arrow

कोरोनाका कारण भट्टराई परिवारले गुमाए दुई छोरा, गाउँनै शोकमा

३८ बर्षका दयारामको विराटनगरमा ३० बर्षका योगेश्वरको कतारमा निधन

logo
युबराज रेग्मी
प्रकाशित २०७७ कार्तिक १५ शनिबार
corona-death-jhapa.jpg

झापा । कोरोना भाइरस संक्रमणका कारण झापाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएपश्चात अहिले सो गाउँ नै पुरै शोकमा डुबेको छ। झापाको शिवसताक्षी नगरपालिका २ का  स्व.चूडामणि भट्टराईका दुई छोराको कोरोना संक्रमणकै कारण मृत्यु भएपछि गाउँनै शोकमा परेको हो। स्वर्गीय भट्टराईका जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छाेरा ३० वर्षीय योगेश्वरको चार महिनाको अन्तरमा कोरोनाका कारण मृत्यु भएपछि परिवारमा ठूलो बज्रपात परेको छ। मृतक मध्ये जेठा दयारामको शुक्रबार बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो। उनलाई १२ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कुनैपनि दीर्घरोगको समस्या नभएका ३८ वर्षीय दयाराममा सामान्य निमोनियाको समस्या देखिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए। दयारामका  कान्छा भाइ योगेश्वरको वैदेशिक रोजगारीका क्रममा कोरोना संक्रमणका कारण ४ महिना अघि कतारमा मृत्यु भएको थियो । दुई वर्षदेखि वैदेशिक रोजगारीको क्रममा कतार रहेका योगश्वरको गत १५ असारमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्यु पश्चात कतारमै उनको अन्त्येष्टि गरिएका कारण आफन्तले अन्तिम अवस्थामा उनको शव समेत हेर्न पाएनन् ।

झापाकाे दमकमा व्यवसाय गर्दै आएका दयारामको स्वास्थ्यमा समस्या देखिए पश्चात् १२ कात्तिकमा उनलाई नोबेल मेडिकल कलेज बिराटनगरमा भर्ना गरिएको थियो । सोही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार बिहान करिब ८ बजे उनको  मृत्यु भएको र उनकाे शुक्रबार साँझ झापाकाे कन्काइ नदीमा अन्त्येष्टि गरिएकाे आफन्तले जानकारी दिए । २०७६ असार २७ गते ६३ वर्षकाे उमेरमा मृत्यु भएका चुणामणिका चार छाेरा थिए । चार छोरामध्ये जेठा र कान्छा छाेराकाे चार महिनाको अन्तरमा मृत्यु भएकाे हाे ।

दुई छाेराकाे मृत्यु पछि उनकाे वार्षिक तिथिको काम पनि रोकिएको छ । आफन्तका अनुसार कान्छा छाेराकाे मृत्यपछि यस अघिकाे वार्षिक तिथीलाई शनिबारका लागि सारिएकाे थियाे । तर शुक्रबार नै उपचारका क्रममा जेठा छाेरा दयारामको मृत्यु भएकाे हाे । काेराेना संक्रमणका कारण ज्यान गुमाएका दयाराम र याेगेश्वरका श्रीमती र एक–एक जना सन्तान छन् । चार महिनाको फरकमा कोरोनाका कारण दुई छोरा गुमाउनु पर्दा भट्टराई परिवार थप मानसिक पीडामा परेको छ । 

वडाध्यक्ष कुलबहादुर बस्नेत गाउँले दुई युवाको मृत्युले गाउँ शोकमा डुवेको बताउँछन् । ‘कोरोनालाई सामान्य ठान्नु हुँदैन’, उनले भने, ‘सानो लापरवाहीले गम्भीर मानवीय संकटको खतरा निम्तिन सक्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ