संस्कृतिलाई कमजोर पार्ने कार्यमा सरकारको प्रत्यक्ष वा परोक्ष भूमिका देखिएको छ भने अर्कोतर्फ सरकारले अहिलेको महामारीबाट जनताको जीवनमा र देशको आर्थिक तथा सामाजिक पक्ष संकटमा पर्दा पनि सरकारले केही गर्न नसक्ने फरमान जारी गरेर देश र जनताप्रतिको कर्तव्यको धर्म पनि निर्वाह गरेन ।
संविधानको धारा ३५ मा नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारलाई मौलिक हकको दायरामा राखिएको छ । संविधानको प्रावधान त बलियो सरकारले मान्न जरुरी देखेन तर आफैले चुनावी घोषणापत्रमा गरेको स्वास्थ्य सम्बन्धी प्रतिबद्धता पनि चटक्कै बिर्सियो । सर्वहाराको नारा लगाउन नथाक्ने सरकारले सर्वहाराको दुःखलाई पुरै बिर्सेर आसेपासे दलालहरुको सेवामा आफुलाई समर्पित गरेको छ । त्यसैले अहिलेको सरकार कुनै पनि धर्म मान्ने पक्षमा छैन सरकारको अर्जुन दृष्टि भ्रष्टाचारमा रहेको छ अर्थात अहिलेको सरकारको धर्म भनेको नै भ्रष्टाचार हो ।
पुरातन समयदेखि नेपाली समाजले बडो महत्वका साथ मान्दै आएका चाडपर्वहरु बडादशैं, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वहरु नजिकिदै छन् । यस्ता चाडपर्व केवल चाडपर्व मात्र होइनन् यसले हाम्रो सनातन धर्म, संस्कृति, मुल्यमान्यता, परम्परा र सभ्यताको प्रतिनिधित्व गर्दछन् । कस्तै कठिन परिस्थितिमा पनि यसको निरन्तरता कायम हुनु आवश्यक छ । सरकारले आम नागरिकको जीवनमा सहजता ल्याउने र स्वास्थ्य सुरक्षा कायम हुने गरी चाडपर्वहरु मनाउने वातावरण बनाउनु पर्नेमा मठमन्दिर, धार्मिक स्थलहरु बन्द गराउने दुष्कर्ममा लागेको देख्दा सरकार कसको निर्देशनमा चलेको छ ? कसलाई खुसीपार्न खोज्दैछ ? भन्ने प्रश्न उब्जिएको छ । हाम्रा मौलिक साँस्कृतिक, धार्मिक पद्धति र परम्परालाई तोडेर हाम्रो सभ्यता माथि प्रहार गर्ने अधिकार सरकारलाई कसले दिएको छ ? नेपाल र नेपालीको सनातन धर्म र परम्पराको निरन्तरता कायम राख्न सरकारले सहयोग गर्ने हो, त्यसको लागि नागरिकलाई सहयोग उपलब्ध गराउने हो । त्यसलाई मास्न उद्धत हुनु दुर्भाग्यपूर्ण अवस्था हो ।
एकातिर कोभिड–१९ को महामारीमा उपचार गर्न नसक्ने, अस्पताल उपलब्ध गराउन नसक्ने र जनता आफैले आफ्नो प्रबन्ध गर्नुपर्ने सूचना जारी हुन्छ । अर्कोतिर हाम्रा गौरर्वपूर्ण सनातन धर्म र संस्कृतिलाई मास्नको लागि महान चाडपर्व नजिकिदै गर्दा मठमन्दिर, तिर्थस्थल तथा शक्तिपीठहरु बन्दगर्ने प्रयास गरिदैछ । यसले सरकार जनता, देश, सनातन धर्म संस्कृति र समग्रमा हाम्रो सभ्यताप्रति नै घात गर्दैछ भन्ने प्रष्ट हुन्छ ।
नेपाली कांग्रेस यसको तरुण विभाग यो सरकारलाई सचेत गराउन चाहन्छ की रोजगारी गुमेका, आम्दानीका सबै बाटो बन्द भएर संकटमा फसेका जनताको जीवनमा खेलवाड नहोस् र निशुल्क उपचार गर्ने वातावरण बनाइयोस् । आसन्न महान चाडपर्वहरुले हाम्रो सनातन धर्म, संस्कृति, परम्परा, सभ्यता र पहिचानको प्रतिनिधित्व गर्दछन् त्यसलाई आआफ्नो परम्परा अनुसार मनाउने वातावरण बनाउन सरकारको तर्फबाट पूर्ण सहयोग प्राप्त होस् नकी सरकार मठ, मन्दिर, प्रवित्र धार्मिकस्थलहरु बन्द गराउने र जनताको भावनामा खेलवाड गर्ने काममा लागोस् । तरुण विभाग स्मरण गराउन चाहन्छ की विश्व इतिहास साक्षी छ । मौलिक धर्म र संस्कृतिमाथि पराईलाई खुसीपार्न आक्रमण गर्ने सरकारको अस्तित्व लामो समयसम्म रहन सक्दैन ।
(भण्डारी नेपाली कांग्रेस तरुण विभागको संयोजक हुन्)